सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १०:४६ | UK Time: 06:01

पत्रकारिता माथिको प्रश्न 

वीनेपाली
२०७१ कार्तिक १९ गते १:००

Phadindra Bhattarai

पोहोर साल जाडोमा काठमान्डूको एउटा रेस्टुराँमा खाजा खादै गर्दा अर्को टेबलको भलाकुसारीले मेरो ध्यान आकृष्ट गर्यो  “लौन दाई एसो राम्रो ठाउंमा मिलाइदिनु पर्यो ” एउटा अनुनय  “आफ्नो गृहमन्त्री हुँदा कता हराईस, अहिले अलि गार्हो छ, तै पनि म कोसिश गर्छु “, त्यसको जवाफ  त्यो कुराकानी एउटा अफ ड्युटी पुलिसको जवान  र आफूलाई निकै पहुंचवाला पत्रकार बताउने एकजना अजवनीको थियो  कुराले मेरो ध्यान खिची रहंदा आफूलाई पत्रकार बताइरहने ति महासयले तरल पदार्थको उपभोग बढाउंदै लगे संगै उनी आफू बिजयकुमार गच्छेदारको खास मान्छे भएपनि सबै पार्टीका शिर्ष नेताहरुसंग हिमचिम भएको बताउंदै थिए  कुराकानीको भाषा, प्रस्तुति र कुनै प्रसंगमा व्यवसायिकताको गन्ध समेत नआउने उनको ब्यवहार भने दलालको जस्तो थियो जसले मलाई के निष्कर्षमा पुर्यायो भने उनी लेखन र पत्रकारिता संग साइनो भएका व्यक्ति होइनन्  हिंड्ने बेलामा उनको परिचय र आवद्दता प्रतिको मेरो जिज्ञासा संग संगै मेरो निष्कर्ष सही सावित भयो 

आफ्नै चुनौती र अप्ठ्याराहरुको सामना गर्दै  देश विदेशमा मौलाउदै गरेको नेपाली पत्रकारिताको निष्पक्षता र व्यवसायिकता माथि बेला बखतमा उठने प्रश्न चिन्ह हरुको सवालमा मैले यो माथिको आफ्नो अनुभवको प्रसंग जोड्न चाहेको मात्र हो  लामै समय झुलेर बसेको आफ्नो लेखन अभ्यासलाई पाठकहरुको मायासंगै पुन: ब्युताउंने कोसिस गरिरहंदा आफू वरपरका आफ्नो नजरका गतिविधि कहिलेकाँही संचार माध्यमसम्म पुर्याउने जमर्को गर्ने मलाई यसकै वरिपरि घुमेर केहि कोर्न मन लाग्यो

सूचना जगतमा पत्रकारिताको विकासले समग्र समाज र देशलाई डोर्याउने दिशाको तय निसन्देह गरेको हुन्छ  मेडिया र पत्रकारिताको साइनो जोडेर अनुचित फाइदा उठाउन खोज्नेको जमात पनि हालका दिन उल्लेख्य रुपमा देखिएको छ, जुन समग्र पत्रकारिता जगतको एउटा चुनौती बन्दैछ । सामाजिक संजालको प्रयोग संगै रिपोर्टिंग र लेखनको दायरा पनि फराकिलो हुदै गएको छ  नेपालमा च्याऊ उम्रे सरी पलाएका अनलाईन पोर्टल र ब्लगहरुको बिगबिगीसंगै पत्रकारिताको मूल्य मान्यता र व्यवसायिकता नै गिर्ने गरी समाचार र आलेखहरु प्रकाशित भएका पाइन्छन् 

देश वा विदेश दुबैतिर लेखन र समाचार सम्प्रेषण कुन चराको नाम हो भन्नेहरु पनि पत्रकारिताको खोल ओढेर बस्न चाहनुले यसको गरिमाको दुरुपयोग भइरहेको झल्को दिन्छ  नेपालको परिप्रेक्ष्यमा सबै क्षेत्रमा बढ्दो दलाली र गैर इमान्दारी पनाले व्यवसायिक र श्रमजीवी पत्रकारहरुको संघर्ष र योगदान पनि छायाँमा पर्दै गएको देखिन्छ  अर्कोतिर पत्रकारितामा देखिएको वरिष्ठ र कनिष्ठको वर्गीकरणले पनि श्रमजिवीहरु पाखा लाग्ने अवस्था छ  हुन त पत्रकार तथा लेखकहरुले आफूले पस्किन सक्ने स्तरिय सामाग्रीको निरन्तरताले नै आफ्नो स्तर तय गर्ने हो । नेपालमा सोझो घुमाउरो दुवै बाटोबाट सेलेब्रेटी बनेका उच्च ओहोदाका एकाध मुट्ठी बाहेक अधिकांश पत्रकारहरु यो पेशाले आफ्नो गुजारा गर्न नसकेको अवस्था स्पष्टै छ । जे होस रहर र आवेग संग संगै यो क्षेत्रमा लागेर आफ्नो दैनिक रोजीरोटी चलाउन नसक्दा पत्रकारहरु विदेशिन वाध्य भए संगै शुरु हुन्छ डायस्पोराको नेपाली पत्रकारिता  विदेशमा एकाध बाहेक पत्रकारिताबाट आफ्नो जिविका चलाउने नेपालीहरु कमै छन् । सबैले आफ्नो काम धन्दा गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर सूचना फैलाउने गरेका छन्  यही डायस्पोरिक पत्रकारिता र यस संगको सामाजिक सम्बन्धका चुनौतीको चर्चा तर्फ लागौं 

देशमा जस्तै विदेशमा पत्रकारहरुले झेल्दै आएको ठूलो समस्या भनेकै मान्छेमा रहेको आत्मसम्मान भनौं अथवा इगोको हो  आफ्नो प्रशंसा र गुनगान सुन्दा आनन्दमा  लट्ठीने मान्छेका तिनै कान आलोचना सुन्न साथ उत्तेजित भैइहाल्छन  “कसले लेख्यो मेरो मानहानी हुने त्यो खबर ?” औला पत्रकार तिरै ठडिन्छ  आफूले गरेको अनुचित कार्यतिर कोहि फर्किनै चाहन्न तर मेडियाको मेमोरी कार्डबाट भने त्यसलाई  सधैका लागि मेटाउन चाहन्छ । प्रसंग मानहानीको उठछ,पख्लासका साथसाथै  मुद्दा मामिलाका धम्कीयुक्त पत्र समेत हात पर्ने सम्भावना रहन्छ  नाम र दाम दुवै खोज्ने पहिलो पुस्ताको महत्वाकांक्षी बसाईसंगै बिदेशमा रहेका नेपालीहरुमा पनि यो समस्या यदाकदा देखिने गरेको छ 

समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गर्नु सूचना क्षेत्रको कर्तव्य हो । एउटा कोणबाट मात्र समाचार लेखेर मित्रकारिता गर्ने हो भने पंचायतकालमा जस्तो आज श्रीपाँचको सवारी यता भयो, भोलि उता भयो भनेर लेखे फुके  जस्तै बन्न जानेछ  ओझेलमा परेका कुराहरुलाई सतहमा ल्याउनु पनि खोजमुलक पत्रकारिताको एउटा अर्को पाटो हो  यसो गर्दा समाजमा कोही चिढिने बातावरण त अवश्य हुन्छ नै अनि निशाना बन्छ पत्रकार

नेपालदेखिको आफ्नो पुरानो पेशालाई विदेशमा समाजसेवाको रुपमा अंगालेर काममा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको पुरस्कार आफ्नै समाजका अगुवाहरुबाट तारो बनेर पर्गेलिनु दुर्भाग्यपूर्ण छ  नेपाली पत्रकारहरुलाई विदेशबाटै उठिवास लगाउने सम्मका तल्लो स्तरका कमेन्टहरु पनि बेला बखत नसुनिने होइनन । अर्कोतिर प्रजातन्त्र र कानुनको जननी भनिने ठाउंमा बसेर कानुनी प्रश्न उठाउनेले सूचनाको हक सम्बन्धि कुरालाई भने चट्टक्कै बिर्सी  राखेको हुन्छ  यतातिर हुने नेपाली कार्यक्रमहरुमा समाचार संकलनको लागि पुग्ने पत्रकारहरुलाई असम्मानपूर्ण दुर्व्यवहार समेत भएका घटनाहरु पनि यदाकदा नभएका होइनन् 

यसो भनिरहंदा पत्रकारितामा देखिने विकृतिलाई उल्लेख नगरे आलेख एकतर्फी र अपुरो बन्ने हुन्छ  पत्रकारिता समाचारबाट निर्देशित हुनुपर्छ भने आलेखहरु बिचार र दृष्टिकोणबाट निर्देशित । कुनै लेखमा लेखकले आफ्नो बिचार मजाले तेर्स्याउन पाउंछ जुन कुरा रिपोर्टिङ्गमा लागु नहुन सक्छ  यो मान्यता भुलेर गरिएको पत्रकारिता अपुरो र एक पक्षीय हुन जान्छ जसले समाजमा द्वन्द निम्त्याउंछ । अर्कोतिर सामाजिक दायित्व बोकेको पत्रकारिताले मात्र समाज र देश रुपान्तरणमा भूमिका खेलेको हुन्छ  सम्प्रेषित सामाग्री कत्तिको संवेदनशील छ र यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो भूमिका खेल्ला भन्ने कुराको हेक्का पनि यो क्षेत्रमा कार्यरतहरुमा रहनु अनिवार्य छ  पत्रकारिता भनेको भुसमा आगो सल्काउने काम होइन, सल्केको आगो निभाउने काम पनि यसले गर्नुपर्दछ  सामाजिक दायित्व र जिम्मेवारी सहितको पत्रकारिताले मात्र सुधारोन्मुख सामाजिक परिवर्तनमा सकारात्मक भूमिका खेल्न सक्छ । वृहत्तर समाज हितको लागि सामाजिक व्यक्तित्व र सूचना जगत दुबैले आ-आफ्ना कमजोरीहरुलाई सुधार्दै लानु आजको आवस्यकता हो 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक