बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०४:१६ | UK Time: 23:31

विदेशी भूमिमा नेपाल चिन्ता

वीनेपाली
२०७१ चैत ७ गते १३:४९

11042957_1791746961050671_7208333596199659998_n
एउटै आमाका सन्तान त फरक किसिमका हुन्छन् भने सबै विदेश गएका नेपालीहरुको एउटै कथा हुन्न । हो प्रतिशतको आधारमा हेर्दा अधिकांशले दुःख पाए होलान् तर केहि अल्पमतका नेपालीहरुको कथा 
अर्र्को हुन् सक्छ । मलाई लाग्छ ति अल्पमतमा रहेका नेपाली मुलका विदेशीहरुलाई नेपालमा बोलाउन सके नेपालको विकासमा ठूलो टेवा मिल्छ । काम गर्न दिने ग्यारेन्टी र काम गर्ने वातावरण दिने हो भने धेरै नेपाली (अल्पमतमा पर्ने) हरु नेपाल र नेपालीको सेवाका लागि नेपाल फर्कन आतुर छन् भन्ने मेरो बुझाइ छ ।
माथिका मेरो भनाइमा सम्पूर्णको सहमति अवश्य हुन्न तर सबैलाई एकै भाडोमा हालेर हेर्न पनि मिल्दैन । कथा, व्यथा सबैका हुन्छन् । जीवन मा संघर्ष नगर्ने को होला र ? फरक यति छ कसैले चाहे बमोजिम फल प्राप्त गरे, कसैले विपरित रुपमा अनि चाहना बमोजिमको फल 
प्राप्त गर्न आफ्नो भाडो पनि त्यही अनुरुप पहिला नै तयार गर्नु नितान्त आवश्यक छ । हामी माझ उक्ति नै छ नि आफ्नो अंगमा भैंसी नदेख्ने अरुको अंगमा जुम्रा… अरुले हात्ती चढे भन्दैमा आफूले धुरी चढ्ने कुरा भएन आदि इत्यादि । स्पष्ट भन्नु पर्दा मैले यहां भन्न खोजेको के भने किन आज संचार मध्यममा हामी नेपालीहरुले विदेश मा दुःख पाएका नराम्रा कुराहरुले बढी प्राथमिकता पाउंछन् ? किन नकारात्मक मुलक सन्देश बोकेका समाचारहरुको बढी प्रचार प्रसार गरिन्छ ? के विदेश गएका नेपालीको यस्तै मात्र कथा छ र ?

खाडी मुलुक र यस आसपासमा गएका नेपालीहरुले दुःख मात्र होइन, ज्यान सम्म गुमाएका खबरहरु सामाजिक सञ्जाल वा विभिन्न पत्रपत्रिका र भिडियो मार्फत पढ्न र हेर्न पाइन्छ । एउटा नेपालीले विदेशमा दुःख पाएको देख्दा हाम्रो मनमा पनि पीडा हुन्छ । आखिर हाम्रो पनि उसको जस्तै मन त हो नि तर उसको सुरक्षाका लागि सम्वन्धित निकायले के गर्यो त्यसका लागि कसले पहल गर्यो ? अन्यायमा परेको त्यो दुःखी र उ जस्ता हजारौं व्यक्तिहरुको आवाज सम्वन्धित निकायले सुन्यो त ? यस्ता प्रश्न गर्ने हो भने प्रश्नावाली नै तयार हुन्छ कि । त्यसैले समाचार सम्प्रेषण मात्र होइन, उक्त नकारात्मक गतिविधि लाई साम्य पार्ने विकल्प सम्वन्धित निकायमा घट्नाको सत्य तथ्य जानकारी सहित दिन पनि अनिवार्य छ ।

युरोप र अमेरिकाका सन्दर्भमा नेपालीहरुको अवस्था अलिक फरक किसिमको छ । यी मुलुक प्रजातान्त्रिक मुलुक हुन् । यहां प्रजातन्त्र, मानव अधिकार, न्याय कानुन जस्ता कुराहरुको सहि रुपमा कार्यान्वयन भएको हुन्छ । खाडी राष्ट्रको जस्तो कामको सिलसिला वा काम भित्र द्वन्द भई जीवन नै गुमाउनु पर्ने स्थिति हुन्न । यहां काम गर्नेको समाजमा प्रतिष्ठा हुन्छ । अनि राष्ट्रले पनि काम गर्नेलाई पूर्ण सुरक्षा प्रदान गरेको हुन्छ । अब तपाईंहरु सोच्नु हुन्छ होला ओहो कस्तो स्वर्ग ? म त जसरी पनि युरोप र अमेरिका जान चाहन्छु । नेपालमा बसेर के गर्नु ? न काम पाइन्छ न त जनधनको नै सुरक्षा छ । म तपाईंहरुको विचारप्रति पूर्ण सहमत छु आजको नेपालको स्थितिलाई हेर्दा । अनि म तपाईंहरुलाई यहां नआउनको लागि नकारात्मक सुझाव पनि दिन सक्दिन ।

हामी विदेशमा छौं । प्रत्येक व्यक्तिको आ आफ्नै कथा व्यथा छ । एक को अर्कोसंग मिल्न गएमा त्यो एउटा संयोग हो । तपाईंले जुन व्यक्तिलाई भेट्नु भो तपाईको विचारमा विदेश उसले भने बमोजिम नै हुन्छ । यो तपाईंको कमजोरी चाहिं होइन नि । तपार्इं त एउटा विद्यार्थी जस्तो मात्र हो । त्यसैले तपाईंलाई त्यो विदेश गएको नेपालीले जे भन्यो तपाईंले इमान्दारीपूर्वक विश्वास गर्नु भयो । म तपाईंको इमान्दारीको हार्दिक कदर गर्दछु । अब एक पटक मलाई पनि सोही इमान्दारी विश्वास राखी सुन्नुहोस् । विदेश तपाईंले सोचे जस्तो पनि छैन् अनि तपाईंलाई अरु कोहिले बताए जस्तो पनि छैन । हामी हरेक विदेशमा भएका नेपालीको नजरमा विदेश हामी आफूले भोगेको आधारमा फरक फरक किसिमको छ । मेरा धेरै विदेशमा हुने साथी तथा आफन्तहरु मेरो यो भनाइसंग सहमत नहुन सक्नु हुन्छ । यो पनि सही नै छ किनकी मैले माथि नै भनिंसके नि विदेश सबैको सोचाई र नजरमा फरक फरक छ । यसो भन्दा अतिउक्ति न होला कि मेरा विदेशी साथी र आफन्तजन हरु ।

उसो भए विदेश वास्तावमा कस्तो छ त ? एक चोटी विचार गर्नुस् तपाईंको घर दैलोमा साइकल पछाडि तरकारी बोकेर आउने भारतीय मुलुकको नागरिकले नेपाल कस्तो छ भन्ठान्दो हो ? गर्मी याममा तपाईंको घर मा सिरक डसना बनाउन आउने त्यो भारतीय मुलुकको मियाले नेपाल कस्तो छ भन्ठान्दो हो ? तपाईंको घरको अल्मारी, टेबल आदि फर्निचर तपाईंकै आंगनमा आएर बनाउने त्यो भारतीय मुलुकको ज्यामीले नेपाल कस्तो छ भन्ठान्दो हो ? अनि खाली सिसी पुरानो कागजको कथा र एउटा कोठामा १० देखि १५ जना सम्म भारतीय मुलुकका मानिसले 
रात बिताएको त तपाईंलाई पनि थाहा नै होला । अब तपाईं नै त्यो इमान्दारी आत्माले भन्नुस् ति मानिसहरुको नजरमा नेपाल कस्तो होला ।

कुनै पनि सिक्काका दुई पाटा हुन्छन् । नेपालको सन्दर्भमा गाइ र त्रिसुल । अब एक पटक अर्को पक्ष हेरौं । नेपालमा विदेशी सामाजिक संस्थानहरु देशका विभिन्न क्षेत्रमा कार्यरत भएको देखिन्छ । जस्तो कि शिक्षा, स्वस्थ्य, खानेपानी, गरिवी निवारण, मानव अधिकारको संरक्षण, सुत्केरी तालिम आदि इत्यादि । ति संस्थाका उच्च ओहोदामा विदेशी नै छन् नि । अब उनीहरु आधुनिक सवारी साधन चढ्छन् । ५ तारे होटलमा रात बिताउंछन् । उनीहरुको खानपिन पनि त्यही किसिम को अर्थात उच्च स्तरको हुन्छ । उनीहरुको सामाजिक रहन सहन पनि नेपालका उच्च पधाधिकारी अनि धनी व्यक्तिसंग हुन्छ । अब विचार गर्नुस् उनीहरुको नजरमा नेपाल कस्तो होला ? सायद तपाईंले मेरो कुरा केहि बुझ्नु भो होला । विदेश कस्तो छ जान र बुझ्नका लागि तपाईंले नेपालमा बसेर नै थाहा पाउन सक्नु हुन्छ । तपाईंको विवेकीय नजरले एक पटक नियालेर हेर्नुस् सबै छर्लंग हुन्छ ।

मलाई थाहा छ कि तपाईं म संग रिसाउनु भो । तपाईंले मलाई देख्नु र भेट्नु भाको छैन फेरी किन रिसाउने ? म त तपाईंको शुभचिन्तक हुं । मैले देखेको र भोगेको कुरा यथार्थ रुपमा तपाईसंग राख्दै छु । अब तपार्इं मलाई विश्वास गर्नुस् या न गर्नुस् त्यो तपाईंको अधिकारको कुरा हो । अब हेर्नुस न म विदेश आएको पनि १४ वर्ष भएछ । शेक्षिक योग्यता भए पछि आफ्नै पेशा सम्वन्धि काम गर्नु पर्छ भन्ने मेरो मान्यता छ । सुरुमा काम पाउन केहि समय लाग्यो तर करिव तीन महिनापछि मैले काम पाएं । कार्यालयले यही देश अनुरुपको शैक्षिक योग्यता प्राप्त गर्नको लागि सम्पूर्ण खर्च बेहोर्ने प्रतिवद्धता देखायो । मैले फेरी यहांको पढाई गरें । त्यसपछि मैले कहिले पनि पछाडी फर्केर हेरिन । मेरो यो वास्तविक कथा म जस्ता धेरै साथी तथा आफन्तसंग केहि रुपमा मिल्न सक्छ । अब तपार्इं नै भन्नुस मेरो नजरमा विदेश कस्तो होला रु
मैले यहां धेरै नेपाली भेटेको छु । मेरो आंखाले प्रत्यक्ष देखेको छु । मलाई उहां हरुको काम प्रति कुनै नकारात्मक विचार छैन । काम गर्नु भाको छ मिहिनेतले, म त्यसको आदर गर्छु । विदेशमा कामको सम्मान हुन्छ । म उहांहरुको मिहिनेतको कदर गर्छु । तर, पोलेको हात अनि गलेको मुहार देख्दा एक किसिमको क्रोध हुन्छ । मलाई माया पनि लाग्छ तर के गर्नु मेरो पनि आफ्नो व्यवहार छ, परिवार छ जसको म अभिभावक हुं । विदेशमा मानसिक र शारिरीक सहयोग गर्न सकिन्छ तर आर्थिक सहयोग गर्न सकिन्न । सायद मेरा धेरै साथीहरु मेरो यो कुरा संग सहमत हुनु हुन्छ होला । न हुन् पनि सक्नु हुन्छ । यो सामान्य कुर हो । मैले पहिले नै भनें नि विदेश प्रत्येकको नजरमा उसको आफ्नो भोगाई जस्तै छ । झसंग सम्झना पो आयो, मेरो दाजुले भन्नु हुन्थ्यो विदेश भनेको हात्ती हो । अब तिमीले कान समायौ भने विदेश कान जस्तो छ । पुछार समायौ भने पुच्छर जस्तो छ । अब ढाडमा नै बस्ने मौका पायौ भने विदेश तिम्रो सेवामा छ ।

उसो भए के त जसले ढाडमा नै बस्ने मौका पाए उनीहरुलाई नेपालको माया लाग्दैन त ? तपाईंहरु सोच्नु हुन्छ होला विदेशमा मोज गरेर बसेको छ, कमाएको छ, देश बिदेश घुमेको छ, नेपाललाई त्यस्ले बिर्सियो । म भन्छु तपाईंहरुको यो सोच गलत छ । हो हामी विदेशमा छौं । शैक्षिक योग्यता र दक्षताको आधारमा काम गरेका छौं । एक किसिमले हामी सम्पन्न छौं । यो हाम्रो आफ्नै पौरखको कमाई हो अनि हामी गर्व गर्छौं यसमा । तपाईं रिसाउनुस या खुसाउनुस यो तपाईंको व्यक्तिगत विचार हो । तर हामी सधैं नै नेपाल र नेपालीको चिन्तामा छौं । तपाईं विश्वास गर्नुस् या न गर्नुस् यो तपाईंको आफ्नो विचार हो । तर, हामीलाई गलत आलोचना गर्ने तपाईंको अधिकार छैन । छोरा छोरीले आफ्नो आमाको चिन्ता र संरक्षण गर्न पाउनु उसको अधिकार हो । न यो तपाईंले खोस्न सक्नु हुन्छ न हाम्रो अधिकार रोक्न सक्नु हुन्छ । नेपाल हाम्रो हो जति तपाईंको पनि हो । नेपाल आमा हाम्रो पनि आमा हुन् जति तपाईंको हुन् । आमालाई पीडा हुंदा हाम्रो छाती दुख्छ, हामी लाई असह्य हुन्छ । त्यसैले हामीलाई सौताका सन्तान नठान्नुस् ।

मलाई थाहा छ तपाईं सोच्दै हुनु हुन्छ अब के गर्ने त ? विदेश पलायन भयौं । ५ वर्षमा एक पल्ट २ हप्ताका लागि मात्र नेपाल आउंछौं । के गर्नु त् हामीले । अहं तपाईं गलत । हामी यहां छौं । प्रजातन्त्र, मानव अधिकार, न्याय र कानुनको सही रुपमा उपयोग गर्छौं । सरकारले जनताको शान्ति र सुरक्षा जस्तो कुराको जिम्मेवारी लिएको छ । हामी अलिक फरक किसिमका भएका छौं । हामीलाई थाहा छ राष्ट्र र त्यस राष्ट्रका जनताबीच कस्तो सम्वन्ध हुनु पर्छ । सरकारले देश र जनताको लागि कस्तो काम गर्नु पर्छ । देशमा शान्ति र अमन चयन कसरी राख्नु पर्छ । देश र जनताका आधारभूत आवश्यकता कसरी पुरा गर्ने हो । 
अन्तर्राष्टियस्तरमा छिमेकी मुलुकसंग कस्तो किसिमको सम्वन्ध राख्ने हो अनि कसरी ? तपाईं सोध्नुस यो प्रश्नको प्रश्नावली तयार हुन्छ । त्यसैले हामी भन्छांै हाम्रो र देशवासीको शान्ति र सुरक्षाको ग्यारन्टी दिनुस् । कार्य गर्ने वातावरण दिनुस, हामीलाई बोलाउनुस् । हामी हाम्रो देश र देशवासीको सेवाको लागि कुनै पनि बेला आउन तयार छौं । नेपाल हाम्रो पनि हो जति तपाईंहरुको हो । नेपाल आमा हाम्रो पनि हुन् जति तपाईंहरुको हुन् ।

एसीए, एफसीसीए

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक