काठमाडौँ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गर्नुभएको हो ।
मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । कार्यान्वयनका लागि जनप्रतिनिधिको समेत सहयोग लिई काम गरिनुपर्ने उहाँको भनाइ थियो । गुरुयोजना कार्यान्वयनपछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।
रानीपोखरीसँगैको भानु मावि र संस्कृत माविसमेत पुरानै स्वरुपमा पुनःनिर्माण भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसको ऐतिहासिक स्थान रहेको बताउनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण एवं विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार वर्ष नौ महिना तीन दिनमा रानीपोखरी वरिपरिको संरचनासहितबीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । आगामी मङ्सिरसम्म सिंहदरबारको पूर्वी भागको प्रबलीकरण सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने पनि उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा रहेका सात वटै विश्वसम्पदास्थलको गुरुयोजना तयार भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माणमा पनि तीव्रता दिइएको बताउनुभयो । बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत मन्त्रिगणले मन्दिर परिक्रमा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो । तीन सय ५२ वर्षअघि हुँपोखरी निर्माण हुँदा देशविदेशका १०८ कुण्ड, ताल, पोखरी आदिबाट पानी ल्याइएको इतिहासमा उल्लेख छ ।
भूकम्पले भत्किएको भानु मावि र चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिनुभयो । नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले नवनिर्मित विद्यालयलाई शैक्षिक गुणस्तरका हिसाबले समेत नमूनाका रुपमा स्थापित गरिने प्रतिबद्धता जनाउनुभयो । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय र प्रयोगशालाको व्यवस्थासमेत भवनमा छ ।
विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालय पछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाइस्कूललाई विसं २०२४ देखि भानु मावि नामकरण गरिएको हो ।
पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले दरबार हाइस्कूल र रानीपोखरी परिसरमा स्थापित ताम्रपत्रको अनावरणसमेत गर्नुभयो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ