नेपालीको नर्थ वेष्ट कलेजसहित थप ९ कलेजको लाइसेन्स खारेज

युके भिसा तथा इमिग्रेसनले अहिले कलेजहरुलाई कडाइ गरिरहेको छ । तस्वीर एजेन्सी

युके भिसा तथा इमिग्रेसनले अहिले कलेजहरुलाई कडाइ गरिरहेको छ । तस्वीर एजेन्सी

लन्डन । बेलायत सरकारले थप ९ निजी कलेजको लाइसेन्स खारेज गरिदिएको छ । अध्यागमन नियम पालना नगरेकामा ति कलेजले लाइसेन्स गुमाएका हुन् । यसअघि ३८ कलेजको लाइसेन्स खारेज भइसकेका थिए ।

गत २४ जुनमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्वन गरिएकामध्ये हालसम्म ४७ कलेजले लाइसेन्स गुमाएका छन् । विशेषगरि, अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र (टोइक) लिएर विद्यार्थीलाई क्यास जारी गरेको अभियोगमा ति कलेज शिकार भएका हुन् । जेन्यूइन विद्यार्थी भर्ना नलिएको, बेलायतको अध्यागमन नियम एवं विद्यार्थीको स्पोन्सरसीप जिम्मेवारी पूरा नगरेको र अंग्रेजीको नक्कली सर्टिफिकेट स्वीकारेको दोष सरकारले लगाएको छ ।
नेपाली व्यवसायीद्धारा सञ्चालित नर्थ वेष्ट कलेज रेडिङ समेत खारेज हुने सूचीमा छ । उक्त कलेज बन्द हुंदा सयौं नेपाली विद्यार्थी प्रभावित हुनेछन् ।

२ अक्टोबरमा जारी नयां सूचना अनुसार, लाइसेन्स गुमाउने थप कलेजमा ब्राडफोर्ड रिजनल कलेज, सिटी अफ लन्डन एकेडेमी, फोब्र्स ग्रयाजुएट स्कुल, हेलियोस् इन्टरनेशनल कलेज, इन्टरलिंक कलेज अफ टेक्नोलोजी एण्ड विजनेश स्टडिज्, लन्डन कर्पोरेट कलेज, लन्डन मेटोपोलिटन कलेज, लन्डन स्कुल अफ टेक्नोलोजी, नर्थ वेष्ट कलेज रेडिङ र क्वीन्स्वरी कलेज छन् ।

यसअघि अल्फा मेरिडियन कलेज, एपीएस कम्प्युटर सोलुसन्स् लि, बर्मिङहम इन्सटिच्युट अफ एजुकेशन ट्रेनिङ एण्ड टेक्नोलोजी, ब्राडफोर्ड कलेज अफ म्यानेजमेन्ट (स्वविवेकले परित्याग), ब्राडफोर्ड मेटोपोलिटन कलेज, ब्रिस्टोल कलेज अफ एकाउन्टेन्सी, ब्रिटेन कलेज, सेन्ट्रल कलेज लन्डन, सेन्ट्रल क्रानब्रुक कलेज, सिटिजन २००० एजुकेशन इन्सटिच्युट, कलेज अफ एड्भान्सड स्टडिज, कलेज अफ इष्ट लन्डन, कलेज अफ एक्सिलेन्स् लि., इन्स्फोर्ड कलेज, इसेक्स् कलेज लि., ह्यामरस्मिथ म्यानेजमेन्ट कलेज, क्याथरिन एण्ड किंग्स् कलेज अफ लन्डन, किन्नर्ड कलेज, लिट लोन लि., लन्डन एकेडेमी अफ म्यानेजमेन्ट एण्ड विजनेश (स्वविवेकले परित्याग), लन्डन कलेज अफ विजनेश म्यानेजमेन्ट एण्ड कम्प्युटिङ स्टडिज् (स्वविवेकले परित्याग), लन्डन रिगल कलेज, लन्डन स्कुल अफ मार्केटिङ, लन्डन सेन्ट एन्ड्रियूज कलेज, म्यानचेष्टर इन्टरनेशनल कलेज, म्यानचेष्टर ट्रिनिटी कलेज लि., मिडल्यान्ड्स एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, फारेज कलेज, सन्जरी इन्टरनेशनल कलेज, सेक्सपियर कलेज, स्टान्फोर्डस् कलेज लन्डन, सुपेरियर कलेज लन्डन, यूके विजनेश एकेडेमी, यूके भोकसनल ट्रेनिङ कलेज, भर्नन कम्युनिटी कलेज र वेष्ट लन्डन विजनेश कलेज बन्द भएका थिए ।

नियम उल्लंघन गर्ने कलेजहरु निलम्बन गरिएको घोषणा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले संसदबाटै गरेका थिए । संसदमै यो विषयले प्राथमिकता पाएपछि त्यस्ता निजी कलेजको भविष्यमाथि शुरुबाटै शंका पैदा भएको थियो ।
लाइसेन्स गुमेसंगै त्यहां अध्ययनरत विद्यार्थीले ६० दिनभित्र नयां कलेज वा अन्य शैक्षिक संस्थामा भर्ना नगरे स्वदेश फर्कनुपर्ने नियम छ ।
झण्डै ५० हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीले ब्रिटिस भिसा बढाउन पेश गरेका अंग्रेजी परीक्षाको सर्टिफिकेट अवैध भएको बेलायत सरकारको दावी छ । होम अफिसले त्यस्तो अंग्रेजी पेश गर्ने विद्यार्थीलाई घरबाटै समातेर स्वदेश फर्काउने, चिठी पठाएर २८ दिनभित्र देश छाड्न भन्ने वा पाइसकेको भिसा समेत रद्द गरिदिने गरेको विद्यार्थीको भनाइ छ । सरकारले त्यस्तो सर्टिफिकेट पेश गरेर आवासीय अधिकार (इन्डिफिनेट लिभ टु रिमेन) पाएको छ भने पनि पछि रद्द गरिदिएको कानुन व्यवसायीले जनाएका छन् ।
अमेरिकी कम्पनी एजुकेशनल टेस्टिङ सर्भिस् (इटिएस) का टेस्ट सेन्टरहरुमा नक्कली परीक्षामार्फत् धमाधम अंग्रेजी जांचका सर्टिफिकेट किनबेच भएको पाइएपछि गत अप्रिलबाट होम अफिसले त्यस्ता सेन्टर खारेज गरी संस्थाले दिने टोइक (दि टेस्ट अफ इंगलिस फर इन्टरनेशनल कम्युनिकेशन) सर्टिफिकेट समेत मान्य नहुने गरी प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री