
लण्डन । महाभूकम्पको विपत्तिबाट गुज्रिरहेको नेपालको दुःखमा साथ दिन देशभित्र र बाहिरबाट सहयोगी हातहरु अघि बढिरहेका छन् । संसारका विभिन्न कुनामा रहेका हजारौँ नेपालीहरु आफ्नो गाँस काटेर भएपनि मातृभूमिको पीडामा सघाउँदै छन् । यस्तो महासंकटको बेला पनि रमिते मात्र भएर बस्ने नेपालीहरुको पनि कमी छैन ।
स्वभावैले बेलायत सहयोगका लागि मनकारी मुलुक । संसारभर आइपरेका जस्तासुकै विपत्तिमा यहाँका मानिसहरुले सहयोग नगरेको शायदै भेटिएला । यसपटक नेपालमा गएको भूकम्पमा बेलायत सरकार र जनताका तर्फबाट अभूतपूर्व सहयोग भयो । र त्यो क्रम अझै जारी छ । नेपालीलाई आइपरेको यस महासंकटमा साथ दिन बेलायतका एक बंगलादेशी व्यवसायी पनि तम्सिएका छन् ।
लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका मिस्टर मोहम्मद यतिबेला नेपालीलाई परेको दुःखलाई आफ्नै दुःख सम्झेर मद्दत गर्न कम्मर कसेर लागेका छन् । त्यसका लागि उनले आगामी मंगलबार एक च्यारिटी कार्यक्रमको आयोजना गरेका छन् ।
ग्लुस्टरसायरस्थित चेल्थेनहाममा रहेको आफ्नै रेस्टुरेन्ट स्पाईस लजमा गरिने सो च्यारिटीबाट उठेको सबै रकम नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने उनले घोषणा गरेका छन् । च्यारिटी आयोजनाका लागि उनले चेल्थेनहामस्थित नेपाली समुदायलाई सहआयोजक बनाएका छन् ।
सो कार्यक्रमबाट संकलन हुने सहयोग बेलायतस्थित नेपाली दूतावासमार्फत नेपालका भूकम्पबाट प्रभावित मानिसहरुलाई पठाउने उनले बताए ।
‘दुःखमा परेका नेपालीलाई आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्न पाउँदा म एकदमै खुसी छु’, मोहम्मदले भने ।
स्थानीय नेपालीहरुसित राम्रो चिनजान भएका मिस्टर मोहम्मद नेपाललाई मात्र होइन प्राकृतिक प्रकोपमा परेका जुनसुकै देशलाई पनि हृदय खोलेर सहयोग गर्न मन पराउँछन् ।
उनले च्यारिटी कार्यक्रमको संयोजनको जिम्मा स्थानीय बुद्धिजीवी डा. लक्ष्मण पौडेललाई दिएका छन् ।
गत २५ अप्रिलमा नेपालमा गएको ७ दशमलव ९ रेच्टरको भूकम्पबाट ८ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने अझै सयौँ मानिसहरु हराइरहेका छन् । हजारौँ घाइते भएका छन् भने लाखौँ घरबारविहीन अवस्थामा छन् ।
घरबारविहीनहरु खुला ठाउँमा पालमुनी बसिरहेका छन् । धेरै भूकम्प पीडितहरुले अहिलेसम्म पालसम्म पनि पाउन नसकेको गुनासो गरिरहेका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल