
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत, नेपालसहितका देशबाट अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पको योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ । त्यो गत वर्षको चुनावी अभियानका बेला उहाँले गरेका प्रस्ताव अनुरूप नै हो । बेलायतका लागि १० प्रतिशत भन्सार शुल्क तोकिएको छ । ह्वाइटहाउसले युरोपेली सङ्घ र चीनसहित ‘सबैभन्दा खराब’ साझेदार भनेर व्याख्या गरेका झन्डै ६० व्यापार साझेदारहरूका वस्तुहरूले उच्च दरको सामना गर्नुपर्ने छ।
उहाँले यसलाई अनुचित व्यापार नीतिहरूको नतिजा बताउनुभएको छ । एप्रिल २ मा घोषणा गरिएको अमेरिकी आयात शुल्कबाट बढी प्रभावित हुने देशमा चीन, भारत, जापान, कम्बोडिया, भियतनाम तथा युरोपेली मुलुकहरू पनि रहेका छन् ।
ह्वाइटहाउसका अनुसार यस घोषणाले अमेरिकाका दुई निकट व्यापार साझेदार मेक्सिको र क्यानडाका लागि तत्कालका लागि केही परिवर्तन गर्ने छैन। यो व्यापार युद्ध बढ्दा अमेरिकामा उच्च मूल्य र सुस्त वृद्धिदर देखा पर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। त्यसैगरी विश्वभरका केही देश आर्थिक मन्दीमा समेत पर्न सक्ने बताइएको छ ।
स्थानीय समयअनुसार बुधवार ह्वाइटहाउसमा गरिएको घोषणामा ट्रम्पले यी उपायहरू आवश्यक रहेको बताउनुभएको छ ।
अरू देशहरूले उच्च शुल्क र अन्य व्यापार अवरोधहरू लगाएर अमेरिकाबाट फाइदा उठाइरहेको उहाँको भनाइ रहेको छ । राष्ट्रिय आपतकाल घोषणा गर्दै बुधबार रिपब्लिकन राष्ट्रपतिले अमेरिकालाई पाँच दशकदेखि ‘निकट र टाढाका तथा मित्र र शत्रुहरूले समान रूपमा लुटे, बलात्कार गरे, लुटिरहे’ भन्नुभयो ।
अमेरिकाले एप्रिल ५ मा १० प्रतिशत शुल्क लगाउन सुरु गर्ने जनाएको छ भने अन्य केही देशहरूका लागि तोकिएका उच्च शुल्क एप्रिल ९ देखि सुरु हुनेछन् । आयात शुल्कले सन् २०३४ सम्ममा २.२ ट्रिलियन डलर अमेरिकी राजस्व बढाउन सक्ने ’नन पार्टिसन कङ्ग्रेसनल बजेट अफिस’ले जनाएको छ। ट्रम्पले बुधवारका घोषणाअघि त्यसको पूर्व समीक्षाका लागि कैयौँ साता लगाउनुभएको थियो ।
यो अवधिमा चीनबाट आयात हुने सामान, विदेशी कार, स्टील र आल्मुनियममा आयात शुल्क बढाउने र मेक्सिको र क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत शुल्क बढाउने अन्य आदेशहरू भएका थिए । त्यसमा बेलायतका लागि १० प्रतिशत र युरोपेली सङ्घ ईयूका लागि २० प्रतिशत समावेश गरिएको ट्रम्पले बताउनुभएको छ ।
चीनबाट आउने सामानहरूमा लाग्ने अमेरिकी आयात शुल्क ३४ प्रतिशतले बढ्ने छ जुन अहिले नै २० प्रतिशत रहेकाले त्यसमा थप हुँदा त्यो कुल शुल्कका रूपमा ५४ प्रतिशत पुग्ने छ । जापानबाट आउने सामानहरूमा २४ प्रतिशत र भारतबाट आउने सामानहरूमा २६ प्रतिशत भन्सार शुल्क लाग्ने छ।
ट्रम्पको पहिलो कार्यकालमा आयात शुल्क लगाइएपछि कतिपय कम्पनीले आफ्ना आपूर्ति चक्रलाई चीनबाट अन्यत्र सारेका थिए।
अब भियतनाम र कम्बोडियाबाट आउने सामानहरूमा क्रमशः ४६ प्रतिशत र ४९ प्रतिशतको शुल्क सामना गर्ने छन्। कैयौँ साना देशमा पनि उच्च आयात शुल्कको मार पर्नेछ। जसमा दक्षिणी अफ्रिकी देश लेसोथोका उत्पादनहरूले ५० प्रतिशत आयात शुल्कको सामना गर्नुपर्ने छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अन्य देशहरूलाई जसमा जबाफी कदम नचाल्न चेतावनी दिनुभएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति