
काठमाडौँ । गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गैरआवासीय नेपालीहरुका मुद्दाका एक मत जाहेर गर्नुभएको छ ।
परराष्ट्र मन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताउनुभयो । संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकाले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताउनुभयो ।
परराष्ट्र मन्त्री साउदले भन्नुभयो, “गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी मुद्दा १५ /१६ वर्षदेखि बहसको विषय बनिरहेको छ, अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।” गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै बताउँदै भन्नुभयो, “संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाहिँ हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपाईँहरुका समस्यालाई कानुनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।”
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकतालगायत विषय नेपाली कांग्रेस सकारात्मक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानुनमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनुपर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ ।”
उहाँले समयअनुकूल आवश्यकताअनुसार संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घलाई सबै नेपालीको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।
रास्वपाका सांसद मनिष झाले गैरआवासीय नेपालीसम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गर्नुभयो । उहाँले नेपालका राजनीतिक दललाई थप जिम्मेवारी दिन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । माओवादी केन्द्रका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीको मागप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शुक्रबारदेखि सुरु गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । सम्मेलनको अन्त्यमा प्राग घोषणापत्र जारी गरिनेछ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]