नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले बेलायतसँगको व्यापार सम्झौता वास्तवमै कोसेढुङ्गा भएको र यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभएको छ । भारत र बेलायतबीच गत फेब्रुअरीमा पुनः वार्ता सुरु भएपछि गत महिना लामो समयदेखि रोकिएको स्वतन्त्र व्यापार सम्झौता भएको थियो ।
युरोपेली सङ्घबाट बेलायत बाहिरिए (ब्रेक्जिट)देखि नै बेलायतले विश्वभरि नै व्यापारिक सम्बन्धलाई मजबुत बनाउने प्रयास गरेको छ । यो आवश्यकता संयुक्त राज्य अमेरिकाले कमजोर आर्थिक वृद्धिको जोखिम निम्त्याउने विश्वव्यापी कर वृद्धि लागू गरेपछि थप दबाबमा परेको थियो । “भारत–बेलायतबीच स्वतन्त्र व्यापार सम्झौताको अहिले नै निष्कर्ष के देखिएको छ भने यो वास्तवमै एउटा कोसेढुङ्गा हो, जसले हाम्रो दुईतर्फी व्यापार र लगानीलाई अगाडि बढाउने मात्र होइन, द्विपक्षीय सम्बन्धका अन्य रणनीतिक पक्षहरूमा पनि सकारात्मक प्रभाव पार्नेछ,” दुई दिने भ्रमणमा रहेकी ल्यामीलाई भेटेपछि भारतीय अर्थमन्त्री जयशंकरले भन्नुभयो ।
यो सम्झौताले भारतमा ह्वीस्की, श्रृङ्गारका सामान र मेडिकल उपकरणसहित बेलायती सामानहरूको आयातमा कर कटौती गर्नेछ । बदलामा बेलायतले भारतबाट लत्ताकपडा, जुत्ताचप्पल र फ्रोजन प्राउनलगायत खाद्य वस्तुको आयातमा कर कटौती गर्ने भएको छ ।
बेलायत र भारत क्रमशः छैटौँ र पाँचौं ठूलो वैश्विक अर्थव्यवस्था हुन्, जसको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड (५४.८ अर्ब डलर) छ र लगानीले दुबै देशहरूमा छ लाखभन्दा बढी रोजगारीलाई समर्थन गर्दछ । स्वतन्त्र व्यापार सम्झौताले उनीहरूबीचको व्यापारमा लगभग २५.५ अर्ब पाउन्डको वृद्धि गर्नुका साथै बेलायती अर्थव्यवस्था र ज्यालालाई बढावा दिने आशा गरिएको छ ।
बेलायतको पूर्ववर्ती कन्जरभेटिभ प्रशासनको पालामा रोकिएको वार्ता गत फेब्रुअरीमा पुनः सुरु भएको थियो ।
ल्यामीले आफ्नो भ्रमणअघि भारतसँगको सम्झौता ‘आफ्नो महत्वाकाङ्क्षाको सुरुवात मात्र’ भएको बताउनुभएको थियो ।