सिल्करोड परियोजना बनाउन नेपाल–चीन सहमत

काठमाडौ। नेपाल र चीन सिल्करोड आर्थिक क्षेत्रसम्बन्धी पूर्वाधार निर्माणका लागि साझा परियोजना तयार गर्न सहमत भएका छन्। बेइजिङमा बुधबार भएको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा चीनले स्थापना गरेको ४० अर्ब डलरको सिल्करोड पूर्वाधार कोषबाट खर्च गर्ने गरी परियोजना तयार गर्ने सैद्धान्तिक सहमति भएको हो।Nepal–Chine meeting_18March2015(1)

जापान हुँदै मंगलबार बेइजिङ आइपुगेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र चीनका विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच बुधबार बिहान ग्रेटहलस्थित विदेश मन्त्रालयमा द्विपक्षीय वार्ता भएको थियो। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सव मनाउने क्रममा भएको परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा चीनले सिल्करोड आर्थिक क्षेत्रको विषयलाई महत्वका साथ उठाएको नागरिक दैनिकमा पूर्ण बस्नेतले लेखेका छन्।

चीनका राष्ट्रपति सी जिनपिङले अगाडि सारेको ‘सिल्करोड आर्थिक बेल्ट’ र ‘२१ औं शताब्दी समुद्री सिल्करोड’ योजनामा सहभागी हुन बेइजिङले नेपाललगायत छिमेकी देशलाई आग्रह गर्दै आएको छ। चीनले सिल्करोड पुनरुत्थान योजनाअनुसार रेल–सडक र समुद्री मार्गबाट एसिया र युरोपलाई जोड्ने पूर्वाधार निर्माणका लागि ४० अर्ब डलरको सिल्करोड पूर्वाधार कोष स्थापना गरेको छ। बैठकमा चीनले यही पुँजी खर्च गर्ने गरी साझा परियोजना विकास गर्न नेपाललाई आग्रह गरेको हो।

तीन महिनाअघि बेइजिङमा भएको सचिवस्तरीय नेपाल–चीन अन्तरसरकारी व्यापार तथा लगानी समन्वय बैठकमा तिब्बतको ल्हासाबाट काठमाडौं हुँदै भारतको पटनासम्म जोडिएको पुरानो दक्षिण सिल्करोड खण्डलाई पुनरुत्थान गर्ने सम्झौता भएको थियो। परराष्ट्रमन्त्रीसँग बैठकमा सहभागी बेइजिङस्थित राजदूत महेश मास्केका अनुसार दक्षिण सिल्करोड पुनरुत्थान योजनाअन्र्तगत रेल–सडक मार्ग निर्माण गर्न परियोजना तयार गर्ने सहमति भएको छ।

‘सिल्करोड कोषबाट खर्च गर्ने गरी नेपाल–चीनबीच पूर्वाधार निर्माणको साझा परियोजना विकास गर्ने सैद्धान्तिक सहमति भएको छ,’ राजदूत मास्केले बेइजिङबाट भने।

विदेशमन्त्री वाङ यीको तीन महिनाअघि भएको नेपाल भ्रमणका क्रममा चीनले नेपाललाई दिने अनुदान सहयोग १५ करोड युआन (करिब २ अर्ब ४५ करोड रुपैयाँ) बाट बढाएर ८० करोड युआन (करिब १३ अर्ब रुपैयाँ) पुर्‍याएकोमा चीनलाई धन्यवाद दिँदै परराष्ट्रमन्त्री पाण्डेले बैठकमा केही प्रस्ताव राखेका छन्। कोदारी सडकको स्तर वृद्धि गर्न, नेपालका निर्यातमूलक उत्पादनलाई भन्सार छुट दिन तथा नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्न मन्त्री पाण्डेले गरेको प्रस्तावमा चीन सकारात्मक देखिएको छ।

चीनले भिसा व्यावस्था अझैसहज बनाएर नेपालमा चिनियाँ पर्यटक वृद्धि गर्न, रिङरोड बिस्तारसहित चिनियाँ लगानीका परियोजनालाई सहज बनाउन नेपाललाई आग्रह गरेको छ।

राजदूत मास्केका अनुसार वार्तामा चीन र नेपालबाट हुने उच्चस्तरीय भ्रमण, एसियाली पूर्वाधार लगानी बैंकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। राजदूत मास्केले भने, ‘चीनका विदेशमन्त्रीले नेपाल भ्रमणमा उठाएका नौवटा विषय आर्थिक तथा व्यापारिक सहकार्य, लगानी, कृषि, पूर्वाधार निर्माण, विज्ञान तथा प्रविधि, यातायात सम्पर्क, पर्यटन, नागरिक आदानप्रदान, संस्कृति, सुरक्षा तथा कानुन कार्यान्वयनलाई यो वर्ष अगाडि बढाउने सहमति भएको छ।’

राष्ट्रपति रामवरण यादवको आसन्न चीन भ्रमणका बारेमा समेत छलफल भएको बैठकमा मन्त्री पाण्डले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङसहित उच्च चिनियाँ नेतालाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मन्त्री पाण्डेले बिहीबार बिहान चीनका उपराष्ट्रपति ली युनचाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा बेइजिङस्थित दूतावासले बुधबार दिउँसो आयोजना गरेको विशेष कार्यक्रम मन्त्री पाण्डेले उद्घाटन गरे। चीनका दक्षिण एसिया मामिला विज्ञ आई पिङ, राजदूत महेश मास्के लगायतले सम्बोधन गरेको कार्यक्रममा बेइजिङस्थित विभिन्न देशका कूटनीतिक प्रतिनिधि, चीनका दक्षिण एसिया विज्ञ र व्यवसायी सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री