शनिबार, असोज १० २०७७ | Sat, September 26, 2020
नेपालको समय: ०६:५६ | UK Time: 02:11

‘रातो’ का लागि बढ्दैछ कालो धन्दा

वीनेपाली
२०७१ पुष १७ गते १५:२२

British passports
लन्डन । पहिलो कथा, बेलायतले सन् २००९ मार्चमा भिसा खुकुलो गरे लगत्तै अध्ययनका लागि लन्डन उत्रिए दिवस कार्की (नाम परिवर्तन) । त्यतिबेला एउटा निजी कलेजमा पढ्न भिसा लागेको थियो । केही समयपछि नेपाली उद्यमीको साउथ इष्ट लन्डनस्थित उक्त कलेज बन्द भयो । घर फर्किऔं दश लाख 
रुपैंया बढि ऋणको बोझ, बसौं कलेज उड्यो । आखिर उनले एउटा जुक्ति निकाले नक्कली (कागजी) बिहे गर्ने र यतै अल्झिने । त्यही बेला ब्रिटिस पासपोर्ट होल्डर एक अधवैंशे नेपाली महिला २५ लाख रुपैंयामा नक्कली बिहे गर्न राजी भइन् । वेम्ब्ली बस्ने ति महिला र विद्यार्थीबीच नजिकैको ब्रेन्ट काउन्सिलमा गएर बिहेको 
‘नाटक’ भयो तर सुटुक्क । ति विद्यार्थीको नेपाल रहेकी सक्कली श्रीमति र 
छोरीले समेत यसको भेऊ पाएनन् । होम अफिसको नियम अनुसार दुवैको ठेगाना एउटै हुनुपर्ने भएकाले नवविवाहित जोडीसंगै बसेर अप्लाई गरे, डिपेन्डेन्ट भिसा पनि आयो । दुई वर्षको प्रतिक्षापछि उच्च शिक्षा लिन बेलायत आएका ति विद्यार्थीसंग अहिले यहींको आवासीय अधिकार (आइएलआर) छ, काम फुलटाइम । नेपालकी श्रीमति र सानी छोरीको त अब मतलव हुने कुरै भएन किनकि उनलाई जसरी हुन्छ बेलायत बस्नु थियो, भिसा हात परिहाल्यो ।

उस्तै उद्देश्यले प्रेरित दोश्रो घट्ना पनि छ । सन् २०१० तिर कन्सल्टेन्सीको सहयोगमा श्रीमान् श्रीमति बनेर बेलायत छिरे जीवन लुईंटेल र कृपा केसी (नाम परिवर्तन) । श्रीमति विद्यार्थी, श्रीमान् फुलटाइम जागिरे । रहंदा बस्दा यो जोडीले बेलायतमै 
‘भविष्य’ खोज्ने निधो गर्यो । बेलायतमा ‘सेटल’ हुन बिहे रुट मात्र छिटो र सहज मानिन्थ्यो । तर, यो बाटो अपनाउन आफ्नो भइरहेको सम्वन्ध विच्छेद जरुरी थियो किनकि भित्र जे जस्तो सम्वन्ध भएपनि कागज हेर्दा उनीहरु असली दम्पत्ति नै थिए । अन्त्यमा सिनेमाको पात्र जस्तो त्यो नक्कली जोडीले योजना मुताविक सम्वन्ध तोडेर आ 
आफ्नो बाटो रोज्ने निधो गर्यो । सम्वन्ध त्यागेर स्वतन्त्र भएपछि केटीले हङकङबाट आएर अल्डरसट यूके बसिरहेका बिएनओ (ब्रिटिश नेशनल ओभरसिज) पासपोर्टवाहक एक भलाद्मीसंग कागजी बिहे गर्ने निर्णय गरिन् । नक्कली बिहे गरेर हुने मनग्गे आम्दानीमै रमाइरहेका ४४ वर्षीय ति पुरुषले पैंतीस लाख रुपैयां मागे, दुवैको समझदारीमा काम अघि बढ्यो । अब केही समयमा बेलायतको ‘रातो’ पासपोर्ट हात लाग्दैछ ।

तेश्रो कथा, नाति नातिनी स्याहार्ने उमेरका ग्रेज बस्ने ६५ वर्षीय एक भूपू लाहुरेले ३० वर्षीया भान्जी पर्ने राई थरकी एक युवतीलाई दश लाख रुपैंयामा काम गरिदिए, कागज बनेपछि ति युवतीले नेपाल गएर अर्को सक्कली नाता जोडि सकिन् । उता, गुल्मी घर भई हाल रइसलिप लन्डन निवासी ५२ वर्षीया एक अधवैंशे महिलाले २८ हाराहारी टेकेको एक विद्यार्थीलाई आफ्नो स्ट्याटस १५ लाख रुपैयांमा बेचेको घट्ना पनि कम रोचक थिएन ।

प्रसंग सुखद दाम्पत्य जीवनको होइन यहां । बरु, बेलायतको आवासीय अधिकार लिन नेपालीहरु लाखौं लाख खर्च गर्न समेत अग्रसर छन् भन्ने प्रधान विषय हो । बेलायत छिरिसकेपछि जसरी जति खर्च गरेर हुन्छ, यतै ‘सेटल’ नभई हुन्न भन्ने मनोरोगले विक्षिप्त हुंदैछन् नेपाली युवा । विशेषगरि, विद्यार्थी भिसामा आउनेहरु यस कर्मप्रति उत्पे्ररित भइरहेका देखिएको छ । ‘नेपाल फर्केर के गर्ने ? जागिर छैन्, अभावै अभाव छ’, भर्खरमात्र कागज बनाएका एक नेपालीको तर्क थियो, ‘बेलायतको हावापानी, 
रहनसहनमा दुई चार वर्ष रमाइसकेपछि नेपाल फर्कने मोह नै हट्यो ।’

बेलायत बस्नकै लागि १५ देखि पैंतीस लाख रुपैयांसम्म तिरेर झुटो विवाह 
गर्ने नेपाली असंख्य छन् यहां । नेपाली नेपालीबीच मात्र होइन, पूर्वी युरोपेली नागरिकसंग पैसामा यस प्रकारको कृतिम सम्वन्ध किन्ने प्रचलन आकासिंदो छ । आवासीय अधिकार नपाइन्जेल पूर्व निर्धारित रकममा बार्गेनिङ भएर मोल अरु बढ्ने त्रास कायमै रहन्छ । ‘अहिले झुटो विवाह धेरैका लागि स्वर्णीम अवसर बनेको छ’, बेलायतका नेपाली सोलिसिटर राजु थापा भन्छन्, ‘पांच वर्षपछि स्थायी आवासीय अधिकार पाउने भएर मानिसहरु लाखौं लाख खर्च गर्न पनि राजी भएका पाइएको छ । तर, यो सबै काम गुपचुपमा गरिने भएकाले कसैले आफ्ना कुरा बताउन चाहंदैन् ।’ थापाले झुटो विवाह र वर्क परमिट मिलाइदिएर मोटो रकम लिने नेपाली समेतको गिरोह सक्रिय रहेको समेत बताए ।

नेपालबाट सिंगल आउने विद्यार्थी त ठिकै छ, भइरहेको लोग्ने स्वास्नीको सम्वन्ध समेत विच्छेद गरेर कागज बनाउनकै लागि दोश्रो तर झुटो विवाह गर्ने पनि छन् । काम बनिसकेपछि पुनः सम्वन्ध स्थापित गर्ने सोच असल दम्पत्तिको भएपनि पांचवर्ष सम्म परिस्थिति अर्कै भइसकेको हुन्छ । किनभने नक्कली नै भएपनि होम अफिसलाई साथै बसेको, हांस खेल, घुमघाम आदि गरेको प्रमाणित गर्नुपर्ने हुंदा नयां जोडिएको कृतिम नातामा नाजायज सम्वन्ध नहुने आधार कमै छ ।

‘देशको राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी, अभाव र सामाजिक संरचनाले युवामा स्वदेश फर्किने चाहना घटेको हुन सक्छ’, समाजसेवी चिकित्सक डा. 
राघवप्रसाद धिताल (ओविइ) भन्छन्, ‘त्यस विपरित बेलायतमा चाहिं भौतिक सुख सुविधा, परिश्रमको कदर र विलासिताले धेरै लोभिन्छन् ।’ डा. धितालको बुझाइमा बेलायत बसेर देश बनेन भन्ने, नेतालाई गाली गर्ने तर आफू यतै पलायन हुने वर्ग पनि अत्यधिक छ । ‘गैर कानुनी तवरले यता बस्नुको सट्टा बरु आफूले सिकेको सिप स्वदेश लैजान सके त्यो उत्तम हुने थियो’, धितालले थपे, ‘युवा शक्ति विदेश पलायन भएर नयां नेपाल बन्दैन ।’

डेली मेलका अनुसार, गत वर्ष बेलायतमा ७ हजार ५ सय विवाह झुटो प्रमाणित भएको थियो । लुकीछिपी हुने धन्दा भएकाले वास्तविकता यो तथ्यांकभन्दा धेरै माथि 
रहेको बताइन्छ । गत वर्ष विवाह दर्ता गर्ने अधिकारीले नै विहे शंकाष्पद लागेर दश महिना अवधिमा एकहजार ८ सय २४ विहेबारे होम अफिसमा रिपोर्ट गरिदिएका 
थिए ।
बेलायत सरकार पनि बढिरहेको झुटो विवाह (साम म्यारिज) प्रति जानकार छ र ऊ यसमा अनुदार बन्दै गएको छ । त्यसको एउटा उदाहरण, यसअघि दुई वर्ष संगै रहेको प्रमाणित गर्न सके आवासीय अधिकार दिइन्थ्यो तर यसको अत्यधिक दुरुपयोगपछि सन् २०१२, जुलाईबाट समयावधि पांच वर्ष पुर्याइएको छ ।
झुटो विवाहलाई फौजदारी अपराध अन्तर्गत नै लिइन्छ यहां । कानुनवीद थापा झुटो विवाह प्रमाणित भएर एकवर्ष भन्दा बढि समय सजाय भोगेमा त्यो व्यक्तिको आवासीय अधिकार खोसिने मात्र होइन, ‘डिपोर्ट’ नै हुन सक्ने बताउंछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक