राष्ट्रपति यादव चीन जाँदै

काठमाडौं। राष्ट्रपति रामवरण यादव बिहीबार साता लामो चीन भ्रमणमा निस्कँदैछन् । चिनियाँ समकक्षी सी जिन्पिङको औपचारिक निमन्त्रणमा राष्ट्रपति यादव त्यसतर्फ जान लागेका हुन् । भ्रमणका बेला राष्ट्रपति यादव र चिनियाँ समकक्षी जिनपिङबीच भेटवार्ता हुने कार्यक्रम छ । Rambaran Yadav
राष्ट्रपतिको चीन भ्रमण टोलीमा उनकी छोरी अनिता यादव, सहरी विकासमन्त्री नारायण खड्का, राष्ट्रपतिका सल्लाहकार सूर्यप्रसाद ढुंगेल र हरि शर्मा, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के, कामु परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेत, निजी चिकित्सक यादवकुमार भट्ट, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली र परराष्ट्रका सहसचिव झवीन्द्र अर्याल रहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति यादव बिहीबार साँझ चीन प्रस्थान गर्ने कार्यक्रम छ । उनले हैनान प्रान्तको बोआओमा आयोजना हुने ‘बोआओ फोरम एसियाः वार्षिक सम्मेलन २०१५’ लाई सम्बोधन गर्नेछन् । सम्मेलन बिहीबार सुरु भई आइतबार सकिनेछ । राष्ट्रपति यादवले शनिबार (चैत १४) बिहान बोआओ फोरमलाई सम्बोधन गर्ने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बोआओ फोरमलाई सम्बोधन गरेलगत्तै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्तामा बस्ने कार्यक्रम छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति यादवले शुक्रबार ‘आर्क भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क’ अवलोकन गर्नेछन् । उनले सोही दिन ‘सिनो–नेपाल सांस्कृतिक केन्द्र’ उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति यादव ल्हासा हुँदै चैत १८ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री