लण्डन । अहिले बेलायतस्थित नेपाली समुदायका सदस्यहरुको मोबाइलमा कोरोना भाइरसका बारेमा नेपाली भाषामा चित्रसहितको पर्चा पुगेको छ ।
सरल भाषामा नेपाली सँस्कृतिसँग मिल्ने विभिन्न चित्रसहित बनाइएको २८ पेजको सो पर्चा शुरुमा लामो जस्तो लागे पनि सकिएको पत्तै हुँदैन ।
बेलायतमा कोरोना भाइरसको दोस्रो लहर उच्चतम विन्दुमा पुगेको बेलामा यो पर्चा कसले र किन निकाल्यो ? यसको विश्वसनीयता कति छ ? धेरैलाई जानकारी नहुन सक्छ । पर्चाको सिरानमा न्याशनल इन्स्टिच्यूट फर हेल्थ रिसर्च र ब्राइटन एउण्ड ससेक्स मेडिकल स्कुल लेखिएको छ । तर ती संस्थाहरुसित यो पर्चा बनाउनका लागि कसले र कसरी पहल गर्यो होला ? यिनै जिज्ञासाहरुलाई मेटाउनका लागि ब्राइटन एण्ड ससेक्स मेडिकल स्कुलकी जनस्वास्थ्य विषयकी सिनियर लेक्चरर तथा नेपाली र हिन्दी भाषामा सो पर्चा बनाउने परियोजनाका प्रोजेक्ट लिड डा. प्रियंवदा पौड्यालसित हामीले कुराकानी गरेका थियौँ । प्रस्तुत छ कुराकानीको सारसंक्षेप :
नेपाली समुदायका लागि कोभिडका बारेमा पर्चा बनाउनुपर्छ भन्ने आवश्यकता किन महसुस गर्नुभयो ?
कोरोना भाइरसले बेलायतमा जातिय अल्पसंख्यकहरुलाई धेरै नै असर पार्यो । संक्रमित हुने, अस्पताल भर्ना हुने र मृत्यु हुनेहरुमा जातिय अल्पसंख्यकहरुको हिस्सा उनीहरुको जनसंख्याको अनुपातमा धेरै नै देखियो । यसका पछाडि धेरै कारणहरु थिए । जस्तै, संयुक्त परिवारमा बसोबास, अत्यावश्यक सेवाका क्षेत्रमा कार्यरत हुनु आदि । त्यसमाथि जनस्वास्थ्यका विषयमा उनीहरुमा सूचनाको अभाव हुनु पनि एक प्रमुख कारण थियो । सूचनाको अभावका कारण परिरहेको समस्यालाई कम गर्न हामीले ती समुदायहरुको भाषा, सँस्कृति सुहाउँदो सूचना सामग्री बनाउनुपर्छ भनेर समुदायसित शुरुवातदेखि अन्त्यसम्ममै मिलेर काम गर्यौँ ।
एनएचएसले पनि नेपालीमा कोभिड १९ का बारेमा सूचना प्रकाशित त गरिरहेकै थियो नि ?
हामीले एनएचएस र अरु संस्थाहरुले पनि कोभिड १९ का बारेमा प्रकाशन गरेका सूचनाहरु समीक्षा गरेर हेर्यौँ । धेरैजसोमा दिइएको सन्देश जटिल छ । स्वास्थ्यसम्बन्धी अंग्रेजी शब्दहरुलाई नेपालीमा उल्था गरिएको छ । सरल भाषामा सर्वसाधारणले बुझ्न सक्ने गरी दिइएको छैन । सरल भाषामा सूचना दिने मात्र होइन सम्बन्धित समुदायको सँस्कृतिसित मिल्ने खालको सूचना उनीहरुसितै मिलेर बनाउँदा मात्र त्यस्तो सूचना उनीहरुले अपनाउने सम्भावना धेरै हुन्छ । त्यस्तो सूचनाले मात्र राम्रो प्रभाव पार्न सक्छ । त्यसैले अहिले हामीले बनाएको पर्चा सम्बन्धित समुदायकै सहभागितामा उनीहरुको भाषा, सँस्कृति झल्काउने, त्यहीअनुसारको चित्र राखेर बनाएका छौँ । जातिय अल्पसंख्यकको आफ्नै भाषामा यति सरल र आकर्षक पर्चा मैले धेरै देखेको छैन ।
यो पर्चा कसरी बनाउनु भयो ? कति समय लाग्यो ?
झट्ट हेर्दा अंग्रेजी भाषाको सूचनालाई नेपाली भाषामा अनुवाद गरे पुगिहाल्यो नि भन्ने धेरैलाई लाग्न सक्छ तर त्यस्तो होइन । हामीले यो पर्चा बनाउन धेरै चरणहरु पार गर्यौँ । समुदायका मानिसहरुलाई सूचना पाउनमा कस्तो समस्या छ, कस्तो किसिमको सूचना कुन माध्यमबाट चाहनुहुन्छ भनेर सोध्यौँ । उहाँहरुसित अन्तर्वार्ता गर्यौँ, उहाँहरुसितै तीनवटा कार्यशाला गर्यौँ । यसबाहेक जातीय अल्पसंख्यकहरुसित काम गरिरहेका विशेषज्ञहरु र स्वास्थ्यकर्मीहरुसित परामर्श गर्यौँ । त्यसपछि पर्चा डिजाइन गरेर फेरि समुदायसित समीक्षा गर्यौँ र प्रकाशनमा ल्यायौँ । यी सबै कार्य गर्न केही महिना लाग्यो ।
अझै प्रशस्त स्रोतसाधन भएको भए अरु सूचना सामग्री बनाउन सकिन्थ्यो कि ?
हामीले जसको लागि सूचना बनाइँदै छ उनीहरुलाई नै शुरुदेखि अन्त्यसम्म सहभागी गराएर पर्चा बनायौँ । यो अहिले धेरै क्षेत्रमा चलेको मोडल हो । यसलाई कोप्रोडक्सन भनिन्छ । हामीसित सीमित स्रोतसाधन भएकाले पर्चा मात्र बनाउन सक्यौँ । यदि प्रशस्त स्रोत भएको भए रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम पनि बनाउन सकिन्थ्यो । पर्चा पनि विभिन्न खालको बनाउन सकिन्थ्यो ।
कोभिडको महामारीबीच काम गर्न कत्तिको असजिलो भयो ?
अलिकति असर पर्यो । यदि सामान्य अवस्थामा भएको भए समुदायका सदस्यहरुसित आम्नेसाम्ने भएर अन्तर्वार्ता लिन पाएको भए, कुराकानी गर्न पाएको भए अझ प्रभावकारी हुन्थ्यो होला । भौतिक रुपमा भेट्न नपाएपछि प्रविधिको प्रयोग गरेर वृद्धवृद्धाहरुसित कुराकानी गर्नुपर्दा शुरुमा केही असजिलो भयो तर मैले यस परियोजनालाई चुनौतीभन्दा पनि अवसरका रुपमा लिएको छु ।
अन्त्यमा केही भन्नु छ कि ?
कोभिडले गर्दा बेलायतको स्वास्थ्य क्षेत्रमा भएको असमानता बाहिर आयो तर त्यस्तो असमानता स्वास्थ्य क्षेत्रमा पहिलेदेखि नै छ । त्यसैले कोभिडपछि पनि स्वास्थ्य सूचनालाई समुदायसित मिलेर बनाउँदा राम्रो हुन्छ । यही प्रोजेक्टलाई पनि नमूनाको रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा