काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या घटेको छ ।
विगतमा विद्यार्थी सङ्ख्याको बढ्दो चापलाई थेग्न नसकी विद्यार्थी भर्नाको निश्चित कोटा निर्धारण गर्ने गरेका विश्वविद्यालय क्याम्पसअन्तर्गतका केन्द्रीय विभागमा यतिखेर भने विद्यार्थीको आकर्षण निकै कम देखिएको छ । देशका अधिकांश जिल्लाबाट स्नातकोत्तर तहको अध्ययन गर्न विद्यार्थीको पहिलो रोजाइ विश्वविद्यालय क्याम्पस हुने गरेकामा त्यो आकर्षण कम हुँदै गएको छ ।
त्रिवि क्याम्पसलाई उत्कृष्टताको केन्द्र बनाउने योजनाअनुसार काम अघि बढाइरहेको भए पनि विद्यार्थी सङ्ख्या घट्दै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । उत्कृष्टताको केन्द्र बनाउने योजनाअनुसार नै गत शैक्षिक वर्षदेखि केन्द्रीय विभागमा स्नातकोत्तर तहको अध्यापन सेमेस्टर प्रणालीमा सुरु गरिएको थियो ।
विगतका वार्षिक प्रणालीमा विद्यार्थीको सङ्ख्या अत्यधिक हुने गरेको शिक्षाशास्त्र केन्द्रीय विभागमा सेमेस्टर प्रणालीमा विभिन्न विषयको विद्यार्थी भर्नाका लागि एक हजार ५०० दरबन्दी निर्धारण गरिएकामा फाराम वितरणको अन्तिम मितिसम्म ७०० जनाको मात्र आवेदन परेको छ ।
सेमेस्टर प्रणालीले शैक्षिक गुणस्तरीयतामा सकारात्मकपन देखिए पनि विद्यार्थी भर्नाको क्रममा भने न्यूनता आएको विभागका प्रमुख प्रा डा शिवशरण महर्जनले बताउनुभयो । “सेमेस्टर प्रणाली सम्बन्धमा लामो समयसम्म भएको विवाद, विभिन्न बहानामा हुने बन्दहडताल आदि विद्यार्थीको भर्नाको क्रम न्यून हुनाका कारण हुन सक्छन्” – उनले भने ।
विश्वविद्यालय क्याम्पसअन्तर्गत विज्ञानका विभिन्न विषयका विभाग तथा व्यवस्थापन केन्द्रीय विभागबाहेक अन्य विभागमा यस वर्ष आवश्यक दरबन्दीभन्दा निकै कम विद्यार्थीले आवेदन बुझाएका छन् । राजनीतिशास्त्र, जनसङ्ख्या अध्ययनजस्ता विषयमा दुईचार विद्यार्थीले मात्र आवेदन बुझाएका छन् भने अङ्ग्रेजी, नेपालीजस्ता विषयमा पनि विद्यार्थी कम देखिएका छन् ।
केही वर्षअघिसम्म वार्षिक लगभग ३०० जनाको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने गरेको नेपाली केन्द्रीय विभागमा गत वर्ष सेमेस्टर प्रणालीका लागि ५५ जनाले आवेदन दिएकामा हाल ४४ जना विद्यार्थी मात्र अध्ययन गरिरहेका छन् । यस वर्ष भने आवेदन फाराम भर्ने अन्तिम मितिसम्म ३० विद्यार्थीले मात्र आवेदन बुझाएको विभागले जनाएको छ ।
विभागीय प्रमुख प्रा डा देवी गौतमले सेमेस्टर प्रणालीका सम्बन्धमा भर्नाका समयमा भएका विवाद तथा लामो समयसम्म भएको अन्योलजस्ता कारणले विद्यार्थी सङ्ख्या घट्न गएको हुन सक्ने बताए । विश्वविद्यालय क्याम्पसका शिक्षाशास्त्र एवम् मानविकीतर्फका अधिकांश विषयमा परीक्षा शुल्कसहित सेमेस्टर प्रणालीका लागि रु ३६ हजार बुझाउनुपर्ने, परीक्षामा सहभागी हुनका लागि न्यूनतम ८० प्रतिशत हाजिरी हुनुपर्नेजस्ता प्रावधान पनि विद्यार्थी घट्नाका कारण हुन सक्ने अनुमान गरिएको छ ।
स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थी धेरैजसो विभिन्न काम गरेर पढ्ने गरेका कारण पनि सेमेस्टर प्रणालीमा ८० प्रतिशत अनिवार्य हाजिरीजस्ता कारणबाट विद्यार्थी घटेको हुन सक्ने विश्वविद्यालय क्याम्पसका विद्यार्थी नेता पारसमणि घिमिरेको बुझाइ छ । विश्वविद्यालय क्याम्पसमा पढ्न आउने अधिकांश विद्यार्थी काठमाडौँ उपत्यका बाहिरबाट आउने भएका कारण विश्वविद्यालयले विद्यार्थीका लागि उचित छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने घिमिरेले बताए ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय