शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १६:४४ | UK Time: 11:59

होशियार, ठगको मोहनी बोलीले फसाउला ?

वीनेपाली
२०७१ कार्तिक १३ गते १९:४५
nkhapangi

स्केच : काश राना

मोहनी लगाउला जस्तो मीठो कुरा गरेर गोप्य सूचना हात पारी ठगी गर्ने गिरोहको नजर केही समययता युकेको नेपाली समाजमा पनि पर्न थालेको छ ।

यस्तो आपराधिक कार्य युके र समग्र विश्वमै कुनै नौलो होइन । तर, नेपाली भाषामै महभन्दा गुलियो बोली बनाइ, आगो छेऊको नौनीजस्तो गरी सम्बन्धित व्यक्तिलाई पगाल्दै गोप्य व्यक्तिगत सूचना थुत्न सफल भएको केही दृष्टान्तहरु हालैका दिनमा भेटिन थालेका छन् ।
दुई साताअघि २५ हजार पाउण्ड ठगी गरेको अभियोगमा पूर्व गोरखा सदीप गुरुङलाई नर्थह्याम्पटन मेजिस्ट्रेट कोर्टमा उभ्याइएपछि विगत केही वर्षदेखि नेपालीहरुलाई ठग्न नेपाली नै लाग्न थालेको प्रमाणित हुन पुगेको छ ।
ठगी गर्ने गिरोहसित सम्वद्ध त्यस्ता व्यक्तिले पहिले कुनै पनि माध्यमबाट कसैको जन्म मिति, बैंक खाता नम्बर, पासपोर्टको फोटोकपी, युटिलिटी बिलहरु, न्याशनल इन्स्योरेन्स नम्बर, बैँक स्टेटमेण्ट, डेभिड कार्ड, क्रेडिट कार्ड, भिसा कार्ड नम्बर जस्ता गोप्य कागजात हात पार्छन् । त्यसपछि त्यस्तो कागजात भेटिएको व्यक्तिलाई फोन गरी अस्वाभाविक मूल्यमा विभिन्न सामान तथा प्याकेजहरु किन्न अफर गर्दछन् ।
ठगको चिप्लो कुराको विश्वासमा परी सजिलै त्यस्ता प्याकेजहरु किन्ने त पहिलो नम्बरमै भुक्तमानको पंक्तिमा पर्ने भइगए । प्याकेज किन्न हिचकिचाउने, नाइनास्ती र आलटाल गर्नेहरुलाई विभिन्न डर, धाकधम्की दिन ठगहरु पछि पर्दैनन् ।

फसायो मोहनी बोलीले
यसरी नेपालीमै कुरा गर्ने ठगको मोहनी जालमा परेर पुख्र्यौली घर लमजुङ भई हाल युकेमा बस्दै आएका तीन पूर्व गोरखा सैनिक ठगिएका छन् । सो घटनापछि जिल्लाबासीलाई सजग पार्न पठाइएको इमेलमा लमजुङ समाजका बोहत गुरुङ लेख्छन्, “सबैका लागि महत्वपूर्ण सूचना । तपाईको गोप्य सूचनाहरु चोर्नका लागि कोही लागिपरिरहेको छ । कृपया कुनै पनि हालतमा नदिनु होला । तपाईलाई इमेल अथवा फोनबाट मोहनी लगाउला जस्तो बोलीले भुतुक्कै बनाउछ र तपाईको सूचनाहरु लैजान्छ । ऊ नेपाली हो । नेपाली राम्रोसँग बोल्छ । फोन गर्नअघि तपाईको बारेमा सबै कुरा बटुलेको हुन्छ ।”
पीडितहरुको नाम उल्लेख नगरीकन गुरुङ अघि लेख्छन्, “यो हप्ता मात्र तीन जना पूर्व गोरखा सैनिक लमजुङेहरुलाई त्यस्तो ठगले फसायो । थाहा नभएको घटना त कति छन् कति ? कृपया तपाईको बैाक खाता, जन्म मिति, लालबुक, ड्राइभिङ लाइसेन्स, पैसा, सुन र ठेगाना खुल्ने कागजात (प्रुफ अफ अड्रेस) जोसुकैलाई नदिनु होला ।”

सजिलै नपाए धाकधम्की
चार वर्षदेखि युकेमा बस्दै आएकी उमा राना हत्पति किनमेल गर्न बाहिर निस्किँदिनन् । किनमेलको पूरै जिम्मा श्रीमानलाई । अनलाइन किनमेल त उनको लागि कल्पनाभन्दा बाहिरकै कुरा । घुँडा दुख्ने समस्याका कारण घरबाहिर धेरै नजाने उनलाई केही महिना पहिले एकजना अपरिचित नेपालीले फोन गर्‍यो । बिरानो मुलुकमा दिदी भनेर मायालु शैलीमा सम्बोधन गर्‍यो । मधुर बोलीले लठ्ठ बनायो । सस्तोमा चारजनाको लागि होलिडे प्याकेज दिने भनेर फकायो । भिसा कार्ड नम्बर माग्यो । यस्तो ठगीको बारेमा थाहा नपाएकी उनले नम्बर पनि सजिलै दिइन् तर केही महिनापछि छोरो नेपालबाट आउदै गरेकोले ‘अहिले होइन भाइ, केही महिनापछि’ भनेर कुरा टुङ्ग्याइन् ।
नेपालीमा बोल्ने ठग अब केही महिनापछि ठग्न पाइने भो भनेर ढुक्कै भयो । नभन्दै ठगले फेरि फोन गर्‍यो । ‘कार्ड नम्बर पुरानै हो कि होइन ? एकचोटी भन्नुस त’ भनेर ठगले सोधेपछि उनी कार्ड खोज्दै थिइन् । त्यतिबेला नेपालबाट भर्खरै आएको छोराले फोनकर्तामाथि शंका लागि आमाको फोन खोसेर बोल्न थाले । छोरा प्रकाश राना घटनाको बेली बिस्तार लगाउँदै भन्छन्, “मैले पहिले तपाईको होलिडे प्याकेज कुन वेभसाइटमा छ ? त्यो वेभसाइटमा कार्ड नम्बर दिन सुरक्षित छ कि छैन हेर्छु अनि मात्र कार्ड नम्बर दिन्छु भनेँ । साँच्चैको युकेमा होलिडे प्याकेज बेच्ने कम्पनीको वेभसाइट नहुने कुरै हुँदैन । ठगी गर्नेहरुले वेभसाइट दिनसक्ने कुरै भएन । अनि त ‘तपाई यस्तो तालले कसरी युकेमा बस्नु हुँदो रै’छ’, ‘तपाईलाई युके बस्न मन छ कि छैन’ भनेर धम्क्याउन पो थाल्यो । मैले पनि ‘ब्रिटिश गभर्मेन्टसित पटकपटक मुद्दा लडेर युके आएको मान्छे हुँ म । तपाईसित लड्नु परे पनि मलाई केही छैन । मुद्दा लड्दा लड्दा वकिलहरु पनि साथी भैसकेका छन्’ भनेर उल्टै उसैलाई धम्क्याइदिएँ ।”
राना अगाडि थप्छन् “नेपालीमा बोले पनि उसको टोन खाँटी नेपालीको जस्तो चाहिँ थिएन । फकाउन सके फकाएर नभए थर्काएर पनि ठग्ने उसको दाउ रहेछ । मैले त ठाडै प्रतिवाद गर्न सकेँ । बोल्न नसक्नेलाई त थर्काएरै कति ठगी गरिसक्यो होला ?”

एटीम पनि असुरक्षित ?
त्यसो त बैँक कार्डको डिटेल चोरेर आफू पुग्दै नपुगेको मुलुकमा किनमेल गरी खाताबाट पैसा रित्याउने घटना नेपालीमाझ नौलो होइन । यस्तो घटनाबाट पुराना पुस्ताका पेन्सनर पूर्व गोरखा सैनिक मात्र होइन युवापुस्ता पनि दिनहु ठगिने गरिरहेकै छन् ।

पूर्व गोरखा सैनिकहरुसित काम गरिरहेका मद्दत समूहका क्याप्टेन हरिबहादुर थापामगर भन्छन्, “केही समयअघि हाम्रो पाल्पाकै ज्योति रानामगरको खाताबाट अमेरिकामा कसैले तीनसय पाउण्डको ‘सपिङ’ गरिदिएछन् । पैसा कहा गयो भनेर खोज्दै बैँकमा जाँदा त्यस्तो पो पत्ता लाग्यो ।”
राना मगरभन्दा पछिल्लो पुस्ताका पूर्व गोरखा सैनिक प्रेम गुरुङ पनि त्यस्तो ठगीबाट पीडित व्यक्तिमा पर्छन् । ठगीको कहानी उनी यसरी भन्छन्, “म प्राय दिनहुँ इन्टरनेट बैँकिङबाट ब्यालेन्स चेक गर्ने गर्थेँ । एकदिन यसरी नै चेक गर्दा त ९०० पाउण्ड झिकिएको पाएँ । हतारिएर तुरुन्तै बैँकमा जाँदा त मेरो खाताबाट पोर्चुगलमा सपिङ गरिएको रहेछ । जे होस् बैँकले एउटा फाराम भरेपछि मेरो पैसा रिफण्ड गरिदियो । एक/दुई दिन ब्यालेन्स चेक नगरेको भए त मेरो सबै पैसा स्वाहा नै पारिदिने रहेछ ।”
त्यस्तो घटनापछि बैँकले कार्ड फेरिदिएको गुरुङ बताउँछन् । यसअघि मार्क एण्ड स्पेन्सर्स, डेबेनहाम जस्ता प्रतिष्ठित व्यापारिक प्रतिष्ठानबाट अनलाइन किनमेल गर्दा मात्र बैँक कार्ड हानेको गुरुङको भनाइ छ । आफू युकेमा हुँदाहुँदै कसरी पोर्चुगलबाट पैसा निकालियो भन्ने उनलाई पनि रहस्यमय लागेछ । बैँकमा पनि सोधेछन्, ‘यस्तो कसरी सम्भव छ ?’ बैँक कर्मचारीहरुको भनाइ उद्धृत गर्दै उनले भने, “त्यस्ता ठगहरुले बैँकको एटीएम मेसिन भएको ठाउँमा सानो क्यामेरा जडान गरेर त्यसैबाट डिटेलहरु खिचेर लैजाने गर्दारहेछन् ।”

ठगी नियन्त्रण शाखाबाट बोलेको बहाना
युकेमा कार्डबाट ठगी गर्ने अर्को प्रचलित तरिका हो फोन गरेर म फलानो बैँकको ठगी नियन्त्रण विभागबाट बोलेको भन्ने । केही समयअघि वेम्ली मगर संघले आफ्ना सदस्यहरुलाई ठगी गर्ने सो तरिकाका बारेमा सावधान रहन इमेल पठाएको छ । सो इमेलमा ठगी गर्ने तरिका उल्लेख गर्दै भनिएको छ, “फोन गर्ने व्यक्तिले म फलानो बैँकको ठगी नियन्त्रण शाखाबाट बोलेको । तपाईको कार्डबाट गैरकानुनीरुपमा किनमेल गर्न खोजेको संकेत पाइएकोले निश्चित गर्न फोन गरेको भन्छ । भर्खरै फलानो ठाउँमा तपाईले केही किनेको थियो भनेर सोध्छ । तपाईले छैन भनेपछि यदि तपाईले हामीले सोधेको जवाफ दिएमा सो पैसा रिफण्ड गरिदिने आश्वासन दिन्छ । साथै विश्वस्त पार्न तपाईको केही जिज्ञासा छ भने नम्बर दिादै फलानो नम्बरमा फोन गर वा कार्डको पछाडिपट्टि लेखिएको नम्बरमा फोन गर्नु पनि भन्छ ।”
प्राय मानिसहरु बैँककै ठगी नियन्त्रण शाखाबाट फोन आएको भनेपछि विश्वास मान्छन् र उसले सोधेको प्रश्नको जवाफ दिँदै जान्छन् । ठगी गर्ने व्यक्तिले “कार्ड तपाईसित छ छैन पुष्टि गर्नु पर्‍यो भनेर कार्डको पछाडिपट्टकिो सेक्युरिटी कोडसहितको सात वटा नम्बर पढ्न लगाउछ । तपाईलाई सात अंशमध्ये अन्तिम तीनवटा पुनः पढ्न लगाउँछ र तपाईसित कार्ड रहेको पुष्टि भयो धन्यवाद” भन्छ । यतिञ्जेलसम्ममा तपाईको खाताबाट उसले कति पाउण्ड चप्काइसकेको हुन्छ ।

के खोज्छन् ठगहरु ?
कार्डबाट हुने ठगीको हिस्सा युकेमा वार्षिक ३० मिलियन पाउण्ड छ भने विश्वभर ३ ट्रिलियन पाउण्डभन्दा बढी । यस्तो धन्धा हुने पाँचौँ ठूलो मुलुकमा युके पर्दछ । ठगी धन्धामा सक्रियहरु भन्छन्, “जागिर गर्दा पैसा पाउन हप्ता वा महिना कुरिरहनु पर्छ तर ठगी गर्दा दिन्दिनै मालामाल ।”
यस्तो धन्धामा संलग्नहरु प्राय युवाहरु हुन्छन् । ग्याङ बनाउनु, हिंसा फैलाउनुभन्दा ठगीलाई उनीहरु शान्त र आफ्नो दिमागको प्रयोग गर्ने क्षेत्रका रुपमा उनीहरु लिन्छन् । प्राविधिक त्रुटीको फाइदा उठाउँदै ठगी गरेर मोजमस्ती गर्नु उनीहरुको अभिष्ट हुन्छ । उनीहरु प्राविधिकरुपमा कमजोर वेभसाइटहरुबाट व्यक्तिगत महत्वपूर्ण सूचनाहरु संकलन गर्दछन् । कुनै बेला युकेको सबैभन्दा ठूलो ठग कहलिएका टोनी सेल्स भन्छन्, “फोहोरका रुपमा फालिएका काजगातहरु व्यक्तिगत सूचना हात पार्ने महत्वपूर्ण स्रोत हुन् । कतिपय व्यापारिक फर्मबाट महत्वपूर्ण पुराना कागजातहरु नष्ट गर्न पठाउँदा नष्ट गर्न पठाइएको व्यक्तिले नै पैसाको लोभमा ती कागज बेच्ने गर्छन् ।”
३० मिलियन पाउण्ड ठगी गरेको अभियोगमा जेल जीवन बिताएका र हालमा ठगी रोक्न सल्लाह दिने आफ्नै कम्पनी आरआइडी फ्रड कम्पनी खोलेका सेल्सको भनाइमा पासपोर्ट, युटिलिटी बिल, न्याशनल इन्स्योरेन्स नम्बर, बैँक स्टेटमेण्ट, बैँक खाता नम्बर, सोर्टकोड, बैँक कार्ड डिटेल नै ठगहरुले खोज्ने मुख्य सूचनाहरु हुन् ।

कसरी बच्ने ?
सामान्यतः व्यक्तिगत सूचनाहरु अनावश्यकरुपमा जोकोहीलाई नचुहाउनु नै ठगीबाट बच्ने सजिलो उपाय हो । बैँक स्टेटमेण्टहरु, युटिलिटी बिलहरु, पे स्लीप, पी सिक्स्टी, पासपोर्टको फोटोकपी, ड्राइभिङ लाइसेन्सको फोटोकपी, प्रुफ अफ अड्रेस खुल्ने कागजहरु र पुराना मोवाइल सेटहरु फ्याँक्दा धेरै नै होस पुर्‍याउने गर्नुपर्दछ । महत्वपूर्ण व्यक्तिगत सूचनाहरु पहिले राम्रोसित नस्ट गरेर मात्र ती कागजहरुलाई फाल्दा ठगीबाट धेरै बच्न सकिन्छ ।
दीसइजमनी डटकमका अनुसार बैँकले कहिल्यै फोनमा वा इमेलबाट व्यक्तिगत वा बैँकिङ डिटेल माग्दैन । कि त पत्र पठाउँछ वा बैँकको सम्बन्धित शाखामा आमन्त्रण गर्दछ । बैँकले कसैलाई नगद वा बैँक कार्ड लिन घर घर पठाउँदैन । न त बैँकले एसएमएस वा इमेलबाट तपाईको बैँक वा व्यक्तिगत विवरण नै मगाउँछ । बैँकले तपाईलाई अनलाइन बैँकिङ लग इन गरेको पेज इमेल गरेर पठाउन भन्दैन । त्यस्तै, तिम्रो खातामा पैसा राख्न जोखिम छ नयाँ खातामा सार भनेर आग्रह पनि गर्दैन । जग्गा, गरगहना वा अन्य मालसामान किन्न बैँकले तपाईलाई अफर गर्दैन । बैँकको आधिकारिक एप्लिकेसनबाहेक अन्यबाट बैकले बैँकिङ सेवा उपलब्ध गराउँदैन ।
मगर संघ वेम्लीले भिसा कम्पनीको हवाला दिँदै बच्ने उपाय यस्तो सुझाएको छ, “भिसाले कार्ड डिटेलका लागि कहिल्यै तपाईसित सोध्दैन किनकि तपाईलाई कार्ड दिँदा नै उनीहरुसित सबै डिटेल हुन्छ । यदि कसैले म ठगी नियन्त्रण विभागबाट फोन गरेको भन्छ र डिटेल माग्छ भने कार्डको पछाडिपट्टि उल्लिखित नम्बरमा सीधै फोन गर्नुहोस् । र, कार्डको पछिल्तिरको तीनवटा नम्बर कहिल्यै नदिनुहोस् ।”

नेपालीमा उखान छ आफ्नो थैलीको मुख राम्ररी बाँध्नु अरुलाई चोरको अारोप नलगाउनु । त्यसैले तपाई पनि बेलैमा सावधान हुने कि ?

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक