न्यूयोर्क । नेपाली आदिवासीहरुको विविध संस्कृति झल्किने परेडसहित नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले न्यूयोर्कको ज्याकसन हाइटमा ३१ औं विश्व आदिवासी दिवस मनाएको छ । अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, कनिक्टिकट लगायतका राज्यमा बसोबास गर्ने नेपाली समुदाय तथा अन्य नेपाली समुदायको सहभागितामा साँस्कृतिक झाँकीसहितको परेड आयोजना गरी दिवस मनाएको हो ।
ज्याकसन हाइटको उडसाईड एभन्युको ७२ स्ट्रिटदेखि सुरु भएको परेड ७८ स्ट्रिटको मध्यभागमा निर्माण गरिएको मञ्चमा पुगेर टुंगिएको थियो । सडकमै निर्माण गरिएको मञ्चमा विश्व आदिवासी दिवसको विशेष समारोह आयोजना भएको थियो ।
नेपाली महावाणिज्यदूतावास न्यूयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको समारोहमा न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागा, सिनेटर जोन लु, प्राइमेरी इलेक्टेड काउन्सिल मेम्बर फिल वन, बर्नी चाउ, मेयर कार्यालयका प्रतिनिधि सुकरानी धनपद्, तेन्जिङ छेसाङलगायतका स्थानीय जनप्रतिधिहरुको सहभागिता रहेको थियो ।
समारोहमा उज्यालो अभियानका नायक कुलमान घिसिङ, फिप्ना अन्तर्गतका १८ जातिय संस्थाका प्रतिनिधि, न्यूयोर्कका क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, न्यूयोर्क सिटीका डेमोक्रेटिक पार्टीका ड्रिस्टिक्ट लिडर छेवाङ लामा र विष्णु राना मगर लगायतको विशेष उपस्थिति रहेको थियो ।
बौद्ध धर्मगुरु टुल्कु उर्गेन शेर्पाबाट शान्ति प्रार्थना गरेर सुरु भएको कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गर्दै फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा ह्योल्मोले नेपालका आदिवासी समुदायको भाषा संस्कृति र परम्पराको जगेर्ना गर्न र नयाँपुस्तालाई आफ्नो पहिचान बारेमा दीक्षित गर्नको लागि फिप्नाले आफ्नो गतिविधि गर्दै आएको जानकारी गराउनुभयो । यस्तै, कार्यक्रमका संयोजक पूर्ण पाइजामगरले आदिवासीको साँस्कृतिक विविधता देशको धरोहर भएको उल्लेख गर्दै देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने यस्ता धरोहरलाई राज्यले संरक्षण गर्नु पर्ने र नयाँ पुस्ताले पनि अंगाल्ने वातावरण निर्माण गरिनुपर्ने बताउनुभयो । सो अवसरमा फिलिपिन्सका आदिवासी समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो भने तामाङ, नेवार, शेर्पा, ह्योल्मो, ढोक्प्या, राई, लिम्बु, गुरुङ, मगर आदि समुदायको परम्परागत संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
समारोहमा शुभकामना दिँदै प्रमुख अतिथि एवं महावाणिज्यदूत दधिराम भण्डारीले फिप्नाले विश्व आदिवासी जनजाति दिवसका अवसर पारेर आयोजना गरेको यो कार्यक्रमले अमेरिकामा नेपाललाई चिनाउन मद्दत पुग्ने बताउँदै यस प्रकारको कार्यक्रमहरु आयोजनाको लागि नेपाल सरकारले सधैँ प्रोत्साहन गर्ने बताए । आगामी दिनमा पनि फिप्ना तथा यस संस्थासँग आवद्ध सदस्य संस्थाहरुसँग मिलेर महावाणिज्यदूतको कार्यालयले नेपाल प्रवर्धनका गतिविधिहरु आयोजना गर्न तयार रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली आदिवासी जनजाति समुदायलाई शुभकामना दिँदै नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक एवं उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङले विदेशी भूमिमा पनि नेपाली आदिवासीहरुले आफ्नो परम्परा तथा संस्कृति प्रवर्धनका लागि गरिएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । आफूले उज्यालो नेपाल अभियानको क्रममा रहेको चर्चा गर्दै यो अभियानमा जोडेर सबैले सहयोग गर्न अनुरोध गर्नुभयो । नेपालको विकास सुशासन, समृद्धि र रोजगार वृद्धिमा सहयोग गर्नकै लागि यो अभियान शुरु गरिएको जानकारी दिँदै यो अभियानमा गैरआवासीय नेपाली नागरिकको ठूलो भूमिका रहने भएकोले विदेशमा मात्र हैन नेपालमा पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउन उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा न्यूयोर्क राज्यका सांसद स्टेफन रागाले इतिहासमा न्यूयोर्क पनि आदिवासी समुदायकै भूमि रहेको चर्चा गर्दै आदिवासी समुदायको पहुँच र सम्मानमा कमि आउन नहुने बताउनुभयो । अमेरिकामा नै क्वीन्स काउन्टी सबैभन्दा विविधतले भरिएको रहेको चर्चा गर्दै यस्तो विविधतायुक्त क्षेत्रबाट आफूले राज्य संसदमा प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको र सबै समुदायको आर्थिक सामाजिक उत्थानका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै राज्य सिनेटर जोन लुले न्यूयोर्क सिटीमा लामो समयदेखि आफू नेपाली समुदायसँग परिचित रहेको बताउँदै नेपालको विविधताले न्यूयोर्क सिटीलाई नै सशक्त बनाएको बतानउभुयो । यसैगरी न्यूयोर्क सिटीका काउन्सिल मेम्बरका प्राइमरी विजेता फिल वाङ र बर्नी चाउले हरेक समुदायको भाषा संस्कृति र परम्परा अत्यन्त महत्वपूर्ण हुने भएकोले नयाँ पुस्तालाई पनि ती कुराहरु सिकाउनु र बुझाउनु पर्नेमा जोड दिनुभयो । सिटीका मेयर कार्यालय प्रतिनिधिहरु सुकरानी धनपद र तेन्जिङ छेवाङले दिवसको अवसरमा सबैमा शुभकामना दिँदै नेपाली आदिवासी समुदाय र अन्य समुदायसँग मिलेर काम गर्न मेयर कार्यालय तयार रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा फिप्नाका सल्लाहकार डण्डु ढोक्प्या, आदिवासी जनजाति महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङबाङ, वरिष्ट पत्रकार प्रदिप थापा परियार, नेवा वरल्ड अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष समिर महर्जन लगायतले आदिवासी जनजातिको हक अधिकार र विश्व आदिवासी दिवसको बारेमा धारणा राखेका थिए । कार्यक्रम समापन गर्दै फिप्नाका अध्यक्ष तोरण गरुङले जुनसुकै भूमिमा रहेपनि आफ्नो भाषा संस्कार संस्कृतिलाई नभुलौँ भन्ने सन्देशसहित यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । आदिवासी जनजातिको अधिकार सुरक्षित गर्नका लागि नेपालमा गणतन्त्र, समावेशीता तथा धर्म निरपेक्षतालाई प्रभावकारी कार्यान्वयनको खबरदारी समेत कार्यक्रमको उद्देश्य भएको उनको भनाइ थियो । प्रवासमा रहेर पनि आदिवासी जनजातिको भाषा धर्म संस्कृति जगेर्ना गर्नु हाम्रो जिम्मेवारी रहेको बताउँदै यसका लागि अमेरिकाको स्थानीय तथा राज्य तहमा जनप्रतिनिधि तथा सरकारी तहमा प्रतिनिधित्वको लागि पहल र प्रयास गर्नु पनि फिप्नाको उद्देश्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
फिप्नाद्वारा पत्रकार गुरुङसहित तीन सम्मानित
३१ औं विश्व आदिवासी दिवसको अवसर पारेर यो वर्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले आदिवासी समुदायको विभिन्न क्षेत्रमा विषेश योगदान पुर्याएका तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा संचारकर्मीहरू मच्छेदेवी गुरुङ र खड्का बहादुर पुलामी (बिक्की) रहनुभएको छ भने फिल्मकर्मी दलप्रसाद लिङदेन रहनुभएको छ । उहाँरुलाई प्रमुख अतिथि महावाणिज्यदूत दधिराम भण्डारी र फिप्नाका अध्यक्ष तोरण गुरुङले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
नेपालमा रेडियो पत्रकारिताको क्षेत्रमा एक दशकसम्म सक्रिय रहेकी मच्छेदेवी गुरुङ हाल नेपाली समुदायका अनलाईन पोर्टल एनवाईसी नेपालन्युजकी सम्पादक हुनुहुन्छ । यसअघि एभरेष्ट टाइम्समा सक्रिय रहेकी गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व कोषाध्यक्ष र उपाध्यक्ष समेत हुनुहु्न्छ । सम्पादक गुरुङ लामो समयदेखि पत्रकारितामार्फत महिला बालबालिका, पछाडि पारिएका समुदाय आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको लागि आवाज उठाउँदै आउनुभएको छ। नेपाली राष्ट्रिय दैनिक कान्तिपुरबाट इन्टर्नसिपबाट शुरु गरेको उहाँको पत्रकारिता एन्टेना फाउनडेसन नेपाल, रेडियो सगरमाथा, समकोण टेलिभिजन कार्यक्रम, एभरेष्ट टाइम्स न्युज हुँदै अहिले एनवाइसीनेपालन्युजडटकमसम्म निरन्तर जारी छ।
यसैगरी पुलामी न्यूयोर्कस्थित नेपाली सामुदायिक मिडिया मकैहाउसका संचालक हुन्नुहुन्छ भने लिङदेन लामो समयदेखि लिम्बु समुदायको चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ ।
।
कार्यक्रममा महासचिव दिपक चौधरीले स्थानिय सरकारका जनप्रतिनिधिहरुसँग समन्वय गरी कार्यकमको संयोजन गर्नुभएको थियो । कार्यक्रम संयोजक पूर्ण पाइजा मगरसहित, महासचिव चौधरी, कार्यसमिति र सल्लाहकार सहितको कार्यक्रम व्यवस्थापन समितिले कार्यक्रम व्यवस्थापन गरेको हो । कार्यक्रममा संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा सहभागी भएका थिए। कार्यक्रममा द गुरुङ (तमु) सोसाइटी इंक युएसए, तामाङ सोसाइटी अफ अमेरिका, मगर संघ अमेरिका, शेर्पा संघ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका, थारु एष्ड फे्रष्ड्स एशोशिएसन, ढोक्प्या किदुग युएसए, युनाइटेड मुगुम अर्गनाइजेशन इंक, युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका, नेवा गुठी न्यू योर्क, ह्योल्मो सोसाइटी अफ अमेरिका, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना), नेप्लिज मुलवासी मंगोल कम्युनिटी इन अमेरिका, काइन्डिङ सिन्ड लगायत जातिय संस्थाहरु साँस्कृतिक झाँकी र व्यानरसहित उपस्थित भएका थिए । साथै अन्य जातीय संस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए ।