एनआरएनए आइसीसी अध्यक्ष घले विरुद्ध उभिए जीवा

Jiba

पूर्व अध्यक्ष लामिछाने

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछानेले यूके समिति विवादमा अध्यक्ष शेष घलेको ‘कार्यशैली’ को घुमाउरो पारामा आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले एनसीसी यूकेमा गत वर्ष २९ सेप्टेम्बर २०१३ मा उत्पन्न असहज परिस्थितिमा गरिएको निर्णयलाई अहिले आएर अवैधानिक भन्नु इमान्दारिता नहुने बताउंदै घलेको कार्यशैलीप्रति आक्रोश पोखेका हुन् ।

पूर्व अध्यक्ष लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सल्लाहमा एनआरएनए यूके प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदीले गत वर्ष ‘असाधारण एकता सम्मेलन’ मार्फत दुई चिरा हुन लागेको एनआरएनए यूकेलाई सहमतिमा एकवद्ध गराएका थिए । सो निर्णयलाई वर्तमान अध्यक्ष शेष घलेले अवज्ञा गर्दै विवाद पुनः छानवीन गर्न समिति गठन गरि छानवीन नभएसम्म योगेन क्षेत्रीलाई नै अध्यक्षको भूमिकामा काम गर्न निर्देशन दिइरहंदा लामिछानेले पहिलोपटक सार्वजनिक रुपमा मुख खोलेका हुन् ।

शनिवार आफ्नो टाइमलाइममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूके सन्दर्भ राख्दै लामिछानेले स्टाटसमा भनेका छन्, ‘अफगानिस्तानको राष्टपति पदमा लडेर पराजित भएका अब्दुल्ला अब्दुल्लालाई प्रधानमन्त्री सरहको प्रमुख कार्यकारी अधिकृत पद सृजना गरि त्यहां उत्पन्न राजनैतिक गतिरोध अन्त्य गरिएको थिथो । यस्तो व्यवस्था त्यहांको संविधानले अवश्य गरेको थिएन । सोही प्रकृतिका केही उदाहरणहरु विगतमा हाम्रै देशमा पनि भएकै हुन् । विषम परिस्थितिमा संघ, संस्था, समाज र देश समेत यसैगरि मिलेर नै चल्ने गरेका छन् । एनसीसी यूकेमा गत वर्ष उत्पन्न असहज परिस्थितिमा गरिएको निर्णयलाई अहिले आएर वैधानिक भएन भन्नु इमान्दारिता हुंदैन् ।’

एक एक वर्ष कार्यकाल रहने गरि गरिएको उक्त समझदारीमा अध्यक्ष महेन्द्र कंडेल र तत्कालिन अध्यक्ष योगेन क्षेत्री दुवैले हस्ताक्षर गरेका थिए । हाल कार्यकारी अधिकारीसहित कंडेल अध्यक्ष भएपछि आइसीसी अध्यक्ष घलेले योगेनलाई अध्यक्षकै भूमिकामा काम गर्न पत्राचार गरेलगत्तै विवाद सतहमा छ । हाल बेलायतमा दुवैले आ आफ्नै ढंगले काम गरिरहेका छन् ।

लामिछानेको स्टाटसमा प्रतिक्रिया दिंदै पूर्व प्रवक्ता डा. हेमराज शर्माले एउटा एनसीसीको विषयलाई लिएर केन्द्रिय स्तरको नेताले यसरी सार्वजनिक अभिव्यक्ति दिनुपर्ने अवस्था एनआरएनमा सृजना भएको देखेर म धेरै दुःखी भएको छु भनेका छन् । स्मरणरहोस्, योगेन क्षेत्रीलाई सहमति विपरित अध्यक्ष नछाड्न डा. शर्मा र डमर घलेले उक्साइरहेको धेरैको बुझाइ छ ।

उता, डा. शर्मालाई जवाफ दिंदै एनआरएनए अभियानका एकजना सक्रिय युवा सुवास अधिकारीले केन्द्रिय समितिमा काम गरिसकेकाहरुले आफ्नै कार्यकालमा भएका निर्णय, सहमतिहरु वैधानिक छैनन् भनेर पत्रिकामा डम्फु बजाउंदा कति दुःखी भए होलान् हेमजी लेखेका छन् । कुनै बेला आफूलाई जिवाको निकट बताउने पत्रकार चिरन शर्माले आफ्ना दाई हेमराज शर्माकै समर्थनमा ‘दर्शकदीर्घामा बसेर ढुंगा हान्न भन्दा मैदानमै उत्रिंदा राम्रो होला, बेमौसमी बाजाको अर्थ छैन्’ भन्ने प्रतिक्रिया दिएका छन् । योगेन क्षेत्रीको पक्षमा वकालत गर्ने अर्का पत्रकार धर्मराज अधिकारीले भने एनआरएनए यूके विवाद सतहमा देखिएपनि लडाईं चाहिं माथिकै रहेछ भन्दै हेमराज शर्मालाई समर्थन गरेका छन् । पूर्व अध्यक्ष लामिछानेले अधिकारीको जवाफ दिंदै तपाईंहरु त्यहां मिल्नुस् माथि विवाद हुंदैन् भनेका छन् ।

दुई साता अघि कंडेलले लन्डनको साउथइस्टमा एनआरएनए यूकेको कार्यालय समेत खोलेका छन् जसको प्रा.डा. सुवेदीले उद्घाटन गरेका थिए । सुवेदीले सहमति अनुसार हाल एनआरएनए यूकेको अध्यक्ष कंडेल नै भएको बताउंदै आएका छन् ।

jiwa FB

प्रतिक्रिया

सम्बन्धित सामाग्री