लण्डन । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको परिचय पत्रकारमा मात्र सीमित छैन । उनी कहिले फिल्म खेल्छन्, कहिले हेल्प नेपाल नेटवर्कमार्फत समाजसेवामा जुट्छन् त कहिले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बहस पनि चलाउँछन् ।
पत्रकार भएर अरुको समाचार र अन्तर्वार्ता मात्र उनी लिँदैनन् आजकल उल्टै उनी प्रशस्तै अन्तर्वार्तामा पनि छाउँछन् ।
तर शनिबार उनी यीभन्दा पृथक परिचय बोकेर कविका रुपमा उदाएका छन् ।
प्रज्ञाभवन, कमलादी परिसरमा आयोजित कार्यक्रममा उपन्यास पढ्ने तर सामान्यतया कविता नपढ्ने दुई महिला पाठकहरुले सो कविता संग्रह सार्वजनिक गरेका थिए। कवितामा पाठकहरुको रुचि जगाउने उद्देश्यले त्यसो गरिएको आयोजकले बताए।
सङ्ग्रहमा विभिन्न समयमा लेखिएका ५४ वटा लामा-छोटा कविता छन्, जसलाई लाहोर, लण्डन, काठमाडौं खण्डमा विभाजित गरिएको छ ।
मिश्रका कविताबारे कवि मञ्जुलले भने, ‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’
कार्यक्रममा बोल्दै युवा कवि बुद्धिसागरले भने, ‘रवीन्द्र मिश्रका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भूपि शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेतापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’
अर्का समीक्षक सनतकुमार वस्तीले पनि पत्रकार मिश्रको काव्यिक यात्रा यसैगरी अगाडि बढोस् भनि शुभकामना दिएका थिए।
मिश्रका कविता प्रेम, पीडा, देशभक्ति, अध्यात्म र दर्शनजस्ता विविध विषयमा छरिएका छन् । उनी भन्छन्, ‘लाहोर, लण्डन र काठमाडौं तीनै ठाउँमा बस्दा बेलाबखत कविता लेख्ने र कहिलेकाहीँ छपाउने गरेको भए पनि संङ्ग्रह नै प्रकाशित गर्नमा भने कतिपय कविहरुले दिएको प्रेरणा र प्रोत्साहनको ठूलो भूमिका छ ।’ कवि मिश्रले फागुन महिनाको पारिलो घाम तापिरहेका सैयौं श्रोताहरुलाई झण्डै एक दर्जन कविता वाचन गरेर सुनाएका थिए भने कार्यक्रमको सन्चालन कवि तथा पत्रकार नवराज लम्सालले गरेका थिए।
सो पुस्तकको बिक्रीबाट लेखकले पाउने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितमा खर्च गरिने छ । यसभन्दा अघि प्रकाशित उनका दुई कृति – ‘भूमध्यरेखा: अर्थहीनताभित्र अर्थ खोज्दा’ र ‘खान पुगोस्, दिन पुगोस्’ – बाट प्राप्त लेखकस्व पनि उनले सोही समुदायको हितका लागि लागि प्रदान गर्दै आएका छन् ।
सङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गरेको हो । पाँच हजार प्रति छापिएको उक्त पुस्तकको मूल्य १९८ रुपैयाँ राखिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम