‘चीनले संविधान बारे सोधे के जवाफ दिने ?’

काठमाडौं। राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरु शीर्ष नेताहरुलाई संविधानका विवादित विषयमा सहमतिका लागि इमान्दार प्रयास गर्न आग्रह गरेका छन्।Rambaran Yadav

आइतबार शितलनिवासमा बोलाएर राष्ट्रपति यादवले संविधानसभाका ठूला राजनीतिक दलहरुलाई देश र जनताप्रति गरेको कबुलअनुसार संविधान निर्माणमा जुट्न राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका हुन्।

‘२०६२/६३ को जनआन्दोलन तथा देश र जनतासामु पटकपटक गरेका कबुल सम्झिएर इमानदार मनले प्रयत्न गर्दा संघीयता लगायतका बाँकी विषयमा पनि निकास पहिल्याउन तपाईंहरु सक्षम हुनुहुन्छ भन्नेमा म अहिले पनि विश्वस्त छु,’ बैठकमा राष्ट्रपति यादवले राखेको पाँचबुँदे लिखित मन्तव्यमा भनिएको छ, ‘त्यसका निम्ति हामी सबैले राष्ट्रिय हितलाई सर्वोपरी राखी सोच्नु र व्यवहार गर्नु जरुरी छ ।’

प्रमुख राजनीतिक दलहरुबीच नयाँ संविधानको प्रमुख अन्तर्वस्तु राज्य पुनर्संरचना, शासकीय स्वरुप जस्ता विषयमा कुरा मिल्न सकेको छैन। पछिल्लो समयमा सत्तापक्ष र प्रतिपक्षबीच झनै दूरी बढेको छ। सत्तारुढ दलको आग्रहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया शुरु गरेपछि एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको तीस दलीय मोर्चाले आन्दोलनको घोषणा गरेका छन्।

चीनको हाइनान प्रान्तमा हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका राष्ट्रपति यादवले आफू चीनबाट फर्किदासम्म दलहरुबीच सहमति भैसक्ने आशा लिएको बताए ।

‘देश र जनताप्रतिको जिम्मेवारीबोध, दलीय सद्भाव र आपसी सहिष्णुतासहित संविधानसभाभित्रै बहस र मन्थन गरी जतिसक्दो चाडो मुलुकलाई नयाँ संविधान प्रदान गर्न म पुनः एकपटक आग्रह गर्दछु,’ राष्ट्रपतिको लिखित मन्तव्यमा उल्लेख छ, ‘चीन भ्रमणबाट फर्कंदा संविधान निर्माणका सन्दर्भमा खुसीको समाचार सुन्न पाउने अपेक्षा पनि राखेको छु।’

विश्वको ध्यान नेपालको संविधानसभाले कहिले संविधान निर्माण गर्छ भन्नेमा नै रहेको बताउँदै राष्ट्रपति यादवले चिनियाँ अधिकारीले संविधान निर्माणका सम्बन्धमा राखेको जिज्ञासामा के जवाफ दिने भन्ने प्रश्नसमेत गरेका थिए । ‘जननिर्वाचित संविधानसभाद्वारा संविधान निर्माण गर्ने हाम्रो संकल्प र प्रयत्नलाई छिमेकीले मात्र नभई समग्र विश्व समुदायले नै तीव्र उत्सुकताका साथ नियालिरहेको छ,’ राष्ट्रपतिले दलहरूसँग भनेका थिए, ‘मसँगको भेटमा स्वाभाविक रूपमै चिनियाँ मित्रहरूले नया संविधानबारे जिज्ञाशा राख्नेछन् । त्यस्तो जिज्ञाशा सम्बोधन गर्ने सन्दर्भमा यो भेटघाटमार्फत प्राप्त हुने सुझाव र जानकारी मेरा निम्ति अत्यन्त महत्वपूर्ण हुनेछन् ।’

राष्ट्रपति यादवले बोलाएको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यको कारण उपस्थित हुन सकेनन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री