
लन्डन । विभिन्न प्रतिवेदन पारित गर्दै तमु समाज युकेको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विम्बलीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा शनिबार ३१ मे २०२५ मा समाजको साधारणसभा सम्पन्न भएको हो ।
अध्यक्ष विन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष विमला गुरुङले दीप प्रज्वलन गरी संयुक्त रूपमा साधारणसभा उद्घाटन गर्नुभयो । कार्यक्रम सञ्चालकसमेत रहेका महासचिव शुब घलेले हेल्थ एण्ड सेफ्टीका बारेमा प्रकाश पार्नुभयो भने वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ, अर्जुन गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले समाजको स्थापना, उद्देश्य र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउँदै आएको परोपकारी कार्य तथा धर्म–संस्कार संस्कृतिको जगेर्ना गर्ने योगदानबारे चर्चा गर्नुभयो ।
साधारणसभामा महासचिव घलेले समाजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । आमा समूहको वार्षिक प्रगति विवरण अध्यक्ष विमला गुरुङले प्रस्तुत गर्नुभयो । युथ ग्रुपका अध्यक्ष प्रज्वल गुरुङ अनुपस्थित भएकाले यसपटक युथ ग्रुपको प्रतिवेदन प्रस्तुत हुन नसकेको तमु समाज युकेले जनाएको छ ।
समाजले आगामी वर्ष आयोजना गर्ने चाडपर्व र अन्य कार्यक्रमहरूका विषयमा विस्तृत छलफल गरी मिति तय गरेको जनाइएको छ ।
दोस्रो चरणको कार्यक्रममा समाजका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले यो वर्षको आम्दानी–खर्च विवरण प्रस्तुत गर्नुभयो । हाउजिङ प्रोजेक्टसम्बन्धी आर्थिक विवरणमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले थप प्रस्ट पार्नुभयो । त्यसपछि सभामा ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ र उत्कृष्ट समाजसेवा सम्मानपत्र वितरण, युवाहरूलाई समाजको मूलधारमा ल्याउने प्रेरणा, वार्षिक गृष्मकालीन भ्रमण कार्यक्रम, समाजको भवन र सामुदायिक भवनको भाडा परिमार्जन तथा व्यवस्थापन, तमु समाज युकेले राष्ट्रिय लोटरी कोषबाट प्राप्त गरेको अनुदान रकमको व्यवस्थापन र उपयोग साथै बुद्ध जयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा घाँटु नाच आयोजना गर्ने सम्बन्धमा विशेष छलफल भएको तमु समाज युकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले जानकारी दिनुभयो । उहाँका अनुसार समाजको विधान परिमार्जन र अन्य विविध विषयमा पनि गहन छलफल गरी आवश्यक निर्णय लिइएको छ ।
सभाको अन्त्यमा सभाध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले उपस्थित सबै सदस्यहरूलाई कार्यक्रम सफल बनाउन दिएको अमूल्य समय, सक्रिय सहभागिता र आमा समूहद्वारा व्यवस्थापन गरिएको स्वादिष्ट भोजनका लागि धन्यवाद ज्ञापन गरिन् । सभा करिब साँझ ७ बजे समापनको घोषणा गरिएको थियो ।
सोही कार्यक्रममा २३ औं गोर्खाकपको अवसरमा तमुधीं यूकेको निमन्त्रणामा पोखराबाट यूके आउनुभएका युवा व्यवसायी अरुणकुमार गुरुङलाई स्वागत सम्मान गरिएको थियो । कोभिड–१९ महामारीको समयमा तमु समाज युकेले नेपालमा राहत वितरण गर्ने कार्यक्रममा अरुणले पुर्याएको योगदानको कदर गर्दै तमु समाज युकेकी अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षद्वारा खादा, फेटा र फूल अर्पण गरी समाजको लोगो अंकित प्लाक ‘मायाको चिनो’ प्रदान गर्दै स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा