मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १०:२१ | UK Time: 05:36

विदेशमा पदलोलुपता र उन्मुक्तिको खाँचो 

वीनेपाली
२०७१ असोज २४ गते १३:५६

Phadindra Bhattarai
दुई वर्ष अगाडि दशैमा घर जाँदा गाउँमै टीका लगाउने अवसरका क्रममा भेटेका एकजना बर्षौ अघि गाउँबाट तराइतिर बसाई सरेका आफन्त दाजुलाई मैले आजभोलि के गर्नु हुन्छ भनि सोधेको थिएँ । जवाफमा उनले आफ्नो कृषि फाराम रहेको र राजनीतिमा पनि सक्रिय रहेको बताए । राजनैतिक पृष्ठभूमि केही नभएका मान्छेले राजनीति गर्छु भन्दा मलाई कौतुहलता जाग्यो र कोट्याउन थाले के को राजनीति, कस्तो राजनीति भनेर । उनले पनि इमान्दारिपूर्वक बेलीबिस्तार लगाए । ‘गाउँमा चार पाँच जना मिलेर सिपि मैनालीको माले पार्टी खोलेका छौँ, म अध्यक्ष छु, गाउँदेखि जिल्ला सम्मका सर्व पक्षीय बैठकहरुमा बोलाउँछन्, मान मनितो गर्छन्, राम्रै छ ‘। सर्वपक्षीय भागबण्डाको बिलो पनि दिन्छन् की भन्ने मेरो प्रश्नमा उनको मसक्क मस्केको मुस्कानबाट मैले अरु पनि धेरै बुझें । वास्तवमा उनले आइडिया काइदाको निकालेछन् । एमाले कांग्रेस जस्ता ठूला पार्टीमा उनले ठाउँ नपाउने र पाए पनि तलै खुम्चिनु पर्ने त्यो पनि गाउँमा । त्यो भन्दा त दुई चार जना मिलेर सानो पार्टीको गाउँ कमिटि गठन गर्ने र अध्यक्ष बन्ने । फलानो पार्टीको अध्यक्ष भनेर बोलाउने नै भए । पहाडमाभन्दा कुना कुनासम्म भ्रष्टाचारले जकडिएको मधेशमा आफ्नो भागको हिस्सा थोरै भए पनि छुट्टयाई हाल्छन् । शिक्षाको कमि भएपनि सानै देखि चलाख ति दाजुले आफ्नो चलाखिपना कायम राखेकै रहेछन् ।
मलाई अहिले उनै दाजुको भनाइ र गराइ सम्झना भएको छ यता बेलायततिर पनि । धेरै मान्छेहरु कहिँ कतै कसैगरी जे सुकैको भए पनि अध्यक्ष नै बन्ने महत्वाकांक्षा बोकेर हिँडेका देखिन्छन् । माथिको प्रसंगमा जस्तै साना पार्टीहरुको भात्री संगठन गठन गर्नु उनीहरुको लागि एउटा अचुक उपाए बन्न सक्छ । किनकि यतातिर मान्छेमा नैतिकतामा अडेको आदर्श, व्यक्तिगत मर्यादाको सिद्दान्त केही पनि नभए जसरी छताछुल्ल पोखिन थालेको देखिन्छ । समुदायका अगुवा भनाउँदाहरु अध्यक्ष भैसकेका छोड्न चाहँदैनन् । नभएका जसरी पनि बन्न चाहन्छन् । न त समाजसेवाको कुनै पृथक भिजन छ उनीहरुसंग न त परिवर्तनकामी एजेन्डा नै । बस उनीहरुको वास्तविक उद्देश्य म फलानो संस्था वा संगठनको अध्यक्ष भनेर हात पसार्ने, सम्मान बुझिलिने, कसैले सम्मान नगरेमा झगडा गर्ने अनि दम्भको दुनियाँमा सयर गर्ने मात्र रहेको छ । जो अलिकति शिक्षित र बौद्धिक छन् र जसको शब्दावलीमा लज्जा नामको शब्द बाँकी छ उनीहरु धेरैजसो यसरी सामाजिक नेता बन्ने कित्ताबाट अलग भैसकेका छन् । एकाध बाहेकका सबै पटमुर्खहरुले यसरी संघसंस्था हाँक्दै जाने हो भने डायस्पोराको नेपाली समुदाय संगठितभन्दा असंगठित नै भएर बस्न रुचाउने दिन टाढा भए जस्तो लाग्दैन ।
प्रवासमा नेपालीहरुको वस्ती जति बाक्लिदै छ । प्रवाशी नेपालीहरुले खोलेका संघ संस्थाहरु पनि दिनानुदिन च्याउ उम्रेसरी उम्रिरहेका छन् । संसारभर छरिएर रहेका नेपालीहरुमाझ संघ संस्था खोल्ने होड्बाजी नै चलेको जस्तो देखिन्छ । बेलायतमा मात्रै तीनसय भन्दा बढी नेपाली संघ संस्था हरु रहेको बताइन्छ । नेपालको आफ्नो जिल्ला, गाउँ, जात धर्म, सम्प्रदायदेखि लिएर खोले टोले भन्नुस के संस्था छैनन यहाँ रु राजनैतिक संस्थाका भात्री संगठनहरु पनि त्यत्तिकै सकृय छन यहाँ । अनि त्यसपछि शुरु हुन्छ पदको होडबाजी, को अध्यक्ष बन्ने, पदको भागबन्डा कसरी गर्ने, भलै त्यो संस्था नाम मात्रको बनेर कागजमै खुम्चियोस्, अथवा नेपालको एउटा सानो गाउँसंग मात्र सम्बन्धित किन नहोस्, लुछाचुँडी हुन्छ पद लिन ।
अनि शुरु हुन्छ गुटबन्दी, राजनैतिक प्रहार, झैझगडा र कुटाकुटसम्म र एउटै संस्थामा चार पांच जनाको दरले पदाधिकारीको पद सृजना गरेर सबैलाई चित्त बुझाउन र पालो पुर्याउन खोजेका देखिन्छ संघ संस्थाहरुमा । बर्मा गए कर्मसंगै नेपाल गए कपालसंगै भने जस्तै यो तरिका हाम्रो मौलिक नेपाली पहिचान जस्तै बनेको छ सात समुद्र पारी आएर पनि । यो बेलायतमा मात्रै होइन पहिलो पुस्ताका नेपालीहरुले अड्डा जमाएका ठाउँहरु अमेरिका, अस्ट्रेलिया, जापानदेखि लिएर अरवको खाडीसम्मको हालत यही छ । सबैको चाहना जस्तै बनेको छ संस्था खोलेर अध्यक्ष्य बन्ने, यसको उद्देश्य, दिर्घकालिन सोच केहीसँग मतलव छैन ।
संस्था खोल्नु आफैँमा नराम्रो होइन त्यो पनि नेपाल र नेपालीसंग जोडिएर । यसले कुनै न कुनै रुपमा नेपाल र नेपालीलाई फाइदा पुगेकै छ । केही नाम मात्रका कागजे संस्था भएपनि धेरैले सामूहिक संकलनबाट आ-आफ्नो गाउँ ठाउँलाई सरसहयोग गरेकै छन् । त्यति मात्र होइन आफ्नो धर्म, संस्कृति , परम्परा जोगाउन पनि यस्ता संघ संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । चाडपर्व र घमाईला दिनको शुरुवातसंगै बेलायतमा रमाइलो शुरु हुन्छ संघ संस्थाका बिबिक्यु, भेटघाटजस्ता कार्यक्रम । जसबाट बचेखुचेको केही रकम नेपालतिरै सामाजिक कार्यमा लगाउने प्रचलन छ जुन सकारात्मक र सराहनीय पनि छ । चिन्ता संस्था खोलिएकोमा होइन चिन्ता त सामाजिक पदलोलुपताले निम्त्याएको असामाजिक क्रियाकलाप प्रतिको हो ।
अरुका सबैका कुरा छोडौ । सबै विदेशी नेपालीको प्रतिनिधित्व गर्ने भनिएको, सबै संस्थाहरुको समेत छाता बनेर समन्वय गर्नुपर्ने संगठन एनआरएनले पनि यो प्रवृत्तिबाट उन्मुक्ति पाउन नसकेको कुरा सर्बबिदितै छ । बेलायतको सवालमा त के जातिलाई भन्दा देख्ने लाई लाज भन्ने जस्तो बनाइएको छ । भविष्यमा हुने भागबण्डाको नापतौलमा आफ्नो बिलो छुट्ला कि भन्ने डरले सामाजिक रुपमा अग्रज र अगुवा ठानिएका व्यक्तित्वहरू पनि चुप देखिन्छन । समाज र समुदायमा आवस्यक परेको बखत आफ्नो भूमिका निर्वाह गर्न हिच्किचाउनु भनेको नैतिक रुपमा लाजमर्दो अवस्था हो । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नको लागी औँला भाँचेर जोडघटाउ गर्दै अलमलिनु भनेको आफु स्वयम् र आफ्नो स्वतन्त्र विचारप्रतिको कुठाराघात पनि हो भन्ने कुरा स्मरण गर्नु उपयुक्त होला ।
पदबाहकहरुमा यो कस्तो खालको महत्वाकांक्षाले जरा गाडेको छ भन्ने कुरा बुझी र बताई नसक्नु छ । समग्र सामाजिक हितको लागि भन्दै खोक्रा भाषणहरु छाँटन कोहीभन्दा कोही कम छैनन् । कुरा सबैका मिठै छन् तर व्यवहार उल्टो छ । खोक्रो सिद्धान्त र आदर्शका लेक्चर बेकार छन् यदि त्यसलाई व्यवहारमा उतार्न सकिँदैन भने । समुदाय, समाज र देशको समग्र हित चाहने मान्छे पदलोलुप बन्न सुहाउदैन । नेपालका नेतालाई यस्ता उस्ता भनेर नथाक्ने हामी अब आफ्नै आङतिर फर्केर हेर्ने बेला भएको छ । किन गालि गर्नु पर्यो नेपालका नेतालाई कुर्ची प्रेमी भनेर । त्यो त दुहुन मिल्ने ठाउँ हो, यता सुक्खा ठाउँमा त यो लड़ाभाँती छ भने । संघ संस्थाहरु विवादमा छताछुल्ल छन् । बैधानिक र प्रजातान्त्रिक बाटोलाई लत्याइएको छ । बाँडफांडकै निम्ति सहमति हुनु र तोडिनु कुनै नौलो कुरा रहेन । पद नमिले संस्था फोर्ने र नयाँ खोल्ने सम्मका अतिवादी हत्कण्डाहरु समेत अपनाइन्छ । जब परिस्थिति आफु प्रतिकूल बन्छ तब वर्तमान अवस्थाको जातीय तथा साम्प्रदायिक संबेदनाको भुसमा आगो सल्काईदिने सम्मको लक्षणले मान्छेहरुको असली औकात नाङ्गिदै गएको पनि छ ।
पराइको देशमा आएर बसेका हामी हाम्रा सन्ततिको भविस्यप्रति गम्भीर हुनु पर्ने देखिन्छ । नेपालीको अर्को पुस्ता यसमा मतलव गर्दैन । उनीहरुलाई संघसंस्थाप्रति रुचिनै छैन भन्दा पनि हुन्छ । अझै त्यसैमाथि कहिलेकाही आफ्ना बाउहरु संस्थामा लडेको देखे भने त उनीहरु फर्केर पनि त्यता हेर्ने छैनन् । कुनै न कुनै रुपमा नयाँ पुस्तालाई पनि नेपाल र नेपाली पानासंग बाँधेर राख्नु हाम्रो कर्तब्य हो । त्यसका लागि खेलकुद संगीत र मनोरन्जनका अनेक साधन अपनाएर पनि उनीहरुलाई नेपाल र नेपालीको हितमा काम गर्ने गरी कहिँ कतै समुदायमा आवद्ध गराउनु पर्ने देखिन्छ । हामी अजम्बरी छैनौँ । समाज र देशको हितको लागि व्यक्तिगत लाभलाई एक कदम पछाडि धकेल्दै एकता सर्वोपरी गर्नु नै बुद्दिमतापूर्ण रहला । अन्यथा यहाँका मै हुँ भन्ने संस्थाले पनि लेखको शुरुमा बताइएका दाजुले जस्तै आफ्नो संस्थालाई पदाधिकारी जुटाउन पनि धौ धौ पर्ला, सम्बन्धितहरुमा चेतना जागोस् । सद्बुद्दिले बिनास रोकियोस् । शुभकामना !
(बेलायतमा पत्रकारितामा आवद्द लेखक एनआरएन युकेका कार्यसमिति सदस्य पनि हुन् )

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक