संगीता स्वेच्छाद्वारा संकलित/ लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डीद्वारा सम्पादित “द हिमालयन सनराइज: एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन” पुस्तकको लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेले आयोजना गरेको आज एक कार्यक्रमा सार्वजनिक गरिएको छ । उक्त पुस्तकको विमोचन डा. राघवप्रसाद धिताल ओबीईले गर्नुभएको थियो ।
प्रमुख अतिथि डा धितालले पुस्तक विमोचन गर्दै भन्नुभयो, “यो पुस्तकले कविता, पुस्तक समीक्षा र पुस्तकहरूको जानकारीबाहेक नेपालका विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता, चित्रकलाहरू आदिमार्फत नेपाल, नेपाली साहित्य र नेपाली संस्कृतिलाई परिचित गराउँछ । यस अर्थमा यो पुस्तक उत्कृष्ट साहित्यिक सामग्रीहरुको संकलन हो ।”
“वास्तवमा, मलाई लाग्छ कि संसारभरि बस्ने नेपालीहरूले यस्तो प्रकाशनको चाहना राखेको लामो समय भइसकेको छ । पुस्तकले नेपाली साहित्य जगतलाई थप आयाम दिनेछ” डा. धितालले भन्नुभयो ।
पुस्तक बेलायतस्थित बुकहिल इन्टरनेशनलले प्रकाशन गरेको हो । बुकहिल इन्टरनेशनल नेपालस्थित बुकहिल प्रकाशनको सम्वद्ध संस्था हो।
लेखक एन्ड्री रोबीका अनुसार यो एक ज्ञानवर्धक प्रकाशन हो जुन नेपाली साहित्यको बारेमा जान्न चाहने व्यक्तिले पढ्नै पर्नेछ।
“यो पुस्तक प्रकाशनले म एकदम उत्साहित छु । यस पुस्तकले पाठकलाई मौलिक नेपाली स्वादको साहित्य पस्कने छ भन्ने विश्वास छ”, लेखक संगीता स्वेच्छा भन्नुहुन्छ ।
“इलेक्ट्रोनिक भर्सन र र्हाडकभरमा पनि पुस्तक आउने क्रममा छ । खुसीको कुरा यो पुस्तकको इबुक र्भसन चाँडै नै बुक हिल इन्टरनेशनल र बुक हिल वेबसाइट दुवैमा पाठकले प्राप्त गर्न सक्नुहुनेछ”, उहाँले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पुस्तकका बारेमा बोल्ने क्रममा कवि तथा अनुवादक हेम विश्वकर्माले विभिन्न विधालाई एकै पुस्तकमा समेटेर मौलिक नेपाली साहित्यलाई विश्व साहित्य संसारमा यसरी ल्याइएको सम्भवतः पहिलोपटक देखेको भनी टिप्पणी गर्नुभयो ।
“विश्व साहित्य क्षितिजमा नेपाली साहित्य उत्थानका लागि यस्ता काम विरलै भएका छन् । उहाँहरुले गर्नुभएको यो मिहिनत एकदमै सराहनीय छ । नामजस्तै यसले नेपाली साहित्यको ‘हिमालय’ विश्व साहित्यसामु एउटा प्रकाश झैँ देखिनेछ”, विश्वकर्मा भन्नुहुन्छ ।
उक्त पुस्तक अमेजनमार्फत बजारमा उपलव्ध छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार