काठमाडौँ । निजी क्षेत्रका छाता सङ्गठनले नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आज राजदूत आचार्यसँग छुट्टाछुट्टै छलफल गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेकाले त्यसतर्फ बेलायती लगानीकर्तालाई आकर्षित गर्ने ढङ्गबाट पहल गर्नु आग्रह गरेका हुन् ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालसँग निकै पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको उल्लेख गर्दै लगानीका सम्भावना पहिल्याउँदै नेपालमा लगानीका लागि त्यहाँका उद्योगीलाई प्रोत्साहित गरिनुपर्ने बताउनुभयो । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको भन्दै उहाँले यी विषय बेलायती लगानीकर्ताका माझ पुर्याउन सक्नुपर्ने बताउनुभयो ।
परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुनसक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गर्नुभयो । उहाँले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुनसक्ने भएकाले पर्यटन प्रवर्धनमा काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
“नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवर्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ”, उहाँले भन्नुभयो, “नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त सम्भावना छ ।”
छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुको बेलायती बजारमा प्रवर्धनका लागि आफूले काम गर्ने बताउनुभयो । उहाँले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोसाक, चिया, कफीजस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवर्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्नुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’