स्वीस बैंकमा खाता खोल्न ‘राष्ट्र बैंकले स्वीकृति दिएको छैन’

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो प्रारम्भिक अनुसन्धानमा स्विस बैंकमा रकम रहेको भनि सार्वजनिक भएका व्यक्तिलाई खाता खोल्न अनुमति दिएको नदेखिएको जनाएको छ। संसदमा अर्थ समितिमा बोल्दै राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले नाम सर्वजनिक भएका १२ नेपालीलाई अनुमति नदिएको जानकारी गराएका हुन्।hsbc

‘पाँच अर्ब रकम कसको भन्ने विषयमा पत्रपत्रिकामा आएको नाम पढियो। हाम्रो स्वीकृति दिएको लिस्टमा भेटेका छैनौँ। प्रारम्भिक अनुसन्धानबाट स्वीकृति लिएको देखिएको छैन,’ खतिवडाले भने।

स्विस बैङ्क एचएसबिसीमा १२ नेपालीको नाममा ५ करोड ४० लाख डलर बराबरको सम्पति देखिएको छ। समितिमा बोल्दै गभर्नर खतिवडाले नेपालीहरुको कुन कुन देशमा खाता छ भन्ने विवरण नभएको जनाएका छन् ।

‘यो समाचार सार्वजनिक भएदेखि नै हामीले यसबारे अध्ययन थालेका छौं’, गभर्नर खतिवडाले भने, ‘तर अहिलेसम्म नेपालीहरु क–कसले त्यहाँ खाता खोलेका छन् र त्यो पैसाको अवस्थाबारे हामीले यकिन विवरण पाउन सकेका छैनौं ।’

समितिको बैठकमा सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले विश्वका धेरै वटा देशका तानासाहले राखेको स्वीस बैंकको पैसा फिर्ता हुन समेत गाह्रो भएको भन्दै कालो धन त्यहाँ गएको भएपनि त्यसको विवरण पाउन र फिर्ता गराउन सहज नभएको बताए ।

‘स्वीस बैंकमा परिवारका सदस्यहरुलाई समेत खाताको जानकारी नदिने सर्तमा खाता संचालन गरिएको हुन्छ’ उनले भने, ‘यदि फर्काउन सहज बाटो खोज्ने हो भने पारस्पारिक कानुनी सहायता सन्धी गरेर त्यसपछि प्रक्रिया अघि बढाउदा उपयुक्त हुन्छ ।’

यसैबीच समितिले स्वीजरल्याण्डको एचएसवीसी बैकमा रहेको भनिएको नेपालीको पाँच अर्व रकमका विषयमा छानविन गरी कानुनी दायरामा ल्याउन सरकार र राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।

समितिको बैठकले राष्ट्र बैंक र सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई नेपालीहरुको अन्य कुन–कुन देशमा खाता छ र त्यसमा त्यसको बैधानिक अवस्था के छ भन्ने लगत राख्न पनि निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री