सत्तामा आउन सत्तारुढ दलको मधेशी नेताहरुलाई आग्रह

काठमाडौं। संविधानको अन्तरबस्तुलाई संविधानसभाको पूर्ण वैठकमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा गतिरोध उत्पन्न भएको समयमा सत्तारुढ दलहरुले मधेशी मोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा सोमबार भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशी नेताहरुसँग राष्ट्रिय सरकारमा सहभागी भएर सहमतिको संविधान निर्माणका लागि औपचारिक आग्रह गरेका हुन्। UML-MADHESIMORCHA-CHHALFAL

‘संविधान निर्माण प्रक्रियाबाट सत्तामा बस्ने दलहरुले प्रक्रियाबाट बाहिर राखे भन्ने लाग्छ भने सरकारमा सहभागी भएर सहमतिमा संविधान निर्माण गर्न अध्यक्षले आह्वान गर्नु भएको हो’ मधेशी दलसँगको वार्तामा संलग्न रहेका एमाले संसदीय दलका मुख्य सचेतक अग्नि खरेलले भने, ‘जनतासँग गरेको प्रतिवद्धताअनुसार एक वर्षभित्र संविधान दिने वाचालाई बाहिरै बसेर सहयोग गर्न पनि सकिन्छ। ‘

नेपाली कांग्रेसले पनि एमाले अध्यक्षको अभिव्यक्ति सल्लाहमै आएको भन्दै एक महिनाअघि नै दलहरुको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सबै दललाई समेटेर राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको जनाएको छ।

तर मधेशी दलका नेताहरुले सरकारमा सहभागी हुने विषयलाई पूर्ण रुपमा अस्विकार गरेका छन्। ‘अहिलेको मुख्य विषय संविधान निर्माण हो,’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘संविधान निर्माण नहुञ्जेल हामी कुनै पनि हालतमा सरकारमा जाँदैनौ।’ महतोले एमाले र कांग्रेसका साझा प्रस्ताव सहमतिका लागि बाधक भएको भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरिएको बताए । महतोले बैठकमा नयाँ संविधानका अन्तरबस्तुबारे छलफल भएको बताए ।

संविधानको विषयमा थप छलफलका लागि शुक्रबार पुन बैठक हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री