धेरै गोर्खालाई भेटेको छु: जे के रोलिङ

काठमाडौं। विश्व प्रसिद्ध बेलायती लेखिका जे के रोलिङले नेपाल भ्रमणप्रति खुशी व्यक्त गर्दै पटक पटक नेपाल आउने चाहना व्यक्त गरेकी छिन्। निजी नेपाल भ्रमणमा रहेकी लेखिका रोलिङले बिएफबिएस गोर्खा रेडियोसँगको अन्तर्वार्तामा यसपटकको भ्रमण चार दिन मात्रै भएकोमा असन्तुष्टी व्यक्त गरेकी छिन्।JK Rowling

‘म फेरि पनि यहाँ आउन चाहन्छु। म फेरि पनि काठमाडौं आउने छु। तर दुःखको कुरा यसपटक हामी चार दिन मात्र यहाँ रहनेछौँ। तर यो निकै रमाइलो अनुभव रहनेछ,’ बिहीबार साँझ स­­-परिवार नेपाल आएकी रोलिङले भनेकी छिन्। उनको भ्रमणलाई निकै गोप्य राखिएको छ।

रोलिङले काठमाडौंस्थित बेलायती दूतावासमा कार्यरत उनको लामो समयदेखिको मित्र रहेका व्यक्तिको निमन्त्रणामा नेपाल आएको बताइन्। ‘म पहिलोपटक नेपाल आएकी हुँ। म यहाँ आउनुको कारण के हो भने मेरा एकजना प्रिय र पुराना मित्र बेलायती दूतावासमा सुरक्षा अधिकारी हुनुहुन्छ- कर्नेल ह्यारिस। हामी उहाँलाई भेट्न आएका हौँ,’ उनले भनिन् ‘मैले भन्नैपर्छ कि म यो सुन्दर ठाउँमा आउँदा निकै खुसी छु।’

तिलस्मी विषयमा आधारित उनको पुस्तकहरुको श्रृंखला ह्यारी पोट्टरमा उनीले धनका साथै नाम पनि कमाइन। उनको पुस्तकको फिल्म समेत बनेको छ।

सैनिकलाई समुदायसँग संवाद गराउने सो रेडियोको अन्तर्वार्तामा रोलिङले धेरै गोर्खालीहरुलाई भेटेको बताएकी छिन्। ‘मैले धेरै गोर्खाहरुलाई भेटेकी छु। खासमा भन्नुपर्दा म यस्तो ठाउँमा जन्मे जहाँ सेनाको ठूलो तालिम केन्द्र थियो। त्यहाँ मैले धेरै सेनाहरुलाई भेटेकी छु’ उनले भनिन्, ‘त्यहाँ मेरा साथीहरु पनि छन् जोसँग मेरो ३२ वर्ष भन्दा बढि समयदेखि सम्बन्ध छ। मलाई सेनाहरुका बारेमा धेरै थाहा छ।’ अन्तर्वार्तामा उनले आफ्नो लेखनको बारेमा चर्चा गरेकी छिन्।

शुक्रबार नै उनले ब्रिटिस स्कुल पुगेर त्यहाँका विद्यार्थीसँग अन्तर्क्रिया नै गरेकी थिइन्।

आफ्नो स्कुलमा विश्व प्रसिद्ध लेखिका रोलिङ आउने खबरले विद्यार्थीहरुमा उत्साहको सीमा थिएन। उनीहरुको उत्साह ब्रिटिस स्कुलले आफ्नो वेबसाइटमा राखेका फोटोमा देख्न सकिन्छ।

सो स्कुलका विद्यार्थीहरुले उनको चर्चित उपन्यास ‘ह्यारी पोट्टर’ का विभिन्न चरित्र तथा पात्रको हाउभाउ देखाउंदै त्यस्तै कपडामा रोलिङलाई स्वागत गर्न आतुर थिए। उनी आइतबारसम्म नेपाल रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

विद्यार्थीहरुले पुस्तक, जीवन, प्रेरणासहित विविध विषयमा सोधेको प्रश्नको जवाफ रोलिङले उत्साहजनक रुपमा दिएको ब्रिटिस स्कुलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री