
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।
रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले राससलाई जानकारी दिनुभयो ।
रक्षामन्त्री खड्काले दुई देशबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने सबैभन्दा पुरानो मित्र बेलायतले नेपालको आर्थिक– सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै उहाँले पारस्परिक सहयोगका क्षेत्र आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई बेलायती सैनिकसरह निवृत्तिभरणलगायत सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुनेमा आफू ढुक्क रहेको मन्त्री खड्काले बताउनुभएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो ।
दुई सय वर्ष पुरानो बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत फेनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्तिसेनामा खटिएका नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ