कारको क्याटलिक कन्भर्टर चोरिनबाट कसरी जोगिने ?

लण्डन । कारबाट क्यालिक कन्भर्टर चोरिने क्रम बेलायतमा तीव्र बन्दै छ ।
यही सेप्टेम्बरमा मात्र क्याटलिक कन्भर्टर चोरिएको ७८ वटा केस दर्ता भएको ह्याम्पसायर प्रहरीको तथ्यांङ्क छ ।
सन् २०१८ मा इङल्याण्ड र वेल्समा करिब २००० वटा यस्ता केस दर्ता भएका थिए भने सन् २०१९ मा त्यो संख्या छ गुना बढेर १३ हजार बढी केस परेका छन् ।
क्याटालिक कन्भर्टरमा रहेको रोडियम, प्लाटिनम र पालाडियमका कारण यसको चोरी भएको प्रहरीको विश्लेषण छ । ती वस्तुको मूल्य सुनभन्दा महंगो पर्ने बीबीसीले जनाएको छ । ती पदार्थको मूल्य सन् २०२० मा ह्वात्तै बढेको छ । खासगरी हाइब्रिड टोयोटा र होण्डा कारको क्याटालिक कन्भर्टरहरु बढी चोरिएका छन् । किनभने ती कन्भर्टरहरु बढी सफा हुने गर्दछन् भने चोर्न पनि सजिलो हुने बताइएको छ ।
क्याटालिक कन्भर्टर सामान्य यन्त्रको प्रयोग गरी केही मिनेटमै चोर्न सकिने हुन्छ । तर यसलाई सुरक्षित गर्न सकिन्छ । ह्याम्पसायर प्रहरीले यसलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा केही सुझाव दिएको छ । जुन यसप्रकार छन् :
१. तपाईको कारमा क्याटालिक कन्भर्टर कहाँ छ भन्ने पत्ता लगाउनुहोस् । यदि अगाडि छ भने सम्भव भएसम्म अगाडीको भाग पर्खालमा जोडेर पार्क गर्नुहोस् ।
२. यदि पछाडीको भागमा छ भने एक्जस्ट पाइप पर्खालसित जोडेर कार पार्क गर्नुहोस् ।
३. पब्लिक कार पार्कमा कार पार्क गर्दा सँगै पार्क गरिएका अरु कारलाई पर्खालका रुपमा काम गर्ने गरी पार्क गर्नुहोस् ।
४. सडकमा आधा र मानिस हिँड्ने बाटोमा आधा गरेर पार्क नगर्नुहोस् । यसरी पार्क गर्दा कारको मुनी पुग्न सजिलो हुन्छ ।
५. यदि तपाईको कारमा क्याटालिक कन्भर्टर बोल्ट गरिएको छ भने ग्यारेजलाई सो बोल्ट खोल्न गाह्रो हुने गरी ‘वेल्ड’ गरिदिन भन्नुहोस् ।
६. क्याटालिक कन्भर्टरमा नम्बर अ‌ंकित गर्नुहोस् ताकि यदि चोरी भएर पाइहालेमा पत्ता लगाउन सजिलो हुन्छ ।
७. क्याटालिक कन्भर्टरलाई निकाल्न अफ्ठेरो पार्न ‘केज क्ल्याम्प’ पनि किनेर लगाउन सकिन्छ ।
८. तपाईको ग्यारेज वा डिलरलाई कार ढल्कियो भने ‘अलार्म’ बज्ने व्यवस्था गर्न भन्नुहोस् ताकि चोरले कार हल्लाउन साथ अलार्म बजोस् ।
९. यदि कसैले कारको मुनी श‌ंकास्पद गतिविधि गरिरहेको पाइएमा खबर गर्नुहोस् । यसो गर्दा बढीभन्दा बढी जानकारी लिनुहोस् । जस्तै भेइकल रजिष्ट्रेसन नम्बर ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री