लन्डनमा प्रवासी नेपाली मञ्च यूकेको संघीयता गोष्ठी

ONF

तस्विरः एभरेष्ट गौतम

लन्डन । एमालेको विदेशस्थित भ्रातृ संगठन प्रवासी नेपाली मञ्च यूकेले विभिन्न कार्यक्रमसहित लन्डनमा स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ ।

‘बहुपहिचान सहितको नेपालको संघीय लोकतान्त्रिक संविधान, शीघ्र जारी गर्न सर्वत्र दवाव सिर्जना हाम्रो अभियान’ नाराका साथ मनाइएको दशौं वार्षिकोत्सव कार्यक्रमका अवसरमा आइतबार संघीयताबारे वृहत गोष्ठी भयो ।

ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित उक्त गोष्ठीमा विशेष अतिथि अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदीले ‘संघीय लोकतान्त्रिक संविधान, वास्तविकता र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै माओवादीलाई अलग्याएर बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्नु कानुनतः भएपनि कालान्तरमा यसको औचित्य (लिजिटिमेसी) नहुने धारणा राखे ।
तर, माओवादीको एकल पहिचानको एजेण्डा गलत भएको टिप्पणी गर्दै सुवेदीले देशमा विकेन्द्रिकरण प्रमुख आवश्यकता भएकाले ७५ जिल्लाको संरचना यथावत राखी त्यसलाई नै प्रदेशका रुपमा नाम र प्याकेज दिन सकिने बताए ।

प्रा. डा. सुवेदीले राष्ट्रपतीय प्रणाली एवं उपल्लो सदन समानुपातिक प्रणाली अन्तर्गत र तल्लो सदन प्रत्यक्ष निर्वाचनद्धारा हुनुपर्नेमा पनि जोड दिए । दोश्रो दर्जाको आर्थिक नागरिकता प्रस्ताव कानुनका आधारभूत सिद्धान्त बाहिर हुने उनको धारणा थियो । संवैधानिक अदालतका सम्वन्धमा बोल्दै सुवेदीले अन्तर्राष्ट्रिय न्यायालयको अनुभवका आधारमा विशेष किसिमको डिभिजन (च्याम्बर) बनाउन सकिने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य डा. विजय पौडेलले ‘संविधान निर्माणका सन्दर्भमा नेकपा (एमाले) का दृष्टिकोणहरु ः चुनौती र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपा (एमाओवादी) र आफूलाई मधेशवादी भन्नेहरु नै संघीयताका वास्तविक विरोधी भएको आरोप लगाए । उनले देश संघीयतामा लैजांदा आमजनताबाट प्रत्यक्ष रुपमा निर्वाचित शासक बनाउंदा नै राजनीतिक स्थिरता र राष्टिय एकता प्रवद्र्धन गर्न सजिलो हुने उल्लेख गरे ।

त्यसैगरि, मञ्चका सल्लाहकार समितिका अध्यक्ष डा. अच्युत गौतमले ‘संघीयताः अल्झिएको विगत, बल्झिंदो भविष्य’ बारे र लिभरपुल विश्वविद्यालयका प्रोफेसर डा. पदम सिम्खडाले ‘संघीयतामा सामाजिक रुपान्तरण’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य महेश्वर पाठक, एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री शिव तिमिल्सिना, मञ्चका सल्लाहकार राजेन्द्र पुडासैनी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष रामजी बरालले स्वागत मन्तव्य र अर्का उपाध्यक्ष एवं कार्यक्रम संयोजक रविन्द्र कंडेलले धन्यवाद मन्तव्य दिए । मञ्चले संस्थापक अध्यक्ष आङकल्जङ लामा र संस्थापक संयोजक लय प्रसाईंलाई सम्मान समेत गरेको छ । उक्त संस्थाले दशौं वार्षिकोत्सवका अवसरमा नेप्लिज व्लड 
डोनर्स एसोसिएसन यूकेको सहकार्यमा रक्तदान समेत गर्यो ।

तस्विरः शिव भण्डारी

तस्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री