
लण्डन । बेलायतको ह्याम्पसायर काउन्टी काउन्सिलले गोरखा भूतपूर्व सैनिकहरूमाथि पेन्सनमा भएको भेदभावका बारेमा अनुसन्धान गरी समस्या समाधान गर्न बेलायती प्रधानमन्त्रीलाई पत्राचार गरेको छ ।
गोरखाहरूको अधिक बसोबास रहेको बेलायतको काउन्टीमध्ये एक ह्याम्पसायर काउन्टीले गोरखा पेन्सनरहरू माथिको भेदभावलाई अन्त्य गरी बेलायती सेनामा सेवा गरी हाल बेलायमा बसोबासरत सबै योद्धाहरूमा समान व्यवहार गर्न सरकारलाई अपील गरेको छ ।
गोरखाहरूका बारेमा लामो समयदेखि अभियानरत काउन्टी काउन्सिलर अलेक्स क्राफोर्डले काउन्टीमा गोरखाहरूमाथि पेन्सनमा गरिएको भेदभावका बारेमा प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावमाथि छलफल हुँदा जुलाई २० मा काउन्सिलले प्रधानमन्त्रीलाई पत्राचार गर्ने निर्णय पारित भएको थियो ।
यसैसाता काउन्टीले प्रधानमन्त्री ऋषि सुनकलाई पठाएको पत्रमा हाल जारी दुई देशबीचको गोरखा भूतपूर्व सैनिकहरूको समस्याका बारेमा वार्तालाई कायम राख्न पनि भनिएको छ ।
सन् १९९७ अघि सेवा गरेका र अहिले बेलायतमा बसोबास गरिररहेका गोरखाहरूले बेलायतका लागि प्रशस्त वफादारी र योगदान दिएको तर उनीहरुलाई बेलायती सेनामा काम गरेका समकक्षीहरुभन्दा कम पेन्सन दिइएको पत्रमा उल्लेख छ ।
यस्तै, हङकङबाट ब्रिगेड अफ गोर्खाजको मुख्यालय सारिएपछि धेरै अभियानहरू भए पनि गोरखाहरूको पेन्सनमा बदलाब नआएको बताइएको छ । जोअना लुम्लेको अभियानपछि चार वर्ष सेवा गरेका गोरखाहरूले बेलायतको आवासीय अधिकार पाए पनि पेन्सनमा परिवर्तन नआएको पत्रमा भनिएको छ ।
सन् १९९७ अघि सेवा गरेका गोरखाहरूलाई सस्तो जीवनशैली रहेको नेपालमा बसोबासलाई आधार बनाएर पेन्सन दिइएको तर बेलायतमा गोरखाहरू आउँदा यहाँको जीवनशैली महंगो भएकाले गोरखाहरूले एकभन्दा धेरै काम गर्नु परेको पनि पत्रमा बताइएको छ । सेवा निवृत्त गोरखाहरुले सम्मानित जीवन बिताउनु पर्नेमा धेरै धेरै काम गर्नु परिरहेको पनि उल्लेख छ ।
उता रसमोर बोरो काउन्सिलले पनि प्रधानमन्त्री ऋषि सुनकलाई चाँडै पत्राचार गर्ने काउन्सिलर धनबहादुर सार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार गत विहीबार बसेको काउन्सिलको बैठकले यससम्बन्धी छानबिन पूरा गरी तयार गरिएको प्रतिवेदन पारित गरिसकेको छ र अहिले पत्र लेखनको क्रममा छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा