सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १६:४६ | UK Time: 12:01

इयूबाट नअलग्गिनुमै हित छ ब्रिटेनलाई

वीनेपाली
२०७१ कार्तिक १८ गते २१:५३
eu-uk

तस्वीर : एजेन्सी

झण्डै साढे छ दशक पहिले कोइला र फलामको व्यापार गर्ने नाममा जन्म लिएको युरोपियन युनियनको यात्रा अहिलेसम्म आइपुग्दा २८ मुलुकहरु यसको सदस्य राष्ट्र हुन पुगेका छन् । यी २८ युरोपियन युनियन राष्ट्रहरुमा बसोबास गर्नेहरुको संख्या साढे पचास करोड रहेको छ भने यसले विश्वको एक चौथाइभन्दा बढि अर्थतन्त्र ओगटेको छ ।
विशुद्ध व्यापारिक संस्थाका रुपमा सन् १९५० मा परिकल्पना गरिएको यो संस्थाको कोइला र फलाम व्यापारका निम्ति युरोपियन संयुक्त संस्था भनी नामाकरण गरिएको थियो । यो कोइला र फलामको व्यापार गर्ने भनिएको युरोपियन संस्थालाई फ्रान्सको राजधानी पेरिसमा सन् १९५१ को अप्रिल महिनामा वैधानिकता दिइयो । त्यतिखेर जम्मा चार मुलुक जर्मनी, इटली, फ्रान्स र निदरलैण्ड थिए । यसले गठन भएको दुई दशकसम्म एक वयापारिक संस्थाका रुपमै व्यापार गर्दै आयो । यो व्यापारिक संस्थामा सन् १९७३ मा संयुक्त अधिराज्य बेलायत, डेनमार्क र आयरलैण्डले प्रवेश गरे । यसपछि भने यो संस्थाले बिस्तारै व्यापार मात्र होइन, राजनीति पनि गर्न थाल्यो ।
विश्वको राजनीतिक पर्दामा संयुक्त राज्य अमेरिका र सोभियत संघ बीच शीतयुद्ध मञ्चन भइरहेको थियो । अर्थात अर्को शब्दमा संसाररुपी घना जंगलमा दुई सिंह डुक्रिरहेका थिए । त्यही बीच युरोपियन युनियनका नाममा तेस्रो सिंहले जन्म लिने प्रयासस्वरुप युरोपियन युनियनले आफ्नो संसद गठन गर्न पुग्यो र सन् १९७९ मा युरोपियन युनियनको पहिलो संसदीय निर्वाचन सम्पन्न भयो । आफ्नो प्रवेशकालदेखि नै बेलायतले युरोपियन युनियनसंग बेलाबेलामा असहमति जनाउंदै आइरहेको छ । र अहिले बेलायतले युरोपियन युनियनलाई महंगो शुल्क बुझाउनु पर्ने भएकाले बेलायतले युरोपियन युनियनबाट बाहिर निस्कने धम्की दिएको छ तथापि यो धम्की पहिलो भने होइन ।
सन् २०१० सालको निर्वाचन पहिले र पछि पनि बेलायतले युरोपियन युनियनबाट बाहिरिने धम्की बेला बेलामा दिदै आएको छ । युनियनको राष्ट्रपति पदमा जीन ल्काउडेको समर्थन नगर्नु पनि यसको एउटा भाग रहेको चर्चा राजनीतिक वृत्तमा छ । यद्यपि जीन ल्काउडे कन्जरभेटिभ राजनीतिज्ञ हुन् । युरोपियन युनियनलाई पनि के थाहा छ भने बेलायत बाहिर निस्किनु भनेको २८ भागको एक भाग निस्किनु नभइ युरोपियन युनियनको एउटा महत्वपूर्ण भाग बाहिरिनु हो । तथापि युरोपियन युनियन बेलायत बिना टिक्न सक्ला तर बेलायत भने युरोपबाट अलग्निे छ र युरोपियन युनियनबाट अलग्गिने मात्र नभएर बेलायतलाई राजनैतिक, आर्थिक र सामाजिक मान्यता र संस्कारका कारण पनि नोक्सानी हुनेछ । यी कुराहरु दिनको घाम जत्तिकै छर्लंग हुंदाहुंदै पनि बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले किन युरोपियन युनियनबाट बाहिर निस्कने कुरालाई जोड दिइरहेका छन् त ? बेलायती राजनीतिलाई नियालेर हेर्याे भने यसको उत्तर भेटाउन कुनै गाह्रो पर्ने छैन् । डेबिड क्यामरुन यदि युरोपियन युनियनको विरोधमा सशक्त भएर उत्रन सके भने आन्तरिक राजनीतिमा उनी बलियो बन्ने छन् । अहिले उनी उनको बजेट बचाउ र ऋण घटाउ योजनाका कारण अप्रिय भैरहेको बेला युरोपियन युनियनको विरोध गरेर बेलायती एकाधिकारी एवं महत्वाकांक्षी मनोविज्ञानलाई बुझ्ने उनको प्रयास हो । युरोपियन युनियनको अवस्था जस्तोसुकै र जेसुकै होस् उनका लागि कुनै खास सरोकारको विषय रहेन तर आफू प्रधानमन्त्री पदमा आसिन भइरहने वा सन् २०१५ मा हुने बेलायतको आम निर्वाचनमा विजयी हुने वातावरण तयार पार्नु उनका लागि महत्वपूर्ण विषय बनेको छ । त्यसैले युरोपियन युनियनको विरोधमा उत्रनु यसैको एउटा रणनीति पनि हो । यसबाहेक उनी आफ्नै टोरी पार्टीका युरोपियन युनियन विरोधी ब्याकबेन्चर झण्डै १०० सांसद सदस्यहरुको बन्दी बनेका छन् । साथै उनको आफ्नै उग्र दक्षिणपन्थी झुकावका कारण विगत छ महिनाअघि सम्पन्न युरोपियन युनियनको निर्वाचनमा अनायास सबैभन्दा धेरै भोट ल्याउन सफल युनाइटेड किंगडम इन्डिपेन्डेन्ट पार्टी (यूकिप) बाट पनि उनी बन्दी बनेका छन् । सयौंको संख्यामा कन्जरभेटिभ पार्टी सदस्यहरु युरोपियन युनियन विरोधी पार्टी यूकिपमा पोइल जानु र हजारौं मतदाता त्यतै ढल्किनु पनि उनको अर्को बाध्यता हो ।
कहिल्यै हार्न नचाहने डेबिड क्यामरुनले युरोपियन युनियनको सवालमा हार्ने पक्क हुंदाहुंदै पनि उनले आफ्नो अडान छोडेनन् । यदि उनले अझै पनि युरोपियन कमिशनका राष्ट्रपति जीन ल्काउडेको विरोधमा र बेलायतलाई लगाइएको फि झण्डै एकहजार सातसय मिलियन पाउण्डको सवालमा विवाद अगाडि बढाइरहे भने उनी युरोपियन युनियन भित्र निकै कमजोर बन्नेछन् । यद्यपि उनको झुकाव अति दक्षिणपन्थी भएपनि उनी खुलेर यूकिप वा फ्रेञ्च नेशनल जस्ता उग्र दक्षिणपन्थीहरुको जमातमा मिसिन जान सक्ने छैनन् भन्ने कुरा पनि उनलाई थाहा छ । तर पनि उनका लागि २०१५ सालमा हुने बेलायती आमनिर्वाचन बढि महत्वपूर्ण रहेको छ । यदि उनको पार्टी बेलायतको आम निर्वाचनमा कमजोर भयो भने उनका दुवै पद (प्रधानमन्त्री र पार्टी नेता) गुम्नेछन् र उनी सत्ता र शक्तिविहीन हुनेछन् ।
डेबिड क्यामरुनले सन् २०१३ को अन्ततिर ब्रसेल्स्मा पूर्वी युरोपबाट धेरै कामदारहरु बेलायत आएर रोजगारी भेट्टाएकाले बेलायतको अर्थतन्त्रमा समेत टेवा पुर्याएको तर्क गरेका थिए । त्यति बेला पोलैण्डका प्रधानमन्त्रीले बेलायतसंग मैत्रीभाव कायम गरेका थिए । उक्त भाषण पछि बेलायतका छापाहरु घुंडा धसेर डेबिड क्यामरुनको विरोधमा उत्रिए । जस्तै डेली टेलीग्राफ, टाइम्स, डेली मेल र यहाँसम्मकि बीबीसीले समेत उनको विरोधमा उत्रिए । सञ्चार साधनबाट आएको यो विरोधको सामना उनले गर्न सकेनन् र उनी एकसय अस्सी डिग्रीमा परिवर्तन भए ।
यता जर्मनी, बेल्जियम, निदरलैण्डहरुको भने कतै युरोपियन युनियनका अन्य मुलुकहरुबाट अन्य खालका दबाब आउने त हैनन् भन्ने डर पसेको छ । किनभने सुरु सुरुमा इटाली र फ्रान्स्बाट यदि जीन ल्काउडेलाई युरोपियन युनियनको कमिसार पे्रसिडेन्टको प्रस्तावलाई समर्थन गर्ने हो भने हामीले राष्ट्रिय बजेटका निम्ति अरु बढि ऋण लिन पाउनु पर्छ भनी माग गरेका थिए । उनीहरुको यस प्रकारको माग र दबाबका बाबजुद पनि जीन ल्काउडे युरोपियन युनियनको कमिसार पे्रसिडेन्ट पदको सपथ गरे । किनभने युरोपियन युनियनले आफू भित्रका २८ मुलुकहरुले आफ्नो सम्पूर्ण आन्तरिक बजेटको एक निश्चित प्रतिशत मात्र ऋण लिन पाउने व्यवस्था छ ।
यस हिसाबले हेर्दा युरोपियन युनियन भविष्यमा बलियो हुनुको बदला कमजोर हुदै जाने संकेत देखिएको छ । किनभने दक्षिणी युरोपियन मुलुकहरुले अरु बढि ऋण लिन पाउने र बलिया मुलुकहरुलाई खुरुखुरु धम्की आइरहने परम्पराको विकास हुने प्रष्ट छ । इटलीको सिचिलियनबाट फ्रान्सको नर्मान्दी र स्पेनको आन्दोराबाट पोर्तुगलको लिसबोनसम्मका युवा युवतीहरुले रोजगार पाउन सकिरहेका छैनन् । उनीहरु आफूले स्कूल वा विश्वविद्यालयबाट प्राप्त गरेको प्रमाणपत्र झोलामा बोकेर यत्रतत्र भौंतारिरहेका छन् । फ्रान्समा झण्डै २५ प्रतिशत र इटलीमा झण्डै ४३ प्रतिशत युवा युवती बेरोजगार छन् । पोर्तुगल र स्पेनको अवस्था योभन्दा पनि नाजुक छ । युरोपियन युनियनका लागि फ्रान्स, इटली, स्पेन र पोर्तुगलमा देखा परेको यो अवस्था एक सामाजिक सुनामी हो ।
युरोपियन युनियनको अलिखित कानुन अनुसार यसका सदस्य मुलुकहरु कुनै पनि हालतमा एक्लिनु हुदैन्, तर यसपालि फेरि युरोपको एउटा छुट्टै समुन्द्रको बीचमा रहेको टापु आफैं एक्लिने निर्णयमा पुगेको छ । सायद बेलायती टापुलाई अमेरिकी दवाव परेको हो कि भन्नेबारे एउटा अर्कै तर्क गर्ने ठाउँ नभएको होइन् । तर, अहिले बेलायतमा देखिएको राजनैतिक विकासले यसको पुष्टि गर्दैन् । यस हिसाबले राजनीतिक जोड घटाउ गर्ने हो भने डेबिड क्यामरुनले एउटा महत्वपूर्ण मौका गुमाएका छन् । जहाँ उनले युरोपियन युनियनको नेतृत्वको टुप्पोमै छामेर सम्झौता मार्फत परिस्थितिलाई अर्कै ढंगले समाधान गर्न वा आफ्ना मागहरु पूरा गराउन सक्थे तब मात्र उनी टोरीका ब्याकबेन्चर र यूकिपको बन्दीबाट मुक्त हुन सक्थे । तर दुर्भाग्य युकिप र टोरीकै दक्षिणी धार बोकेका लगभग १०० ब्याकबेन्चर संसदहरुले बेलायती मेडियाहरु टाइम्स्, डेली टेलिग्राफ र डेली मेल अनि बीबीसीलाई डेबिड क्यामरुनका विरुद्ध प्रयोग गरे र उनलाई यसो नगरेमा उनले दुवै पदबाट हातधुनु पर्ने धम्की दिए । अर्कोतिर आफ्नो सत्ता साझेदारी पार्टी प्रो युरोपियन युनियन मानिने लिब्डेमले निर्वाचनमा गरेका वाचाहरु सत्तामा पुगेपछि पूरा नगरेको मात्र नभै आफ्नो वचनवद्धताको विरुद्ध काम गरेको बेलायती जनताको बुझाइ छ । तर, लिवडेमले बेलायती जनतालाई लिब्डेमलाई यो अवस्थामा पुर्याउने काममा पनि डेबिड क्यामरुनको दक्षिणपन्थी झुकाव जिम्मेवार छ भन्ने कुरा बुझाउन सकिरहेको छैन् । हो, बेलायती युवा समुदाय जजसले लिब्डेमलाई भोट दिए, उनीहरुको भनाइअनुसार यदि डेबिड क्यामरुनले आफ्ना वचनवद्धता विरुद्ध काम गर्न बाध्य पार्छन् भने किन सत्तामा बसिरहनु ? सरसर्ती हेर्दा प्रश्न जायज लाग्छ तर लिब्डेमको तर्क भने यदि लिब्डेम सत्ताबाट बाहिरियो भने राजनीतिक परिदृश्य अर्कै देखिने छ । त्यो के भने यदि लिब्डेमले सरकारबाट राजीनामा दियो भने डेबिड क्यामरुनले अल्पमतको सरकार चलाउने छन् र समग्र बेलायतलाई अझ दक्षिणपन्थी धारतर्फ धकेल्ने छन् ।

शशी पौडेलका अन्य विचारहरु www.theglobal.co.uk मा पढ्न सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक