
लण्डन । गुल्मी लिम्घाका यमबहादुर राना बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफि्टनेण्ट कर्णेल पदमा छानिएका छन् ।
यो पदमा पुग्ने उनी नेपाली मूलका तेस्रो नेपाली हुन् भने सेकेण्ड लेफि्टनेण्ट  (स्याण्डहस्र्ट) कोर्स नगरी यो पदमा पुग्ने पहिलो नेपाली ।
आर्मीको बढुवा समितिले विहीबार बिहान रानालाई सो पदका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
३४ वर्षपछि सो पदमा पुग्न सफल रानाले नयाँ जिम्मेवारीपछि वीनेपालीसित भने, ‘मलाई व्यक्तिगत रुपमा त सफलता महसुस हुने नै भयो । त्यो भन्दा पनि भावी पिँढीका लागि एउटा आँट र हौसला दिन सकेँजस्तो लाग्छ ।’
रानाले प्राथमिक शिक्षा गाउँकै स्कुलमा पूरा गरे । त्यसपछि पाल्पाको तानसेनबाट माध्यमिक शिक्षा । एसएलसीपछि काठमाडौंको महाराजगञ्जमा मेडिकल कलेज पढ्दापढ्दै सन् १९८१ को जनवरीमा उनी सेनामा भर्ती भएका थिए ।
आफूलाई मिलिटरी पृष्ठभूमिबाट आएको भन्न रुचाउने रानाको हजुरबा पहिलो विश्वयुद्ध लडेका थिए । पिता आफैँ थिए दोस्रो विश्वयुद्धका साक्षी । राना भर्ती भएकै साल हजुरबाको निधन भयो । चिकित्सक बन्न लागेका रानालाई लाहुरे बनाउने जोड भने थियो उनकी आमाको ।
२०३६ सालतिर विद्यार्थी आन्दोलनका कारण कलेज बन्द भइरहन्थ्यो । उता आमाको कर थियो ‘भर्ती हुन जा’ भन्ने । “मेरो सोच पनि चिकित्सक बन्ने नै थियो । तर आमाको भनाइ टार्न नसकेपछि ‘एकपटक देखिँदा के फरक पर्ला र’ भनेर गएको भर्ती भइहालियो” रानाले भने ।
भर्ती भएपछि उनी सिग्नलमा परे । उनलाई पनि इन्जिनियर वा सिग्नलमै जान मन थियो । किनकि त्यसमा पढेको धेरथोर काम लाउन सकिन्छ कि भन्ने लोभ थियो । उसाे त इन्फेन्ट्रीमा परे पनि जागिर त्याग्ने सोचाइ उनको थिएन ।
भर्खर जागिर खाएका सिँपाहीलाई करिअरमा कहाँसम्म पुगिन्छ भन्ने के थाहा ?  थाहा थियो त बस भर्ती हुँदा दुई फित्ता लाएका गुरुजीहरु हुन्थे तालिम दिने । उनीहरुलाई देख्दा रानालाई पनि लाग्थ्यो रे, ‘कोपरलसम्म हुन पाए कति ठूलो सफलता हात पर्थ्यो होला ?’
सिग्नलमा राम्रो पढाइ भएकाहरुलाई युकेमा पढ्ने अवसर दिइन्छ । रानाले सन् १९९३-९५ मा बोर्नमाउथ युनिभर्सिटीबाट बीएस्सी अनर्स गरे । त्यसपछि त्यही विश्वविद्यालयबाट मास्टर्स पनि गरे । ‘त्यसले पनि अहिलेको ठाउँमा पुग्नलाई मद्दत गर्यो’ राना भन्छन् ।
आर्मीमा सिँपाहीदेखि क्यारियर शुरु गरेर गोरखाहरु पुगेको सर्वोच्च ओहोदासम्म पुग्न सफल रानालाई अहिले एक मनले लाग्छ असम्भव कुरा नै हात पारियो । अहिलेसम्मको संघर्ष सम्झेर ल्याउँदा अर्कोतिर फेरि लाग्छ, ‘म यो पदका लागि हकदार नै थिएँ नि ?’
हाल एण्डोभरमा रहेको ब्रिगेड अफ गोरखाजको मुख्यालयमा काम गरिरहेका राना बढुवापछि पनि त्यहीँ काम गर्नेछन् । शायद कोठा फरक होला । सम्भवत सन् २०१५ को शुरुवातमा उनले नयाँ कमाण्ड सम्हाल्नेछन् । एउटा बटालिएन उनको मातहतमा रहने छ । त्यसो त सोही साल गोरखा भर्ती शुरुवात भएको दुई शताब्दी पनि पुग्दैछ । “गोरखा भर्तीको दुईसय वर्षको इतिहासमा सिँपाहीबाट जागिर शुरु गरेर ‘बाइ र्यांक’ लेफि्टनेण्ट कर्णेलसम्म पुगेर नयाँ इतिहास शुरुवात भयो” राना भन्छन् ।
गत वर्षदेखि नै उनी बढुवाका लागि प्रतिष्पर्धामा थिए । बढुवाका लागि प्राय दुई वटा मौका मात्र मिल्ने गर्छ । ‘गोरखाहरुका लागि पोष्ट नै छैन तिमीहरुको प्रोफाइल राम्रो भए पनि के गर्ने’ सबैको भनाइ यस्तै रहन्थ्यो । करिब एक वर्ष रिजर्भमा रहेपछि रानाको अन्तिम परीक्षा यही डिसेम्बरको ४ मा भयो । जहाँ उनले अरु गोराहरुसित पनि लड्नुपर्यो ।
अन्ततः उनको कठोर परिश्रमको फल राम्रो निस्कियो । उनले एउटा बढुवा मात्र पाएनन् बरु रचे नयाँ इतिहास ।
हुन त यसभन्दा अघि लालबहादुर पुन र विजय रावत पनि सो पदमा पुगिसकेका थिए तर फरक के थियो भने उनीहरु स्याण्डहस्ट कोर्स गरेर फड्के हान्दै सीधै सेकेण्ड लेफि्टनेण्ट बनेकाहरु । राना चाहिँ ‘स्टेप बाइस्टेप’ एकपछि अर्को पदमा बढुवा भएका ।
हाल एम्सबरीमा दुई छोरी, एक छोरा र श्रीमतीसहित बसोबास गरिरहेका राना भविष्यमा गोरखाहरुका लागि थप उच्च पदमा अवसरहरु सिर्जना हुनुपर्ने आवश्यकता देख्छन् ।
रानालाई हाम्रो पनि बधाई ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य