
लन्डन । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लन्डन न्यू इयर डे परेड’मा सहभागी रोयल बरो अफ ग्रीनवीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ ।
नयाँ वर्षको दिन लन्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लन्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनवीच बरो तेस्रो भएको मेयर जीत रानाभाटले जानकारी दिनुभयो । लन्डन ह्वाइट हलमा आयोजित एक समारोहमा लन्डन न्यू इयर परेडका निर्देशकले तेस्रो पुरस्कार स्वरुप ग्रीनवीच बरोलाई ट्रफी प्रदान गर्नुभएको हो ।
ग्रीनवीच बरो मेयर जीत रानाभाट, मेयरेस गौमाया गुरुङ, परेडका लागि बरोका संयोजक श्रीचन्द्र गुरुङलगायतले पुरस्कार ग्रहण गर्नुभएको हो । यस वर्ष परेडमा प्रस्तुतिको आधारमा लन्डनको लुइसम बरो प्रथम र सटन बरो दोस्रो भएका छन् । तेस्रो स्थान प्राप्त गरेको ग्रीनवीच बरोले पाँच हजार पाउण्ड नगद प्राप्त गरेको छ । सो रकम मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टमा खर्च गरिने जनाइएको छ ।

परेडमा यस वर्ष ग्रीनवीच बरोको तर्फबाट मेयर जीत रानभाटको पहलमा स्थानीय नेपाली समुदायले नेपाली कला, संस्कृति झल्काउने मौलिक प्रस्तुति प्रदर्शनी गरेको थियो । मेयर रानाभाटले लन्डन परेडमा बरोले नेपाली कला, संस्कृतिको प्रदर्शनी गर्दै तेस्रो स्थान हासिल गरेकोमा सहभागी सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।
परेडमा ग्रीनवीच बरोका तर्फबाट पासा पुचः गुथि यूकेले सुशील प्रजापतिको संयोजनमा धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी र लाखे नाच, गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा र साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो । थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समुदायले आफ्नो कला संस्कृति देखाएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद