लन्डन । मृत मुटु प्रत्यारोपणमा सफलताले यतिखेर विश्वभर चर्चा छ डा. कुमुद धितालको । चिकित्सा क्षेत्रमा उनको अद्भूत सफलता पछाडिका नालीबेली अब मिडियामा छरपष्ट भइसके । तर, लामो समय बेलायत रहंदा धिताल सामाजिक संस्थामा समेत सक्रिय थिए भन्ने सन्दर्भ कहीं कतै उच्चारण नहुंदा दुःखी छन् बेलायतवासी नेपाली ।
‘डा. धितालले अध्ययनताका बेलायतमा गरेको सामाजिक काम र आवद्ध संस्था भन्न छुटाइरहनु भएको छ’, धितालसंग लामो समय संगत गरेका लन्डनस्थित पाका व्यवसायी ध्रुव केसी सम्झन्छन्, ‘उहां विद्यार्थी जीवनदेखि नै नेपाल र नेपालीको उत्थान कसरी हुन्छ भनेर चिन्तित भइरहने मान्छे हो । समाजसेवामा धितालको लगाव हामीले सम्झिरहेका छौं तर उहां आफैंले भने यो पाटो बिर्सिए जस्तो छ ।’
डा. धितालले युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था ‘यति नेपाली एसोसिएसन यूके’ को सहसचिव, महासचिव र अध्यक्ष भएर लामो समय काम गरेको केसीले जनाए । धिताल सन् १९८६ मा यति अध्यक्ष हुंदा केसी महासचिव र अघिल्लो कार्यकाल धिताल महासचिव हुंदा केसी सामाजिक सचिव भएर संगै काम गरे । ‘काम गर्न साह्रै सजिलो, मिलनसार र रमाइलो मान्छे’, केसी विगत स्मरण गर्छन्, ‘विद्यार्थी भएर पनि समाज रुपान्तरणमा उहांको त्यो बेलाको लगाव र सक्रियताकै उपज हुनुपर्छ, अहिले उहांले चिकित्सा क्षेत्रमा नयां आयाम थपिदिनु भएको छ ।’
सन् १९८६ ताका संयुक्त राज्य अमेरिकास्थित संघीय राज्य ‘हवाइ’ मा घटेको एउटा काण्ड ब्रिटिश आर्मीमा कहिल्यै नमेटिने घट्ना रह्यो । आफ्नै कम्पनी कमाण्डर मेजर सिजे पियर्सलाई निर्घात कुटेको अभियोगमा फष्ट सेभेन गोर्खा राइफल्स्का एकसय एघार जना सिपाहीहरुलाई वर्खास्त गरिएको त्यो काण्डले आर्मी वृत्तमा हलचल नै ल्याइदिएको थियो । भूपू गोर्खा अहिले पनि त्यो काण्ड सम्झिरहन्छन् । त्यही साल अध्यक्ष भएका धितालले २२ अगष्ट १९८६ मितिमा बेलायती रक्षा मन्त्रालयलाई एउटा पत्र काटेर त्यो वर्खास्तगीको कडा आलोचना गरेका थिए ।
बेलायती रक्षा मन्त्रालयलाई लेखेको पत्रमा डा. धितालले अमेरिकी र अन्य सैनिकहरुका अगाडि गोर्खा सैनिकहरुलाई किन अपमानित हुने गरि रुखो व्यवहार र झगडा निम्त्याइयो भन्ने प्रश्न राख्दै गोर्खाहरुको बचाउ गरेका थिए ।
धितालले बेलायतस्थित नेपाली समुदाय र अन्य सामाजिक काममा ठूलो योगदान गरेकामा यहांका नेपाली कृतज्ञ छन् । ‘उहांलाई हामी बेलायतमा न्यायो स्वागत गर्न लालयित छौं’, यतिका सल्लाहकार समेत रहेका केसीले भने, ‘डा. धिताल विदेशमा रहेर तपाईंले नेपाल र समस्त नेपालीको शिर उंचो बनाइदिनुभएको छ । हामी बाध्यताले विदेशिए पनि नेपाल, नेपाली जनता र आफ्नो कला संस्कृति एवं उत्थानका लागि सधैं समर्पित छौं भन्ने उदाहरण तपाईंको सफलताले प्रमाणित गरेको छ, शुभकामना ।’
डा. धितालपछि यतिको कार्यसमितिमा काम गरेका विजय थापा भन्छन्, “उहांको यतिप्रति धेरै लगाव थियो । मैले अध्ययनका कारण समय दिन सकिनं तपाईहरुले राम्रोसंग चलाउनु होला भनेर हामीलाई भन्नुभएको थियो ।”
सानो उमेरमै डा. धितालले युकेमा रहेका नेपाली र यतिप्रति धेरै योगदान दिएको थापा स्मरण गर्छन् । “उहाँ साह्रै पोजिटिभ सोचाइ भएको मान्छे । प्राय भेटमा संस्थाका बारेमा कुरा गरिरहनुहुन्थ्यो” उनले थपे, ‘अहिले उहाँले असाधारण कार्य गर्नुभएकाले हामीलाई पनि गौरव लागेकाे छ ।’
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता