विश्वभर क्रिसमस रौनक

लन्डन । आज डिसेम्बर २५, विश्वभरका करिब २.१ बिलियन क्रिश्चियन धर्मावलम्वीहरुले आफ्नो प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व ‘क्रिसमस’ मनाउंदैछन् । 
ब्रिटिश इसाईहरु पनि वर्षकै सबैभन्दा ठूलो पर्वको माहोलमा रमेका छन् । उनीहरु मध्यरातमा प्रार्थना, जिजस क्राइस्ट जन्मेको अवस्था झल्काउने नाटक आयोजना गरि आफ्ना परिवारजनसंगै खाना खाएर, उपहार सांटेर क्रिसमस मनाइरहेका छन् । यो बेला टर्की, मिन्स पाइ, क्रिसमस पुडिङ खुब खाइन्छ ।

बेलायतमा सन् १८३४ देखि क्रिसमसका दिन सार्वजनिक बिदा दिने प्रचलन शुरु भएको हो । सरकारी कार्यालय, स्कुल र विश्वविद्यालय बन्द छन् । क्रिसमसका दिन बेलायतमा कुनै पनि सार्वजनिक सवारी साधन चल्दैनन् । अत्यावश्यक सेवाहरु जस्तै अस्पताल, एम्बुलेन्स, अग्नी नियन्त्रक भने आंशिक चल्छन् । सडक, व्यापारिक तथा सरकारी भवनदेखि व्यक्तिगत घरसम्म क्रिसमस रुख राखेर सजाइएको छ । हाउस पार्टी भइरहेका छन् ।

प्रत्येक वर्ष बेलायती शाही परिवारले रानीको नरफोक घर स्यान्ड्रिङहाम हाउसमा क्रिसमस मनाउने गर्छन् । सन् १९६० को दशकमा शाही सदस्यहरुमध्ये केही केटाकेटी नै छंदा विन्डसोर क्यासलमा मनाइने गरिन्थ्यो । सन् १९८८ देखि भने स्यान्ड्रिङहाम हाउसमा नै मनाउन थालिएको छ । कुनै बेला हयारी र मेगानको बिहे भएको सेन्ट जोर्ज च्यापलमा पनि शाही परिवारको क्रिसमस जमघट हुने गर्दथ्यो ।

यस वर्ष राजकुमार हयारी, मेगान र उनीहरुका सात महिने छोरा आर्चीले भने रानीसंग क्रिसमस नमनाउने भएका छन् । ९८ वर्षीय राजकुमार फिलिप (दि ड्युक अफ एडिनबरा) चार रात अस्पतालमा बिताएर क्रिसमस मनाउन मंगलबार स्यान्ड्रिङहाम फर्केका छन् । स्वास्थ्यमा खराबी आएपछि उनी चिकित्सकको सल्लाहमा गत शुक्रबार किंग एडवार्ड अस्पताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि राजकुमार फिलिपले आफूलाई शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । 
राजकुमार फिलिप सन् २०१७ अगष्ट देखि सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन छाडेका छन् ।

क्रिसमसका बेला बेलायतको राजधानी लन्डन, सेफिल्ड, न्यू क्यासल, नटिङहाम, एडिनबरा, लिड्स, योर्क, बर्मिङहम, कार्डिफ, स्वान्सी, म्यानचेस्टर, ब्रिस्टोल, बाथ, बेलफास्ट, ग्लास्गो आदि शहरमा क्रिसमस मार्केटले झन् बढि रौनक थपेको थियो । लन्डनको विशाल हाइड पार्कमा ‘वीन्टर वन्डरल्याण्ड’ मेला जारी छ ।

विश्वका विभिन्न देशमा आ आफ्नै तरिकाले क्रिसमस मनाउने गरिन्छ । अंगोला, अर्जेन्टिना, अर्मेनिया, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेलारुस, बेल्जियम, बोलिभिया, ब्राजिल, बुल्गेरिया, क्यानडा, चिली, कोलम्बिया, अमेरिका, फ्रान्स, जर्मनी, स्वीटजरल्याण्ड, मेक्सिको, नाइजेरिया, घाना, जिम्बाबे, न्यूजिल्याण्ड, नेदरल्याण्ड्स, फिनल्याण्ड, इजिप्ट, डेनमार्क, केन्या, फिलिपिन्स, पोल्याण्ड, नर्बे, पोर्चुगल, ग्रीस, साउथ कोरिया आदि देशमा आ आफ्नै ढंगले क्रिसमस मनाउने परम्परा छ ।

अफगानिस्तान, अल्जेरिया, भुटान, लिबिया, मौरीटेनिया, उत्तर कोरिया, सरावी अरब, डेमोक्रेटिक रिपब्लिक, साउदी अरब, सोमालिया, ताजकिस्तान, ट्युनिसिया, टुर्कमेनिस्तान, यमन जस्ता देशमा क्रिसमस मनाइंदैन् ।

अजरबैजान, बहराइन, कम्बोडिया, चीन, कोमोरोस, इरान, इजरायल, जापान, कुवेत, लाओस्, माल्दिभ्स्, मंगोलिया, मोरोक्को, ओमन, पाकिस्तान, कतार, थाइल्याण्ड, टर्की, उजवेकिस्तान, यूएइ, भियतनाम आदि देशमा मनाइन्छ तर सार्वजनिक विदा दिईंदैन् ।

मध्य र पूर्वी युरोपका अर्थोडक्स क्रिस्चियनहरुले भने जनवरी ७ मा क्रिसमस मनाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री