‘चालक निदाउँदा’ कैलालीमा बस दुर्घटना, एघारको मृत्यु

काठमाडौं। डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस कैलालीको सहजपुरमा दुर्घटना हुँदा कम्तीमा एघार जनाको मृत्यु भएको छ।

डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको ना५ख ५४२० नम्बरको बस गएराति भीमदत्त पन्त राजमार्गको सहजपुरमा भासुभिर नजिकै सडकबाट खसेको थियो। Sahajpur

दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक गोविन्दपल्लव भट्टलाई उद्धृत गर्दै राससले जनाएको छ ।

९ जनाको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा दङ्गा प्रहरी गण महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलालीलगायतका प्रहरी अधिकारीको टोली त्यहाँ पुगेको छ। सो दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल र सेवा नर्सिङ होम पुर्याइएको छ ।

यसअघि दसैं मनाएर फर्किदै गरेकाहरु चढेको बस त्यसै क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा ३० भन्दा बढी यात्रीको निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री