खुश्बु ओलीको संस्था अलपत्र, फि नतिर्दा विद्यार्थी स्कुलबाट निकालिए

काठमाडौँ। पूर्व मिस टिन खुश्बु ओली बेलायत भासिएपछि उनले संचालन गर्दै आएको संस्थामा आश्रित बालबालिका अलपत्र परेका छन्। प्रेमी दिनेश अधिकारी चरी प्रहरी कारवाहीमा मारिएको केही महिना पछि नै नेपाल छाडेकी ओलीले संचालन गरेको संस्थामा बस्दै आएका बालबालिकाहरु अलपत्र परेका हुन्। ओलीले सञ्चालन गरेको संस्था सेल्टरमा बस्दै आएका दुई बालक विद्यालयको शुल्क बुझाउन नसक्दा परीक्षाको मुखमा विद्यालयबाट निकालिएको राससले जनाएको छ।

 

पूर्व मिस टिन खुश्बु ओली। तात्कालिन प्रेमी अर्पण कोइरालाका साथ। उनीले सञ्चालन गरेको बालगृहका बालबालिका साथ।

पूर्व मिस टिन खुश्बु ओली। तात्कालिन प्रेमी अर्पण कोइरालाका साथ। उनीले सञ्चालन गरेको बालगृहका बालबालिका। फाइल तस्विर

राजधानीस्थित अल्कापुरी बोर्डिङ स्कुल चन्डोल, विशालनगरमा कक्षा ९ मा अध्ययनरत सुवास पौडेल र कक्षा ६ मा अध्ययनरत सुवर्ण पौडेल विद्यालय शुल्क तिर्न नसकेपछि परीक्षा दिनबाट बञ्चित भएका छन्। उनीहरुको फाइनल परीक्षा चैत १० गतेबाट शुरु हुँदैछ ।

राससले लेखेको छ – दुवै विद्यार्थी गरिब भए पनि पढाइमा जेहेन्दार भएकाले गैर सरकारी संस्थाको सहयोगमा पढदै आएका थिए। तर अहिले संस्थाले सहयोगको हात झिकेपछि उनीहरु बिचल्लीमा परेका हुन्। शुक्रबारसम्म विद्यालय आएका दुई बालक आइतबारदेखि विद्यालयसमेत आएका छैनन् । विद्यालय शुल्क तिर्न नसकेपछि उनीहरुलाई विद्यालयले निःशुल्क पढाउन नसक्ने भएकाले उनीहरु आइतबारदेखि विद्यालय जान नपाएका हुन् ।

यी बालकको खुस्बु ओलीद्वारा सञ्चालित ‘सेल्टर’ नामक संस्थामा बस्ने र अर्पणराज कोइराला अध्यक्ष रहेको ‘मानव कल्याण समूह’ नामक संस्थाको आर्थिक सहयोगमा पढाइ हुँदै आएको थियो ।

खुस्बु ओली र अर्पण कोइरालाको आपसमा मनमुटाव भएपछि ती बालबालिकाको पढाइमा हुँदै आएको सहयोग बन्द भएको विद्यालयको बुझाइ छ। सेल्टर नामक संस्थामा खासगरी सडक बालबालिका राख्ने भए पनि आर्थिक अवस्था कमजोर हुँदा यी बालक त्यहीँ बस्न बाध्य छन्।

विद्यालयका लेखापाल रिवाज सिंहका अनुसार डेढ वर्षदेखि दुवै विद्यार्थीको शुल्क बुझाउन कोही पनि नआएको र विद्यालयले आधाभन्दा बढी छुट दिएर पढाउँदा पनि अभिभावक र सरोकारवालापक्ष कोही नआएपछि विद्यालयले बिदा दिनुपरेको हो।

“दुवै विद्यार्थी पढाइमा राम्रा छन्, दोस्रो, तेस्रो हुन्छन्, कोही सम्पर्कमा छैनन्, कपी किताब हुँदैन, कति पटक शिक्षकले नै कपी किनिदिएका छौँ”– उनले भने, ‘५०-६० हजार रु तिर्न बाँकी रहेको र विद्यालय पनि आर्थिक रुपमा कमजोर भएका कारण उनीहरुलाई थप पढाउन सकेनौ।Khusbu-Oli-graduation-in-UK

संस्थाले ल्याएर राखेको हुनाले गरिब विद्यार्थीलाई छुट दिएर पढाएको र बाबु, आमाका बारेमा कुनै जानकारी नभएको स्कुलको भनाइ छ। सुवास र सुवर्णका काका राजन पौडेलको आग्रहमा विद्यालयले डेढ वर्षदेखि सहयोग आउने आशामा निःशुल्क पढाउँदै आएको थियो। त्यसअघि पनि विद्यालयले दुई हजार शुल्क लाग्ने ठाउँमा जम्मा रु ८०० मा पढाउँदै आएको थियो ।

सेल्टरमा बस्दै मानव कल्याण समूहको सहयोगमा २०६७ सालदेखि उनीहरु अल्कापुरी स्कुलमा पढ्दै आएका थिए। त्यसअघि उनीहरु सीताराम उप्रेती अध्यक्ष रहेको ‘भीकी एजुकेशनल एण्ड डेभेलपमेन्ट फाउन्डेसन नेपाल’ को सहयोगमा पढ्दै आएका थिए।

गोरखाको आँपपिपल–५ रातडाँडा कटहरे निवासी बाबु बाबुराम पौडेल र आमा सुशीला पौडेलका सन्तानका रुपमा रहेका १७ वर्षीय सुवास र ११ वर्षीय सुवर्ण जन्मिएका हुन् भने सुवास र सुवर्णकी बहिनी १३ वर्षीया सुष्मा पौडेल चाँही खुस्बु ओलीकै घरमा बसेर अध्ययन गरिरहेकी छिन्। “सुष्मालाई पनि खुस्बुका बुबाले छोरी लैजानुस् भन्नुभएको छ, त्यो छोरीलाई पनि ल्याएर कसरी पढाउने ?”–प्रश्नको शैलीमा ती बालबालिकाका काकाले भने।

यी तीन सन्तानका बाबुले २०५० सालदेखि मानसिक सन्तुलन गुमाइ श्रीमती, छोराछोरीलाई बारम्बार कुटपिट गर्ने भएकाले तीन सन्तानकी आमा माइत गएर बसिन्। लालनपालन र पढाउनका लागि पैसा नभएपछि उनले बच्चालाई पनि घरमै छोडेर गएपछि यी बालबालिका अभिभावकबिहीन भए। अभिभावकको सहयोग र माया नपाए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा अध्ययन गर्दै अगाडि बढ्दै थिए।

उज्ज्वल भविष्य भएका यी बालबालिका गरिबीका कारण अध्ययनबाट बाहिरिनु पर्दा पीडामा परेका छन्। तैपनि उनीहरु कहीँबाट आर्थिक सहयोग पाएर पढ्न पाइन्छ कि भन्ने आशामा बसेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री