स्वस्थानी व्रत शुरु

काठमाडौं। प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आइतबारबाट सुरु भएको छ। मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ।

सत्ययुगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ। Sankhu

मनोकांक्षा पूरा हुने विश्वासले नै सर्वसाधारणको स्वास्थानी व्रतप्रतिको आकर्षण भएको पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए।

मध्याह्नकालमा स्वस्थानी देवीको पूजाआजा हुने भएका कारण आइतबार र सोमबार दुवै दिन पूर्णिमा तिथि परे पनि आइतबार मध्याह्नकालमा पूर्णिमा तिथि परेका कारण आइतबारैदेखि व्रत आरम्भ हुने भएको उनले जानकारी गराए। स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो। पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन्। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन्।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए। विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ।

व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको पाणिनी ज्योतिष सेवा केन्द्र कलंकीका सञ्चालक उमानाथ पोख्रेलको भनाइ छ। पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी शरीर सफा राखी संकल्पपूर्वक व्रत आरम्भ गरिने र एक महिनासम्म मध्याह्नको समयमा भगवान शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजाआराधना गरिने प्रचलन रहेको उनले जानकारी गराए।Swashthani_Brat

उनका अनुसार व्रतालुले पूजाआराधनापछि स्वस्थानी महात्म्य वाचन र श्रवण गर्ने गर्छन्। व्रत अवधिभरि शारीरिक एवं मानसिक रुपमा शुद्ध बनी मध्याह्नकालमा एकपटक मात्र भोजन गर्ने गर्छन्। विधिपूर्वक व्रत नबस्नेले पनि आआफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन्। पौष शुक्ल पूर्णिमामा सुरु हुने व्रत एक महिनापछि अर्थात माघ शुक्ल पूर्णिमाको दिन समापन गरिने र उक्त दिन सम्पर्ण पूजा सामग्रीसहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तु १०८ को संख्यामा हुने यस व्रतको अर्को मौलिकता रहेको पण्डित माधवप्रसाद सापकोटा बताउँछन्। समापनका क्रममा अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसार फलफूल सबै १०८ का दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने उनले जानकारी गराए।

पूजा सम्पन्न भएपछि जुन कामनाले व्रत गरिएको हो त्यो पूरा होस् भन्दै अर्घ दिई व्रत समापन गरिने उनले बताए। स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल विशेषगरी काठमाडौंभित्रै छन्। कथाका विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यसले बढी महत्व पाएको सापकोटाको भनाइ छ।

राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु)मा रहेको शालीनदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ। स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री