एनआरएनए यूके निर्वाचन : दिउँसो ४ बजेसम्म २ हजार १९० मतदान, कुन राज्यमा कति ?

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा शनिबार दिउँसो ४ बजेसम्ममा २ हजार १९० मतदान भएको छ ।

निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिमखडाले फेसबुक लाइभमार्फत उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार इंग्ल्यान्डमा १ हजार १४, स्कट्यान्डमा ९१५ र वेल्समा ४२ र नर्दन आयरल्यान्डमा ३९ मतदान भएको छ ।

एनआरएनए यूकेमा भेरो भोटिङमार्फत शनिबार मध्यरात १२ बजेदेखि मतदान सुरु भएको हो । मतदान आज बेलुका १० बजेसम्म खुला रहने निर्वाचन समितिले जनाएको छ । जम्मा मतदाता संख्या ३५ सय १ रहेका छन् ।

नयाँ कार्यसमितिका लागि अध्यक्षमा तीन, दुई खुला उपाध्यक्षमा चार, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा दुई, महासचिवमा दुई, दुई सचिवमा तीन, इंग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा दुई र तीन आइसीसी सदस्यको लागि चार उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेल प्रतिस्पर्धा गर्दै छन् ।

खुला उपाध्यक्षमा डा रक्षा थापा, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले, महासचिवमा पुण्य रेग्मी र दिवाकर पाण्डे, सचिवमा डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटा, इंग्ल्याण्ड परिषद अध्यक्षमा अहिल्या कुँवर र राममाया विष्ट तथा आइसीसी सदस्यमा तुंगभद्र भुषाल, देउमान इजम, छविलाल अर्याल र विष्णु खरेल उम्मेदवार रहेका छन् ।

निर्वाचन समितिले मध्यरातसम्ममा नतिजा घोषणा गर्ने तयारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री