एमाले नेता ढकाललाई स्वाइन फ्लु, उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं। स्वाइन फ्लुका कारण गम्भीर बिरामी परेका नेकपा एमाले पोलिटब्युरो सदस्य रामनाथ ढकाललाई थप उपचारका लागि सोमबार दिल्ली लगिने भएको छ। आइतबारै लैजाने तयारी गरिए पनि दिल्लीको मौसम खराब भएका कारण लैजान नसकिएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।Ramnath-Dhakal
शुक्रबारबाट टोखास्थित ग्रान्डी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत ढकाललाई दिल्ली लैजान एयर एम्बुलेन्स पनि काठमाडौं आइसकेको छ । ‘मौसम खराब भएकाले आज लैजान सकिएन,’ भट्टराईले भने, ‘भोलि बिहानभरमा मौसम सुधार हुने अनुमान गरिएको छ ।’
एमालेले दिल्लीस्थित एपोलो अस्पतालमा ढकालको उपचार  गराउने व्यवस्था मिलाएको छ । निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका ढकाललाई स्वाइन फ्लु पत्ता लागेको थियो । ‘प्लेटलेट नभएका कारण उहाँ (ढकाल) को डब्लुबिसी (स्वेत रक्तकण) पनि कम छ,’ एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने, ‘भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’  प्लेटलेट कम भएको बिरामीमा आन्तरिक रक्तश्राब हुने गर्छ ।

ढकालले क्षयरोगको नियमित औषधि सेवन गर्दै आएका थिए । ‘औषधिका कारण रोगसँग लड्ने क्षमता कमजोर बनेको रहेछ,’ भट्टराईले नागरिकसँग भने, ‘त्यसैले विभिन्न रोगको संक्रमण छिटो भयो ।’ यसअघि एमालेको नवौं महाधिवेशन सम्पन्न भए लगत्तै ढकाल लामो समय विरामी परेका थिए। त्यस समयमा पनि दिल्लीमा उनको उपचार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री