रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

रुस । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे (२३०४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो ।

रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ ।

रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सहरका भवनहरू समुद्री पानीमा डुबेको देखाइएको छ । अधिकारीहरूले लगभग दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बतएका छन् ।

भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ ।

संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन् ।

जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ । होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो ।

दिउँसो (०३०० जिएमटी) सम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन ।

हवाईमा होनोलुलुका मेयर रिक ब्लान्गियार्डीले बासिन्दाहरू र हजारौँ आगन्तुकहरूलाई भवनहरूको माथिल्लो तलामा वा उच्च ठाउँमा सुरक्षित रहन भन्नुभयो ।

अमेरिकी सुनामी चेतावनी केन्द्रहरूले इक्वेडर, उत्तरपश्चिमी हावाइयन टापुहरू र रुसका केही तटहरूमा ज्वारभाटाको स्तरभन्दा तीन मिटरभन्दा माथिका छालहरू आउन सक्ने बताएका छन् ।

चिली, कोस्टारिका, फ्रेन्च पोलिनेसिया, गुआम, हवाई, जापान र प्रशान्त महासागरका अन्य टापु र टापु समूहहरूका केही तटहरूमा एकदेखि तीन मिटरको छालहरू आउन सक्ने बताइएको छ ।

अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, न्युजिल्यान्ड, टोङ्गा र ताइवानसहित अन्य ठाउँमा एक मिटरसम्मको लहर आउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री