मध्यरातमा संविधानसभामा तोडफोड, तीन मर्यादापालक घाइते

काठमाडौं। एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाका सभाषदहरुले संविधानसभा भवनमा तोडफोड गरेका छन्।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न समय दिएपछि रोस्टम घेर्न पुगेका विपक्षी सभाषदहरुले बैठक स्थगित भएपछि तोडफोड गरेका हुन्। संविधानसभाको कुर्सी, माइक र गमला तोडफोड गरिएका छन् र तोडफोडपछि सभाषदहरु नारावाजी गर्दै बाहिरिएका छन्।

CA

अध्यक्ष नेम्वाङले संविधानको अन्तर्वस्तुमा सहमति जुट्न नसकेको भन्दै बहुमतीय प्रक्रिया शुरु भएको बताएका थिए।

त्यस लगत्तै प्रश्नावली समिति बनाउनका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने समय प्रदान गरेका थिए। त्यसपछि रोस्टम घर्ने पुगेका सभाषद र मर्यादापालकबीच केही समय घम्साघम्सी भएको थियो। त्यसलगत्तै अध्यक्ष नेम्वाङले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

सभाषद झडपमा तीन जना मर्यादापालक घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। मर्यादापालक चरित्र तिवारीको टाउकोमा चोट लागेको छ भने विष्णु केसी र सुनिता सुब्बाको हात भाँचिएको छ। उनीहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। तोडफोडमा संलग्न सभाषदहरु ‘संविधानसभाका दलालहरु मुर्दावाद’ भन्दै नाराबाजी गर्दै बाहिरिएका थिए।

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सभाध्यक्ष नेम्वाङका कारण बैठकमा अप्रिय स्थिति उत्पन्न भएको आरोप लगाएका छन्। ‘हामीले बहुमतीय प्रक्रियामा जानु हुँदैन भन्दाभन्दै अध्यक्षले त्यो प्रक्रियामा लैजानु भयो’, पोखरेलको प्रतिक्रिया थियो।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संविधानसभाभित्र आफूमाथि आक्रमण भएको बताएका छन्। उनले माइकले आफ्नो छातिमा हानिएको बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन्। विपक्षी सभाषदले एमालेकी उपाध्यक्ष विद्या भण्डारीमाथि पनि आक्रमण भएको ओलीले बताए। तर उनले यस्तो आक्रमणबाट आफू नडराउने प्रतिक्रिया दिएका छन्।

संविधानसभाबाट बाहिरिने क्रममा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘सत्तारुढ दलको षड्यन्त्र’ लाई रोक्न संविधानसभा अवरुद्ध पारेको प्रतिक्रिया दिएका छन्। ‘यो सब संविधान नबनाउने प्रपञ्च हो’ संविधानसभाको बैठक स्थगित भएपछि बाहिरिँदै गर्दा उनले भने ‘संविधान नबनाउने षड्यन्त्र विरुद्ध हामीले बैठक अवरुद्ध गरेका हौँ।’

त्यस्तै सरकारका प्रवक्ता सञ्चारमन्त्री मिनेन्द्र रिजालले माओवादीको अराजकता भएको प्रतिक्रिया दिए भने एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादीको ताण्डव नृत्यको संज्ञा दिए। त्यस्तै गृहमन्त्री बामदेव गौतमले माओवादीको ‘जंगली कार्य’ भएको बताए। ‘कुकरले खुट्टा टोक्दैमा उसलाई पनि टोक्न जानु मूर्खता हो’ उनले भने।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री