
लण्डन । अपांगतासम्बन्धी अन्तर्राष्ट्रिय च्यारिटी मोटिभेसनकी ह्वीलचेयर संयोजक नाताली नेपालका पुनर्स्थापना केन्द्रमा ह्वीलचेयर प्रयोगका बारेमा बुझ्न नेपाल जान्थिन् । यसैक्रममा उनले जान्न पाइन् नेपाल स्पाइनल कर्ड स्पोर्टस् एसोसिएसनका बारेमा ।
स्पाइनल कर्ड इन्जुरी भएकाहरु बेलाबेलामा ह्वीलचेयरमै बास्केटबल प्रतियोगिता आयोजना गर्थे । अभ्यास गर्थे । उनीहरुसित अदम्य उत्साह थियो तर थिएन खेलका लागि सही ह्वीलचेयरहरु ।
युके फर्केपछि नातालीले उनीहरुका लागि केही गर्ने अठोट लिइन् । संयोग पनि जुर्याे अनौठो ।
नातालीको विहे साइमनसित अगष्ट, २०१४ मा हुँदै थियो ।
यसै उत्सवलाई उनले नेपालका स्पाइनल कर्ड इन्जुरी भएका खेलाडीहरुका लागि केही गर्ने अवसरका रुपमा लिइन् । आफन्त र साथीभाइलाई उपहार होइन स्पोर्टस् ह्वीलचेयर किन्नका लागि चन्दा दिन अनुरोध गरिन् ।
साथीभाइ र आफन्तको सहयोग यति ओइरियो कि नाताली र साइमन हर्षले विभोर भए । उनीहरु बढीभन्दा बढी स्पोर्टस् ह्वीलचेयर किन्न चाहान्थे ताकि बढीभन्दा बढी खेलाडीले खेल्ने मौका पाउन सकुन् । नभन्दै १० वटा ह्विलचेयर किन्ने सहयोग जुट्यो । जो दुई टीमका लागि मनग्गे हुन्थ्यो ।
स्पोर्टस् ह्वीलचेयर सामान्य ह्वीलचेयरभन्दा महंगो पर्छ ।
ह्वीलचेयरहरु त तयार भए तर अब पठाउने कसरी ? बुझ्दा पत्ता लाग्यो नेपालसम्म ती ह्वीलचेयर पठाउन करिब १ हजार पाउण्ड ढुवानी खर्च लाग्छ र भन्सार वापत थप १०० पाउण्ड ।
ढुवानी खर्च जुटाउन नसक्दा करिब दुई महिनादेखि ह्वीलचेयरहरु तयार भएर पनि नेपाल पठाउन सकिएको थिएन । उता सार्क क्षेत्रमै पहिलोपटक स्पाइनल इन्जुरी भएकाहरुको सम्मेलन र बास्केटबल प्रतियोगिता बंगलादेशमा नजिकिँदै थियो ।
साइमन र नातालीले ढुवानी सहयोगका लागि निक्कै पहल गरे तर पार लागेन । अन्ततः सो समस्या एनआरएनए युकेसँग पुग्यो ।
गत महिना मात्र कार्यकारी अधिकार लिएका अध्यक्ष महेन्द्र कँडेलले परिस्थितिको गम्भीरतालाई गहिरोसँग बुझे र क्याम्ब्रिज युनिभर्सिटीमा फिजियोथेरापिष्ट रहेका एनआरएनए युकेका सल्लाहकार राजेन्द्र थापालाई सो खर्च जुटाउनका लागि संयोजक तोके । आफैँले ३०० पाउण्ड दिएर सहयोगको शुरुवात गरे । थापाले करिब दुई साताको बीचमा १ हजार १०० पाउण्ड जुटाए ।
“ह्वीलचेयर तयार छ तर नेपाल पठाउन खर्च नभएर अलपत्र परेको छ भन्ने खबर हामीकहाँ आयो । नेपालको टीमले ती ह्वीलचेयर लिएर बंगलादेशमा हुने सार्क स्तरीय प्रतियोगितामा भाग लिन जाने कार्यक्रम थियो । त्यसैले हामीले प्राथमिकता दिएर सहयोग संकलन गर्यौं” कंडेलले भने ।
उता संयोजक थापा पनि जिम्मेवारी पाएको छोटो समयमै ह्वीलचेयर पठाउन पाएकोमा मख्ख छन् । “यो हप्ताभरिमा ती ह्वीलचेयरहरु नेपाल पुग्छन् । खेलाडीहरुले एकहप्ता अभ्यास गर्न पाउँछन् र बंगलादेशमा हुने प्रतियोगितामा त्यही ह्विलचेयर लिएर भाग लिन पाउने छन्” थापाले भने ।
सामान्य ह्वीलचेयर बढी भारी भएकाले बास्केटबल खेल्दा बढी शक्ति लगाउनु पर्ने हुन्छ । एक आपसमा ठोक्किंदा ह्वीलचेयर नष्ट हुने सम्भावना पनि हुन्छ । स्पोर्टस् ह्वीलचेयर नहुंदा नेपाली खेलाडीहरुले तिनै ह्वीलचेयरबाट मुस्किलले काम चलाइरहेका थिए ।
युकेमा आफूहरुका लागि स्पोर्टस् ह्वीलचेयर किनिएको खबर पाएपछि स्पोर्टस् एसोसिएसनका अध्यक्ष आकाश श्रेष्ठले भने, “यो खबरले म मात्र होइन मेरा समस्त खेलाडी साथीहरु खुशी र अचम्भित भएका छौं । नाताली र साइमनलाई धन्यवाद दिन मसित कुनै शब्द नै छैन ।”
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ