बेलायती राजदूतद्वारा सफ्टवेयर कम्पनीको उद्घाटन

The British College

काठमाडौं । नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्क सिएमजीले बेलायतका नेपाली व्यवसायीहरुको लगानी रहेको सफ्टवेयर निर्माण कम्पनी ई-वोर्क्स युकेको उदघाटन गरेका छन् ।
ई-वोर्क्स युके कम्पनी नेपालमा सफ्टवेयर निर्माण गरी विदेशमा निर्यात गर्ने उद्देश्यले खोलिएको हो ।
राजदूत स्पार्कले कार्यालय उद्घाटन गर्न पाएकोमा खुशी लागेको बताए । उनले भने, “ई वोर्क्स युके कम्पनीले अन्तर्राष्ट्रिय सफ्टवेयर बजारमा सेवा मात्र दिने छैन, यसले स्थानीयस्तरमा विद्यार्थीहरुलाई व्यावसायिक अनुभव बटुल्ने अवसर पनि मिल्नेछ ।”
थापाथलीस्थित ट्रेड टावरमा रहेको सो कम्पनीमा नेपालमा द ब्रिटिश कलेज स्थापना गरेका कँडेल ग्रुपको लगानी छ । कम्पनीले विभिन्न मागअनुसार सफ्टवेयर निर्माण गरी आउटसोर्सिङ गर्ने बताइएको छ ।
यसैबीच, बेलायती राजदूत स्पार्कले वेष्ट अफ दी इंग्ल्याण्ड विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट गरेकोमा द ब्रिटिश कलेजमा अध्ययनरत कल्पना पन्तलाई सम्मान गरेका थिए ।
कलेजको समेत निरीक्षण गरेका राजदूत स्पार्कले कलेजको भौतिक संरचना लोभलाग्दो र उत्कृष्ट भएको भन्दै प्रंशसा गरे ।
बेलायती राजदूत स्पार्कले द ब्रिटिश कलेजका प्रमुख कार्यकारी निर्देशक राजन कँडेललाई बेलायती मान्यताप्राप्त कलेज नेपालमा ल्याएकोमा धन्यवादसमेत दिएका थिए ।
ई-वोर्क्स युके कम्पनीका प्रबन्धक तथा द ब्रिटिश कलेजका सिइयोसमेत रहेका राजन कँडेलले कार्यालय उद्घाटन गर्न आएकोमा बेलायती राजदुतप्रति आभार प्रकट गरे । उनले भने, “लामो समयदेखि बेलायती राजदुतको निरीक्षण कार्यक्रम पर्खिरहेका थियौं, उहाँले द ब्रिटिश कलेजको समेत निरीक्षण गरेर यसको गुणस्तरमा थप मान्यता प्रदान गरेको आभाष गरेको छु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री