आइसीसी सदस्यहरुलाई झुक्याएर केन्द्रिय अध्यक्ष घलेको सम्मान

DG SMS

लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) अध्यक्ष शेष घलेसंग विल्कुल अनौपचारिक कार्यक्रम भनेपछि निम्तो स्वीकार्दै गएका एनआरएनए यूके आइसीसी सदस्यहरु त्यतिबेला जिल्ल परे, जब एउटा असन्तुष्ट समूहले ब्यानर टांग्यो, औपचारिक भाषण भयो । खादाले सम्मान गरियो ।

हिजो शुक्रवार सांझ अध्यक्ष घलेसंग रात्रीभोजमा सामेल आइसीसी यूके सदस्यहरु गैर आवासीय नेपाली, संघ बेलायतको एउटा असन्तुष्ट योगेन्द्रबहादुर क्षेत्री समूहको ब्यानरमुनी परेपछि आक्रोशित मात्र छैनन्, आफूहरुलाई झुक्याएको भन्दै आपत्ति समेत व्यक्त गरेका छन् ।

उक्त रात्रीभोजमा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल समूहलाई निम्तो थिएन ।

‘हामीलाई अध्यक्ष घलेसंग अनौपचारिक कार्यक्रम भनेर बोलाइएको थियो तर असन्तुष्ट एउटा गुटले संस्थाको ब्यानर टांगेर कार्यक्रम गरेपछि हामी खुशी 
छैनौं’, आइसीसी सदस्य पशुपति भण्डारीले वीनेपालीसंग भने, ‘शुरुमै स्पष्ट भनिदिएको भए हामी कार्यक्रममा जाने थिएनौं । हामीलाई सरासर मुर्ख बनाइयो ।’ भण्डारीले आइसीसी सदस्यहरु सुरेन्द्र श्रेष्ठ, कुल आचार्यसहितका सदस्यहरुले यसबारे प्रेस विज्ञप्ति निकाल्ने तयारी गरेको समेत जनाए ।

अर्का आइसीसी सदस्य कुल आचार्यले आफू आइसीसी केन्द्रिय सल्लाहकार डमर घलेले पठाएको अनौपचारिक भेटघाट भन्ने निम्तोले मात्र त्यहां गएको उल्लेख गर्दै कार्यक्रमलाई कुनै पक्षले औपचारिक बनाउनु खेदजनक भएको बताए । ‘हामी केन्द्रिय अध्यक्षको सम्मान र भेट गर्न लालयित थियौं न कि कुनै एउटा गुटको मुनी बसेर गफिन’, आचार्यले भने । आचार्य कार्यव्यस्तता जनाउंदै हलबाट छिटो बाहिरिएका थिए ।

रात्रीभोजमा सहभागी दंग देखिन्थे

रात्रीभोजमा सहभागी दंग देखिन्थे

एनआरएनए यूके विवाद भइरहंदा क्षेत्रीले ब्यानर टांगेर आइसीसी सदस्यहरुलाई समेत विवादमा तान्ने काम गरेको कतिपयको बुझाइ छ । केन्द्रिय अध्यक्षले समेत नबुझी एउटा गुटको पछि लाग्नु आश्चर्यजनक भएको भन्दै कतिपय एनआरएन अगुवाहरुको त्यसप्रति रोष छ ।

क्षेत्री र आइसीसी केन्द्रिय सल्लाहकार डमर घलेले आफू निकटकालाई बोलाएर तमुधिं, यूके भवन मिचेटमा रिसेप्सन राखेका थिए । ‘हामीले शुरुमा प्रोग्रामको रुपरेखा सोध्ने कुरा पनि भएन तर औपचारिक कार्यक्रम गर्दा सबैलाई समेट्नु पथ्र्यो’, कार्यक्रममा सहभागी पूर्व अध्यक्ष सूर्य गुरुंगले भने ।
उनी प्रमुख अतिथी घलेको भन्दा पनि आयोजकको बढि दोष देख्छन् ।

एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्रबाट गठित समितिले डिसेम्बर तेश्रो साता सम्वन्धित व्यक्तिहरुसंग सुझाव संकलन गरि प्रतिवेदन बुझाउनै लाग्दा एउटा समूहले रात्रीभोज गरेर अध्यक्ष घलेलाई प्रभावमा पार्न खोजेको बुझाइ समेत केही अगुवाहरुको छ । छानवीनको अन्तिम प्रतिवेदन आगामी १० तारिख आइसीसी केन्द्रिय बैठकमा लगेर एनआरएनए यूके विवाद छिनोफानो हुने सम्भावना छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री