शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: ०९:५८ | UK Time: 05:13

बेलायतमा चम्कँदै नेपाली रेस्टुरेन्ट

वीनेपाली
२०७१ पुष १९ गते ०:०२
EI 4

नेपालीहरुको न्यानो स्वागतले पनि ग्राहक लोभिन्छन्

लन्डन । नाम लिँदै मुख रसाउने मःमः अहिले नेपालमा मात्र होइन बेलायतबासी बीच पनि प्यारो छ । काठमाडौँका रैथाने नेवारहरुको परिकार छोयलाको स्वाद नेपालीहरुले मात्र होइन बेलायती सांसदहरुले समेत चाखिसकेका छन् । बेलायतमा खुलेका नेपाली रेस्टुरेन्टले व्यापार मात्र होइन, नेपाली पहिचान, सँस्कृति, परिकारलाई पनि प्रबर्धन गर्दैछन् । बेलायतमा हुर्कँदो नेपाली समाजलाई सुदृढ र सम्बृद्ध बनाउन यिनीहरुको भूमिका कम्ती छैन् ।
करिब चार दशकअघि शुरु भएको रेस्टुरेन्ट क्षेत्रमा नेपाली प्रवेशको क्रम अहिले पनि रोकिएको छैन् । अर्को अर्थमा भन्दा बेलायतमा नेपालीहरुको धेरै संलग्नता रहेको व्यवसायको अर्को नाम हो रेस्टुरेन्ट व्यवसाय । रेस्टुरेन्ट व्यवसायी नेपालीहरुको संस्था नेपाल क्याटरिङ एसोसिएसनको आँकडामा हाल करिब २५० नेपाली रेस्टुरेन्टले बेलायतमा नेपाली स्वाद चखाइरहेका छन् । करिब दुई हजार नेपालीहरुले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन् भने न्यूनतम लगानीलाई आधार मान्ने हो भने पनि करिब डेढ करोड पाउण्डभन्दा बढी लगानी नेपालीहरुले रेस्टुरेन्ट क्षेत्रमा गरेका छन् ।

रेस्टुरेन्टको श्रीगणेश
सन् १९६० को दशकमा नेपालीहरु भारतीयहरुको लगानी रहेको रेस्टुरेन्टमा काम गर्न आउन शुरु गरे । स्वर्गीय कृष्णबहादुर (केबी) थापालाई रेस्टुरेन्टमा काम गर्न आउने पहिलो नेपालीका रुपमा लिइन्छ । सन् १९६८ मा बेलायत आएका र थापासितै काम गरेका ईश्वर मानन्धरले केही वर्षअघि यस पंक्तिकारसित भनेका थिए, “म पारस होटलमा म्यानेजर थिएँ । त्यतिबेला यहाँ (युके) बाट गएका क्वालिटी रेस्टुरेन्टका भारतीय साहु रिजुमल भवनानीले ‘मलाई लण्डनमा रेस्टुरेन्टमा काम गर्ने कुक चाहिएको छ के तिमी मलाई सहयोग गर्न सक्छौ’ भन्यो । हामीले सल्लाह गरेर त्यही होटलका हेड कुक केबी थापालाई पठायौँ ।”
मानन्धरका अनुसार, त्यतिबेला भारत र पाकिस्तानबाट बेलायतमा काम गर्ने मानिसहरु ल्याउन समस्या थियो । त्यहीकारण भारतीय रेस्टुरेन्ट व्यवसायीहरु नेपालतिर छड्किएका थिए । पहिलोपटक नेपाल जाँदा सोल्टी होटलमा बसेर रित्तोहात फर्केका भवनानीको प्रयास दोस्रोपटक पारस होटलको बसाइमा साकार भएको थियो । नेपलिज क्याटरिङ एसोसिएसन यूकेका अध्यक्ष विजय थापा कामदार ल्याउन सजिलो भएको भन्दा पनि नेपाल घुम्न गएका भारतीय रेस्टुरेन्ट व्यवसायीहरु नेपालीहरुको पकाउने कला र सेवाले प्रभावित भएकाले बेलायत ल्याएको विश्लेषण गर्छन् ।
आफूलाई रेस्टुरेन्टमा काम गर्ने वर्क पर्मिट पाएर बेलायत आउने दोस्रो व्यक्ति दाबी गर्ने मानन्धरका अनुसार त्यतिबेला नेपालीहरुले भारतीय रेन्टुरेन्ट धनीहरुसित विभिन्न शर्त राखेका थिए । जस्तो हवाई भाडा तिरिदिनुपर्ने, बस्ने व्यवस्था मिलाइदिनु पर्ने आदि । एउटाले अर्को साथीलाई तान्दा श्याम महर्जन, कालुराम तामाङ, हरिविभोर कार्कीहरु पनि बेलायत आए । तर क्वालिटी रेस्टुरेन्टमा आगलागी भएपछि धेरैको सपना बिथोलियो । फलतः त्यहाँ काम गर्ने केही नेपालीहरु मिलेर सन् १९७२ मा लण्डनको ह्यामरस्मिथमा लाइट अफ नेपाल रेस्टुरेन्ट खोले जसलाई नेपालीहरुको लगानी रहेको पहिलो रेस्टुरेन्ट मानिन्छ । क्वालिटीकै अर्का कर्मचारी ईश्वर मानन्धरले सन् १९७५ मा नटराज रेस्टुरेन्टमा रहेको आफ्नो १५ प्रतिशत हिस्सालाई बढाएर शतप्रतिशत बनाए भने क्लालिटीकै अर्का कर्मचारी हरिविभोर कार्कीले अल्डसटमा जोनी गोर्खा रेस्टुरेन्ट खोले । उता, क्वालिटीकै केबी थापाले इलिङ तन्दुरीमा शेयर बढाउँदै पूर्ण स्वामित्व लिए ।
वन साङ्लोले घर साङ्लोलाई खेद्ने नेपाली उक्ति जस्तैगरी भारतीय रेस्टुरेन्टमा काम गर्न आएका नेपालीहरुले ती साहुहरुबाट रेस्टुरेन्ट किन्दै गए । त्यसताका नेपाली रेस्टुरेन्टको लोकप्रियता उल्लेख गर्दै अध्यक्ष थापा भन्छन्, “त्यतिबेला नेपाली रेस्टुरेन्टमा खानका लागि मानिसहरुको लाम बाहिरसम्म लाग्ने गथ्र्यो ।” भारतीयहरुले चलाउन नसकेर बेचेका रेस्टुरेन्ट साँवा अक्षर चिनेका नेपालीहरुले कसरी सफलतापूर्वक चलाउन सके त ? थापा भन्छन्, “भारतीयहरु रेस्टुरेन्टमा असफल हुनुका दुई कारण छन् । पहिलो उनीहरुसित ‘वर्क फोर्स’ थिएन, दोस्रो भारतीयहरुको नयाँ पुस्ताले बाउबाजेले गरिआएको व्यवसायलाई निरन्तरता दिएन ।”
सन् १९८० देखि २००० सम्मको अवधिमा सबैभन्दा बढी नेपाली रेस्टुरेन्टहरु खुलेको व्यवसायीहरुको भनाइ छ ।

सफलताको सुत्र ः स्वकर्म
जतिबेला नेपालीहरु रेस्टुरेन्टमा काम गर्न आए त्यतिबेलासम्म नेपालमा शिक्षादिक्षा सर्वत्र थिएन । हुनत अहिले पनि पर्याप्त छैन् । त्यस्तो परिवेशमा हुर्केका नेपालीहरुले बेलायत जस्तो ठाउँमा आएर कसरी सफलतापूर्वक व्यवसाय धान्न सके अनुसन्धानकै विषय छ । तर, धेरै रेस्टुरेन्ट धनीहरुको विश्लेषणमा नेपालीहरुले रेस्टुरेन्टमा आफैँ काम गर्नु नै सफलताको कसी हो । मानन्धर भन्ने गर्थे, “नेपालीहरु अरुलाई काम लगाउने र आफू साहु पल्टेर बस्ने गर्दैनन् । आफू साहु भए पनि आफैँ काम गर्ने, आफैँ खट्ने नै नेपालीहरु सफल हुनुको कारण हो ।”
सन् १९८० मा साउथ इलिङमा मोन्टिज नेप्लिज कुजिन खोलेका हरिसिंह थापाको अनुभवमा नेपालीहरुको राम्रो काम गर्ने तरिका, ग्राहकलाई खुशी तुल्याउने कला, मीठो खाना खुवाउने सीप नै नेपाली रेस्टुरेन्ट सफल हुनुको कारण हो । उनको बुझाईमा सबैभन्दा ठूलो श्रेय त नेपालीहरुको इमानदारिता नै हो । उता एसोसिएसन अध्यक्ष थापाको अनुभवमा भने नेपाली रेस्टुरेन्ट व्यवसायीहरुले आफ्नो रेस्टुरेन्टमा काम गर्न आफन्तहरु नै राख्नुले पनि सफल हुन सहयोग गरेको छ ।
युकेको बाथमा रहेको याक यति याक नेपाली रेस्टुरेन्टको समीक्षामा बेलायतको द गार्डियन अखबारले नेपाली रेस्टुरेन्ट सफल हुनुको कारण ‘मीठो खाना, मैत्रीपूर्ण र हार्दिक सेवा र सस्तोपन’ रहेको उल्लेख गरेको थियो । तर रेस्टुरेन्ट व्यवसायीसमेत रहेका गैर आवासीय नेपाली संघ, युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ भन्छन्, “मीठो, राम्रो खाना र स्तरीय सेवा सत्य हो तर नेपाली रेस्टुरेन्ट सस्ता भने होइनन् । भारतीय र चाइनिज रेस्टुरेन्ट पनि निक्कै सस्ता छन् ।”
औसत नेपाली रेस्टुरेन्ट सफल देखिए पनि केही रेस्टुरेन्ट बन्द पनि भएका छन् । जो बन्द भए उनीहरुमा पर्याप्त गृहकार्य र अनुसन्धानको कमी रहेको रेस्टुरेन्ट व्यवसायीहरुकै मत छ । गुरुङ भन्छन्, “समग्रमा नेपाली रेस्टुरेन्ट सफल भएकै देख्छु । तर कतिले आवश्यक ज्ञान नभई जोशकै बलमा खोलेका रेस्टुरेन्ट बन्द भएका छन् । कतिपयलाई रेस्टुरेन्ट खोलेपछि आइपरेको समस्याले पनि बन्द हुन बाध्य गराएको छ ।”

everest inn 3 (2) (1)

स्कटल्याण्डमा नयां शाखा उद्घाटनपछि एभरेष्ट इन कर्मचारी र अतिथीहरु

 

आर्थिक सामाजिक टेवा
कम्तीमा एउटा रेस्टुरेन्टका लागि आठजना कामदार चाहिने रेस्टुरेन्ट व्यवसायीहरुको भनाइ छ । रेस्टुरेन्टको अवस्था हेरी बढीमा २० जनासम्म कामदार रहेको नेपाली रेस्टुरेन्ट पनि छन् । एसोसिएसनकै आँकडालाई केलाउने हो भने पनि करिब दुईहजार मानिसले नेपाली रेस्टुरेन्टमा काम पाइरहेका छन् । त्यसमाथि पनि अझै गहिरिएर हेर्ने हो भने नेपाली रेस्टुरेन्टमा काम गर्ने ९९ प्रतिशतभन्दा बढी कामदार नेपालीहरु नै छन् ।
एसोसिएसनका अध्यक्ष थापाको भनाइमा एउटा रेस्टुरेन्ट खोल्नलाई प्रोपर्टी इन्भेस्टमेण्टसहित खोल्ने हो भने करिब १ लाखदेखि २ लाख पाउण्ड र लिज होलमा खोल्ने हो भने ५० देखि ७० हजार पाउण्डसम्म लाग्छ । एनआरएनए युकेका पूर्व अध्यक्ष गुरुङको अनुभवमा पनि एउटा सामान्य नेपाली रेस्टुरेन्टका लागि कम्तीमा ७० हजार पाउण्ड लगानी चाहिन्छ । यसहिसाबले औसतमा एउटा रेस्टुरेन्टको लगानी न्यूनतम ६० हजार पाउण्ड मानिदिँदा पनि नेपालीहरुले डेढकरोड पाउण्डभन्दा बढी रेस्टुरेन्टमा लगानी गरेका छन् ।
आर्थिक मात्र होइन, नेपाली रेस्टुरेन्टको सामाजिक योगदान पनि कम छैन । नियालेर हेर्ने हो भने बेलायतको नेपाली समुदायका अगुवाहरु पनि रेस्टुरेन्ट व्यवसायीहरु नै छन् । एनआरएनका पूर्व अध्यक्षहरु महन्त श्रेष्ठ र अशोक श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्यदेखि वर्तमान अध्यक्ष महेन्द्र कँडेलसम्म रेस्टुरेन्ट व्यवसायी नै हुन् । यति एसोसिएसनका पूर्व अध्यक्ष चिरञ्जीवी ढकाल, तमु धिँका पूर्व अध्यक्षहरु मुच्छेत्र गुरुङ, कमल गुरुङ, सहारा फुटबल क्लवका पूर्व अध्यक्ष नविन गुरुङ, नेप्लिज बिज्नेस एसोसिएसन यूकेका अध्यक्ष नरेन्द्र कँडेल, राप्रपा नेपालको भातृ संगठन राष्ट्रवादी प्रजातान्त्रिक नेपाली समाजका अध्यक्ष रोशन सापकोटा पनि रेस्टुरेन्ट व्यवसायमै आवद्ध छन् । एनआरएनका अन्तर्राष्ट्रिय समिति पूर्वसदस्यहरु राजन कँडेल, विजय थापा, किशोर सापकोटा, कमल भण्डारी मात्र होइन नेपाली साहित्य विकास परिषद्, युकेका पूर्व अध्यक्ष हरिसिंह थापा, गुल्मी समाजका अध्यक्ष अर्जुन गौतम, चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे, एनआरएनए यूकेका उपाध्यक्ष कृष्ण तिम्सिना सबैको कर्मथलो रेस्टुरेन्ट पनि हो ।
त्यति मात्र होइन, बेलायतका नेपाली संघसंस्थालाई कार्यक्रम गर्न स्थल उपलब्ध गराउने, कार्यक्रम प्रायोजन गरिदिने, पुरस्कार प्रायोजन गरिदिने, सञ्चारमाध्यमलाई विज्ञापन दिने, नेपालीहरुलाई मर्दा पर्दा चन्दा सहयोग दिने पनि काम पनि रेस्टुरेन्टहरुले गरिरहेका छन् । मोन्टिज रेस्टुरेन्टका हरिसिंह थापा भन्छन्, “युकेका नेपालीहरुको मूल आम्दानीको स्रोत नै रेस्टुरेन्ट व्यवसाय हो । अहिले पनि अलि अलि क्यास एण्ड क्यारीहरु आए, अरु आए तर पहिले त रेस्टुरेन्टबाहेक अरु रोजाइ नै थिएन । भदौमा आँखा फुटेको गोरुले हरियो देख्छ भनेजस्तै नै थियो ।”
एसोसिएसनका अध्यक्ष थापा भन्छन्, “डाक्टर, इन्जिनियर आदिले अरु समुदायसित काम गर्ने तर हामी रेस्टुरेन्ट व्यवसायीहरुले नेपाली समुदायका बीचमा धेरै काम गर्ने भएकाले होला हामीलाई समुदायको चिन्ता अलि बढी नै छ ।”
नेपाली परिकारबाट मात्र होइन नेपाली रेस्टुरेन्टले आफ्ना ग्राहकलाई विभिन्न माध्यमबाट नेपाल चिनाउने काम पनि गरिरहेको छ । रेस्टुरेन्ट व्यवसायीहरुको अनुभवमा धेरैजसो ग्राहकहरु नेपालबारे जिज्ञासा राख्छन् । रेस्टुरेन्ट व्यवसायीहरुले नेपालीपन झल्काउने साजसज्जा, भेषभूषा, संगीत आदिका माध्यमबाट पनि नेपाली प्रबद्र्धन गरिरहेका छन् । गुरुङ भन्छन्, “नेपाल र बेलायतको अर्थतन्त्रमा मात्र होइन नेपालको सामाजिक, शैक्षिक र खेल क्षेत्रको विकास लागि पनि हामीले योगदान गरिरहेका छौँ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने त हाम्रो मूल कार्य नै हो ।” एसोसिएसनका अध्यक्ष थापा भन्छन्, “हामीले व्यवसाय मात्र होइन देशका लागि पनि केही गरिरहेका छौँ । यसैमा हामीलाई गर्व छ ।”

slider1

पानस रेष्टुरेन्टको एउटा आइटम

 

स्वाद बस्न बाँकी
बेलायतमा नेपाली रेस्टुरेन्ट व्यवसाय शुरु भएको ४० वर्षमा भए पनि अझै ग्राहकलाई नेपाली स्वाद चिनाउन भने बाँकी नै छ । नेपाली रेस्टुरेन्ट भनेर लेखिए पनि भारतीय, चाइनिज र बंगाली खाना ‘सर्भ’ गर्नुपर्ने व्यावसायिक बाध्यता छ । दालभात र गुन्द्रुकलाई व्यवसायीकरण गर्न अझै बाँकी नै छ । एसोसिएसनका अध्यक्ष थापा भन्छन्, “६० प्रतिशत भारतीय खानालाई पछ्याउनुपर्ने बाध्यता छ ।”
हाउस अफ पार्लियामेन्टमा छोयला ‘सर्भ’ गरेको बताउने स्वर्गीय मानन्धरको बुझाइ थियो – ब्रिटिशहरुलाई अझै नेपाली स्वाद बसाउन सकिएको छैन । अहिलेसम्म शतप्रतिशत नेपाली खाना खुवाउने रेस्टुरेन्ट खुलेको भेऊ नपाएको बताउँदै मानन्धर भन्ने गर्थे, “नेपाली खानाको स्वाद अलग्गै छ भनेर बितेका ३०, ४० वर्षमा बुझाउन सकिएको छैन ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक