लण्डन । बेलायतका तीनहजार विद्यालयस्तरका प्रतिस्पर्धीलाई पाखा लगाउँदै उत्कृष्ट लेखक हुन सफल नेपाली किशोर मुकाहाङ लिम्बुलाई अहिले पनि विश्वास लाग्दैन कि आफूले जितेकोमा ।
बेलायती युवराज्ञी डचेज अफ कोर्नवालबाट पुरस्कार ग्रहण गरिसकेपछि उनी विश्वस्त हुन सकेका छैनन् यो सपना हो कि विपना हो ।
नेपालमा जन्मेर धरानको लोटस स्कुलमा पढ्दै थिए उनी । उनका बाबाआमाले बेलायत आउने निर्णय लिए । उनको अगाडि कुनै विकल्प थिएन । सन् २००७ थियो त्यो ।
हावापानी बेग्लै । पढाउने शैली फरक । वातावरण बिल्कुल पृथक ।
विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालय काखैमा रहेको अक्सफोर्डसियरमा उनी बस्न थाले । जान थाले नयाँ स्कुल । जति उत्साह, उमंग थियो उति नै त्रास, भय पनि ।
भन्छन् – बालबालिकाहरुलाई नयाँ वातावरणमा घुलमिल हुन धेरै सजिलो हुन्छ । तर मुकाहाङको हकमा यो भनाइ चरितार्थ भएन ।
आमा रिना लिम्बु भन्छिन् – ‘शुरुमा एकदमै गाह्रो भयो । यहाँका रैथाने बालबालिकाले खाने खाना नखाने, स्कुलको क्यान्टिनको खाना नखाने, घरबाट आफ्नै खाना लैजाने ।’
घरबाटै खाना लैजानु मितव्ययी र स्वस्थकर पनि । त्यतिसम्म त ठीकै थियो । कतिपटक त मुकाहाङको खाना नै लुकाइदिएछन् साथीहरुले ।
नयाँ ठाउँमा यस्तो ‘बुलिङ’ ब्यहोर्नुपर्दा बालक मुकाहाङको मनमा कस्तो चोट पर्यो होला ?
‘एकपटक स्कुलबाट रुँदै घर आएपछि हामीले शिक्षकलाई उजुरी पनि गरेका थियौँ’ आमा रिना भन्छिन् ।
हो, आरम्भका दिनमा बेलायत आउँदा खप्नुपरेको मीठो/नमीठो, अनौठोपन, दुर्व्यबहार र पीडाले नै अहिले उनलाई बेलायतको विद्यालयस्तरको उत्कृष्ट कवि बनायो ।
उनको कवितामा ती दिनका पीडा लुकेका छन् ।
‘फस्ट स्टोरी’ नामक संस्थाले आयोजना गरेको सो प्रतियोगिताको यस वर्षको अवधारणा थियो ‘घर’ । इयर सेभेनदेखि नै कविता लेख्ने गरेका मुकाहाङ आफ्ना कविता शिक्षकलाई देखाउने गर्थे । शिक्षकले उनले लेखेका केही कवितामध्ये एउटालाई सो अवधारणासाग मेल खान्छ भनेर भनेका थिए ।
यसअघि पनि विभिन्न प्रतिस्पर्धाहरुमा उनी भाग लिन्थे । तर उपाधि नै चुम्ने मौका भने पाएका थिएनन् । धेरै माथि पुगेको भनेको टप ५० भित्रसम्म मात्र थियो । यसपटक पनि उनलाई जित्छु भन्ने कल्पना पनि थिएन रे ।
कल्पना नै नगरेको सफलता पाउँदा उनी त अचम्भित हुने नै भए । अझ उनकी आमालाई त छोराले प्रतिस्पर्धामा भाग लिएको पनि कुनै सुँइको थिएन ।
‘हामी डिसेम्बरमा नेपाल गएका थियौँ । फर्केर आएपछि ‘मैले जितेँ’ भनेर भन्दा हामी त आश्चर्यचकित भयौँ’ आमा रिना भन्छिन् ।
डचेज अफ कोर्नबालबाट पुरस्कार लिँदा कस्तो लाग्यो त भन्ने प्रश्नमा मुकाहाङले भने ‘म असाध्यै नर्भस थिएँ । नर्भसकै कारण अघिल्लो रात राम्रोसित सुत्न पनि सकेको थिइनँ ।’
हुने बिरुवाको चिल्लो पात भनेजस्तो मुकाहाङको बानी यस्तो छ कि आफूभन्दा अग्लो किताबको चाङमा हराउनुपर्ने ।
कसैले पैसा दियो भने पुस्तक किन्नुपर्ने । आफ्नो वजनभन्दा भारी भारी पुस्तक पढ्नमा आनन्द आउने ।
शुरुमा वकिल बन्छु भन्ने मुकाहाङको ‘प्यासन’ अब लेखक बन्नेमा बदलिएको छ । तर उनी आफैँ भने अहिले ‘पर्फमिङ आर्टिस्ट’ बन्ने धुनमा छन् । भन्छन्, ‘लेखन पनि यसकै एउटा पाटो हो ।’
‘मिदास टच’ भनेजस्तो मुकाहाङले भाग लिएको जुनसुकै क्षेत्रमा अब्बल नउत्रेको विधा नै छैन । बाबा पल्टनमा हुँदै ‘मुलुकसिंहको छोरो धेरै तिक्ष्ण छ’ भनेर पल्टनभरि कुरा चलेको आमा स्मरण गर्छिन् ।
बाउबाजेहरुले चाहन्छन् मुकाहाङ डाक्टर बनोस् । उनकी आमालाई पनि शुरुमा त्यस्तै लाग्थ्यो रे । छोराको रुचि बदलिँदै जाादा आमाको पनि सोचाइमा १८० डिग्रीको फेरबदल आएको छ । उनी भन्छिन्, “ऊ जे बन्न चाहन्छ म ‘सपोर्ट’ गर्छु ।”
त्यसैले होला मुकाहाङ आफ्नो प्रेरणाको स्रोतको नाम लिँदा हलिउडका स्टारहरुको पंक्तिमा आफ्नी आमाको नाम लिन छुटाउँदैनन् ।
मुकाहाङ । शुद्ध लिम्बु भाषामा राखिएको नाम । अर्थ हुन्छ ‘घमण्डी राजा’ तर सो अर्थ असाधारण प्रतिभाका धनी मुकाहाङसित मेल खाँदैन । नेपालभित्रकै नवपुस्तामा पश्चिमी नामको दबदबा भएका बेला मुकाहाङ चाहिँ परम्परागत आफ्नो नाममा गर्व गर्छन् ।
पढाइमा सधैँ अब्बल उनी गीत गाउन नाच्न मन पराउँछन् । परम्परागत लिम्बु भेषभूषा लगाउन रुचाउने उनी लिम्बु गीत र नाच पनि उत्तिकै झ्याम्मिन्छन् ।
उनका पिता मुलुकसिंह लिम्बु बेलायती सेनामा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि उनी अहिले सेवाकास लिएर नेपालमै बस्छन् । बेलाबखत आउजाउ गर्छन् ।
आर्थिक, सामाजिक वा प्राज्ञिक बिरासत बोकेको परिवारबाट आएकाहरुको जुनसुकै क्षेत्रमा दबदबा रहने युकेमा अंग्रेजी मूल भाषा नभएको सामान्य नेपाली परिवारबाट आएका मुकाहाङले हासिल गरेको उपलब्धि सबैका लागि अनुकरणीय छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो