
लण्डन । गैरआवासीय नेपालीलाई नेपालको नागरिकताको निरन्तरताको व्यवस्था गरिएमा नेपाललाई लाभ हुने निस्कर्ष निकालिएको छ ।
सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले शनिबार आयोजना गरेको ‘गैरआवासीय नेपाली र नागरिकताको प्रश्न : के नेपालले नयाँ विश्वव्यापी परिवेशबाट फाइदा लिन सक्ला’ विषयक प्यानल डिस्कसनमा वक्ताहरूले सो निस्कर्ष निकालेका हुन् ।
कार्यक्रममा बोल्दै बेलायतको युनिभर्सिटी अफ लिड्सका प्राध्यापक सूर्यप्रसाद सुवेदीले नेपाली नागरिकताको निरन्तरता गर्दा नेपाललाई धेरै फाइदा छ भन्नुभयो। उहाँले गैरआवासीय नेपालीलाई नागरिकताको सवालमा नेपाल अर्को चरणमा जान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । नेपाल सानो देश भएकाले स्मार्ट हुनुपर्ने भन्दै उहाँले कोस्टारिकाको मुख्य आर्थिक श्रोत धनी अमेरिकीहरुलाई निवृत्त जीवनका लागि आकर्षित गर्ने रहेको र अहिले अमेरिकालगायत कतिपय मुलुकले विदेशीलाई आकर्षित गर्न गोल्डेन भिसा दिइरहेको सन्दर्भ कोट्याउनुभयो ।
अहिले नेपाल बाहिर रहेका नेपाली जनसंख्याले निकै प्रगति गरेकोले उनीहरु नेपालका लागि एंकर -राष्ट्रय पूँजी_ भएको उहाँको भनाइ थियो । अब संविधान संशोधन हुँदा यो कुराको सम्बोधन हुनु पर्ने सुझाव उहाँले दिनुभयो ।
उहाँले गैरआवासीय नेपालीको माग दोहोरो नागरिकताको नभई नेपाली नागरिकताको निरन्तरता हुनु पर्छ भन्ने रहेको पनि स्पष्ट पार्नुभयो । नेपालको भूराजनीतिक अवस्थाले नेपालले दोहोरो नागरिकता दिन सक्दैन भन्ने गैरआवासीय नेपालीहरूलाई अवगत भएको पनि उहाँले बताउनुभयो । कम्तीमा पनि गोर्खा सैनिकहरू नेपाल सरकारले पठाएका हुनाले उनीहरुको नागरिकताको निरन्तरता हुनु पर्ने उहाँको राय थियो ।
गैरआवासीय नेपालीहरूलाई दिइएको राजनीतिक अधिकार बिनाको नागरिकता नागरिकता नै नभएको उहाँको तर्क थियो । यो नागरिकता पाएकाले नेपालमा भारतीय नागरिकले पाए सरहको सुविधा पनि पाउन नसकेको उहाँले दाबी गर्नुभयो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले गैरआवासीय नेपालीलाई मात्र नेपालले समेट्न खोज्दा दक्षिण एसिया र हिन्दू कुश क्षेत्रभन्दा बाहिर किन बर्मा र थाइल्यान्डमा रहेका नेपालीमूलका नेपालीमा कस्तो प्रतिक्रिया होला भन्नुभयो ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने वर्तमान प्रधानमन्त्रीको पनि भनाइ रहेको र विदेशी नागरिकता पाएका नेपालीले नेपाल आउँछु भनेपछि उसको विदेशी नागरिकता निस्क्रिय हुने दृष्टिकोण पनि रहेको बताउनु भयो । अहिले गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकको अधिकारको नागरिकता दिइने गरिए पनि सोको राम्रोसँग कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो । मालपोत, वडामा व्यावहारिक कार्यान्वयन हुन नसकेको उहाँले थप्नुभयो ।
यो समस्या समाधान गर्न संविधानमै स्पष्टता पनि आवश्यक रहेको र बनेका कानूनको कार्यान्वयनमा रहेका जटिलता समाधान गर्नुपर्ने उहाँले औँल्याउनुभयो । एकल आमाले नागरिकता बनाउन जाँदा भेदभाव सहनु परेको उदाहरण दिँदै उहाँले कर्मचारीहरूमा दोहोरो नागरिकता दिंदा आफूमाथि केही कारबाही पो हुन सक्छ कि भन्ने त्रास रहेको बताउनुभयो ।
नेपाललाई डायस्पोरा कम्युनिटी र डायस्पोरा संस्था आवश्यक रहेको उहाँको धारणा थियो । चीनमा दंग सियाओ पिङ्गले र भारतमा अहिले नरेन्द्र मोदीले प्रवासी समुदायलाई लक्षीत गरेको भन्दै डा भट्टराईले नेपालमा पनि लगानी गर्न, ज्ञान र प्रविधि हस्तान्तरणमा गैरआवासीय नेपाली ठूलो भूमिका हुन सक्ने बताउनुभयो ।
अहिलेको सरकार संविधानले गैरआवासीय नेपालीहरुलाई प्रत्याभूति गरेको अधिकारलाई अक्षरश पाना गर्नुपर्छ भन्नेमा द्विविधामा नरहेको र सर्वोच्च अदालतको निर्देशनबमोजिम प्रवासमा बसोबासरत नेपालीको मतदाता नामावली संकलन भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।
माइग्रेसनविद् डा मीना पौडेलले रेमिटान्स नेपाली अर्थतन्त्रको मियो भनिए पनि कानुनी संचरना बिना नै नेपालमा चलिरहेको बताउनुभयो । उहाँले माइग्रेसनका बारेमा नीति पनि नरहेको र तथ्यांक पनि नरहेको नाजुक स्थिति औँल्याउनुभयो ।
लेबर माइग्रेशन बजारले व्यवस्थापन गर्ने गरेको छ र बजार नाफामूलक क्षेत्र भएकाले त्यहाँ जहिले पनि शोषण हुने उहाँको धारणा थियो । माइग्रेन्टहरूलाई नेपालको तथ्यांकमा अनुपस्थित (अब्सेन्टी) भनिएको उहाँले जानकारी दिनुभयो छ। गल्फ मुलुकहरू, मलेसिया र कोरियामा काम गर्न गएका नेपालीहरुले आफूलाई गैरआवासीय नेपाली भन्न नचाहने र आफ्नो सुरक्षाको लागि राज्य संवेदनशील नभएको बताउने गरेको उहाँले खुलासा गर्नुभयो । एनआरएन र लेबर माइग्रेशनबीच सौहार्द्धपूर्वक छलफल हुन नसकेको भन्दै उहाँले गैरआवासीय नेपालीहरूलाई नागरिकता, मताधिकारका विषयमा वैचारिक स्पष्टता हुनु पर्ने बताउनुभयो । विश्वग्राम भैसकेपछि माइग्रेशन रोक्न नसकिने बरू उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा श्रमिक, प्रवासी र सरकारबीच राजनीतिक डायलग हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा