सार्क शिखर सम्मेलन शुरु, के के हुन्छ साढे ६ घण्टाको उद्घाटन समारोहमा

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन बुधबार बिहान राजधानीमा भएको छ।  राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान साढे ९ बजे बाट शुरु भएको उद्घाटन समारोह साढे ६ घण्टा चल्ने छ ।Saarc

बैठकलाई आठ वटै सदस्य राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । बैठकको अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले दुईदिने सार्क सम्मेलन सुरु भएको घोषणा गरेका छन्।  त्यसलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ती बालेर सम्मेलन उद्घाटन गरे।

त्यसपछि आयोजक हैसियतमा प्रधानमन्त्री कोइरालाले उद्घाटन तथा स्वागत सम्बोधन गरे। बैठकले त्यसपछि आयोजक नेपालका प्रधानमन्त्रीलाई १८औं सम्मेलनको अध्यक्षमा निर्वाचित गरेको छ। प्रधानमन्त्री कोइरालाले अध्यक्षमा निर्वाचित गरेकोमा सार्क प्रतिनिधिमण्डलका प्रमुखहरूलाई धन्यवाद दिए। योसँगै सार्कका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सम्बोधन सुरु भएको छ।  सबैभन्दा पहिले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सम्बोधन गरे। श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको सम्बोधन गरेका छन्। राजापाक्षेपछि अफगान राष्ट्रपति असरफ घानीले सम्बोधन गरेका छन्।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमशः सम्बोधन गरेका छन्। अन्तिममा माल्दिभ्सका राष्ट्रपति यमिनले सम्बोधन गरे।

राष्ट्र तथा सरकारका प्रमुखको सम्बोधनपछि सार्कका महासचिव अर्जुनबहादुर थापाले सम्बोधन गर्दै छन्। त्यसपछि पर्यवेक्षक प्रतिनिधिले सम्बोधन गर्नेछन्। सार्कका नौ पर्यवेक्षक अस्ट्रेलिया, चीन, युरोपेली संघ, इरान, जापान, दक्षिण कोरिया, मौरिसस, म्यान्मार, संयुक्त राज्य अमेरिकाका प्रतिनिधि काठमाडौं आइसकेका छन्। यसैगरी, बैठकले काउन्सिल अफ मिनिस्टर्सको प्रतिवेदन अंगीकार गर्नेछ। सदस्यराष्ट्रका परराष्ट्र/विदेशमन्त्रीले सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ।

यसपटक दसवटा सम्झौता र समझदारी हुने तयारी छ। सार्क सम्मेलनका अवसरमा हुलाक सेवा विभागले जारी गर्ने हुलाक टिकटमा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रथम टाँचा लाउनेछन्। त्यसलगत्तै २ बजेर ५० मिनेटमा सम्मेलन उद्घाटन समारोह सम्पन्न हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री