चैतको दोस्रो साता राष्ट्रपति चीन जाने

काठमाडौं। राष्ट्रपति रामवरण यादवले चैत दोस्रो साता छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन्।  चीनको हाइनान प्रान्तमा आउँदो चैत १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरममा सहभागी हुन राष्ट्रपति यादव चीन जान लागेको नागरिक दैनिकले समाचार छापेको छ। भ्रमणको क्रममा राष्ट्रपति यादवको चिनिया समकक्षी सी जिनपिनसँग ‘साइडलाइन’ भेटवार्ता तय भएको छ।Rambaran Yadav

काठमाडौंमा राजनीतिक अन्योल लम्बिएर चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित हुन नसकेको अवस्थामा राष्ट्रपति यादव एसियाका राष्ट्र तथा सरकार प्रमुखले भाग लिने महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन लागेका हुन् ।

तत्कालीन राजा वीरेन्द्र शाह २००१ मा बोआओ एसिया फोरम स्थापना समारोहमा सहभागी भएका थिए भने २००५ मा अर्का राजा ज्ञानेन्द्र शाहले भाग लिएका थिए।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति यादव सम्मेलनमा सहभागी हुन कुनमिङ वा छेङदु भएर दक्षिण चीनको उष्ण प्रदेशीय टापु हाइनानस्थित बोआओ सहर पुग्ने गरी तयारी भइरहेको छ ।

बोआओ एसिया फोरमको वार्षिक सम्मेलन उद्घाटन चैत १४ गते हुनेछ । गत साता बेइजिङमा बोआओ फोरम फर एसियाका महासचिव झोउ वेनझोङले बताएअनुसार उद्घाटन समारोहलाई चीनका राष्ट्रपति जिनपिङसहित दस देशका राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गर्नेछन् । बेइजिङस्थित राजदूत महेश मास्केका अनुसार समारोहलाई नेपालका राष्ट्रपति यादवले पहिलोपटक सम्बोधन गर्ने कार्यक्रम बनेको छ।

राष्ट्रपति भएको साढे छ वर्षमा दक्षिणी छिमेकी भारतको तीनपटक औपचारिक भ्रमण गरे पनि यादवलाई उत्तरी छिमेकी चीनको राजकीय भ्रमण गर्ने अवसर जुरेको छैन। अक्टोबर २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा र २०१२ मा नेपाल भ्रमणमा आउँदा चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरेका यादवको चीनका राष्ट्रपतिसँग यो पहिलो भेट हुनेछ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा यस वर्ष शीर्ष राजनीतिक नेतृत्वबीच आदानप्रदान कार्यक्रम राखिएको छ । चीनका राष्ट्रपति वा प्रधानमन्त्रीको नेपाल भ्रमण तयारीका क्रममा गत महिना काठमाडौं आएका चीनका विदेशमन्त्री वाङ यीले राष्ट्रपति यादवसँग भेटेर बोआओ फोरममा सहभागी हुन निमन्त्रणा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री