बीसीसी यूकेले मनायो २५६९ औं बुद्ध जयन्ती

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले धार्मिक पूजापाठसहित २५६९ औं बुद्ध जयन्ती मनाएको छ । गत सोमबार मे १२ का दिन अल्डरसटस्थित एम्पायर हलमा काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको विशेष उपस्थितिमा धार्मिक प्रवचनका साथ बुद्ध जयन्ती मनाइएको हो ।

स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहेको कार्यक्रममा दोर्जिन लुङ्गरिक रिन्पोछेले व्हाईट तारा लङ्ग लाईफ इम्वापरमेन्टको विशेषता र महत्वबारे प्रवचन दिनुभएको थियो । प्रचवनलाई लामा सेन प्राईसले अंग्रेजीमा र खेन्पो छेवाङ्गले नेपालीमा अनुवाद गर्नुभएको थियो । प्रवचनपश्चात् दोर्जिन रिन्पोछेले उपस्थित भक्तजनहरुलाई आयुको अभिषेक (वाङ) प्रदान गर्नुभएको थियो ।

दीप प्रज्ज्वलन सँगसँगै शुभमंगल पाठबाट सुरु भएको कार्यक्रममा स्थानीय रसमोर बरो काउन्सिलका मेयर मारा मकुनुराले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तै, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले बीसीसी यूकेको निमन्त्रणामा बुद्ध जयन्ती मनाउन उपस्थित दोर्जिन रिन्पोछे, स्थानीय मेयर, धर्मगुरुहरुलगायत सम्पूर्ण आगन्तुकलाई स्वागत गर्नुभयो । साथै, बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङले दोर्जिन रिन्पोछेबारे जानकारी गराउनुभएको थियो ।

बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले बीसीसी यूकेको बारेमा छोटो जानकारी दिँदै हाल संचालन भैरहेका बीसीसी यूके गुम्बाका परियोजनाहरुबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा बीसीसी यूके र बीसीसी यूके आमाहरुको तर्फबाट प्रवचनका लागि गुरुसमक्ष मण्डला अर्पण गरिएको थियो ।

त्यस्तै, बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र आमा प्रमुख जगना गुरुङलगायत आमाले गुरुहरु सँगसँगै प्रज्ञापरामिताको सुत्र पाठ वाचन गर्नुभएको थिइव । कार्यक्रममा दोर्जिन रिन्पोछे, खेन्पो सेनाङ्ग, खेन्पो छेवाङ्ग, लोपेन भिमनाथ, लामा गुप्ती गुरुङ, धर्मगुरु सेन प्राईज, लामा दिनेश गुरुङ, सानो लामालगायत धर्म गुरुहरुको उपस्थिति थियो ।

बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा बिहान ९ देखि ११ बजेसम्म गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गर्नुभएको थियो । सो अवसरमा एचक्युबीजी आर्म फोर्सेस्का मेजर अनिल गुरुङले गुम्बा परिसरभित्र लुंदा लगाउनुभएको थियो ।

निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको बुद्ध जयन्ती कार्यक्रमलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले भोजन तथा दीप प्रज्ज्वलनका लागि नगद तथा जिन्सी सामाग्री प्रदान गरेका थिए । त्यस्तै, आमा उपप्रमुख शारदा गुरुङले दोर्जिन लुङ्गरिग रिन्पोछेलगायत विशिष्ट पाहुनाहरु, धर्म गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरु, कार्यसमिति, आमाहरु, भोलिन्टीयरलगायत सबै सहभागी पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री